आकाश फाटेको थिएन
ताराहरू रोइरहेका थिए
जून मौन थियो
मान्छेहरू रात्रिकालीन सिलोक हालिरहेका थिए।
हरिबहादुर उज्यालोको खोजीमा
वर्षौँ भयो भौँतारिएको
हरिमाया बाटो हेर्दी हुन्
हरिबहादुरको आगमनको।
गाउँ सुनसान छ अचेल
तन्नेरीहरू परदेश लागिसके
छिमेकीहरू बसाइ सरेपछि
वृद्ध बा-आमा न्यास्रिएर
आफ्ना बैँसका किस्सा सम्झँदै
दन्त्यकथा जस्तो लाग्ने जिन्दगीको
कथाहरू सुनाउनै नपाई
मनमै गाँठो पारी
आफ्नै जिन्दगीको आयु नाप्न विवश छन्।
कथा जस्तो लाग्ने
हरिबहादुरको कथा
व्यथा मिश्रित
हरिमायाको जिन्दगी
छोराछोरीको चोइटिएको भविष्य
सासू-ससुराको दीर्घरोग
चुनौतीका पहाडहरू
कसरी पन्छाइन् होला हरिमायाले?
साहुको ऋणले थिचिएर
स्वास्नी छोराछोरीको सपना पूरा गर्न
वृद्ध बा-आमाको उपचार सहज बनाउन
असमान वितरण प्रणालीले मर्माहत
असमान न्याय प्रणालीले आहत
बाँच्नै कठिन भएपछि
उज्यालोको खोजीमा निस्किएको हो हरिबहादुर।
हरिबहादुर!
तिमी कता हरायौ?
निरङ्कुशताको चाबी भाँच्नु पर्ने
असमानताका तमसुक च्यात्नु पर्ने
हरिमाया, छोराछोरी र बा आमा
तिमी आउने मूलबाटो कुरी बसेका छन्
उज्यालो लिएर आऊ हरिबहादुर
ढिला गर्ने बेला छैन
सायद, तिम्रो आगमनमा
जहान छोराछोरी र बा-आमा हर्षले हाँस्ने होलान्।
म पनि उज्यालो खोज्ने मान्छे
तिमी र म मिल्नुको विकल्प छैन
म तिम्रै गाउँ आएको छु, हरिबहादुर
तिमीलाई स्वागत गर्न।