'फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर!'
जब यो खबर सार्वजनिक भयो, विशेषगरी विराज भट्टका फिल्म हेरेर हुर्किएको पुस्ताका लागि एउटा 'सरप्राइज' नै बनिदियो।
किनभने, त्यसअघि विराजका छोरा छन्, उनी कलाकारितामा आउँदैछन् भन्ने कुरा फिल्मवृत्तमा समेत धेरैलाई जानकारी थिएन।
अहिलेको डिजिटल युगमा पनि विराज समीरलाई सामाजिक सञ्जालबाट टाढै राख्न सफल भएका थिए। एक हिसाबले उनलाई 'सार्वजनिक' नै गरेका थिएनन्।
विराजले समीरलाई कलाकारितामा प्रवेश गराउनुअघि भरपुर तयारी गराए। समीर पनि बुबाको छत्रछायामा रहेर तालिम लिइरहेका थिए।
समीर दस वर्षसम्म भारतको मुम्बई बसे र मार्सल आर्ट्स, जिमनास्टिक, अभिनय, नृत्य लगायतको विशेष प्रशिक्षण लिए।
वर्षौंदेखि तयारी गरेर बसेका समीरले जब फिल्ममा डेब्यु गर्ने घोषणा भयो, तब बल्ल उनको तस्बिर सार्वजनिक भयो। धेरैले उनको 'फिटनेस' र 'लुक्स' मनपराए। उनको फिल्म कहिले आउँछ भनेर सिने क्षेत्र र दर्शक दुवैले प्रतीक्षा गरे।
फिल्म थियो उनकै बुबा विराजको निर्देशनमा बनेको — १२ गाउँ।
यसको टिजर, ट्रेलर र गीत सार्वजनिक हुँदै जाँदा समीरको फिटनेस र लुक्ससँगै आवाज, एक्सन र नृत्यको समेत दर्शकहरूले तारिफ गरे।
सँगै धेरैले प्रश्न उठाए — अहिले पनि एक्सन फिल्म चल्छ र?
कुनै बेला राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट लगायत 'एक्सन हिरो' का एक्सन फिल्मकै दबदबा थियो। बिस्तारै यी कलाकारको सक्रियता कम हुँदै गयो। एक्सन फिल्म बन्ने रफ्तार घट्यो। दर्शकले पनि रूचाउन छाडे। बनेका एकाध एक्सन फिल्म पनि खास चलेनन्।
नेपाली दर्शकहरू विदेशी, खासगरी भारतीय, त्यसमा पनि दक्षिण भारतीय (तमिल, तेलेगू, मलयालम, कन्नड) एक्सन फिल्मका पारखी भइसकेका थिए।
एक हिसाबले भन्नुपर्दा, नेपाली एक्सन फिल्मको माहोल निकै सुस्ताएको थियो।
यस्तो जटिल परिस्थितिमा विराजले आफ्नै निर्देशनमा एक्सन फिल्म बनाएर छोरा समीरलाई डेब्यु गराए। फिल्ममा बाबुछोरा एकसाथ पर्दामा देखिए।
पहिलेझैं फिल्मको प्रचारमा पनि विराजले समीरलाई धेरै 'सार्वजनिक' हुन दिएनन्। युट्युब भिडिओ र अन्तर्वार्ताहरूबाट टाढै राखे।
जब फिल्म प्रदर्शनमा आयो, सिनेमा हलहरूमा दर्शकको घुइँचो लाग्यो। फिल्मले बीस करोड रूपैयाँ हाराहारी कमायो। धेरै कमाउने नेपाली फिल्मको सूचीमा १२ गाउँले पनि आफ्नो नाम लेखायो।
दर्शकले समीरलाई अझै धेरै मनपराए। टिजर, ट्रेलर र गीतमा समीर जस्ता देखिएका थिए, फिल्ममा उनले निराश बनाएनन्।
योसँगै समीर पहिलो र एउटै फिल्मबाट नयाँ पुस्ताका 'एक्सन हिरो' बन्न सफल भए।
तर विराजको योजना समीरलाई १२ गाउँबाट डेब्यु गराउने थिएन। सुरूमा त समीर फिल्मका केही दृश्यमा अटाएका थिए। पछि काम गर्दै जाँदा कथा र दृश्य बदलिँदै र थपिँदै गएका हुन्।
१२ गाउँको अरू काम चल्दै थियो, छायांकन भने भएको थिएन। त्यो बेला समीरले निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म 'बलिदान' खेल्ने भइसकेका थिए। बलिदानको भने काम सुरू भएको थिएन।
बलिदानका निर्देशक सन्तोष सेनले उनलाई लिनुभन्दा अगाडि, यो फिल्मको तयारी गरिरहँदा पनि, विराजका छोरा छन् भन्ने थाहै थिएन।
सन्तोषले सेतोपाटीसँगको कुराकानीमा भनेका छन्, 'प्रेम गीत–३ रिलिज हुनुअघि मुम्बईमा हुँदा विराज दाइसँग धेरै संगत भएको थियो। तर कहिल्यै छोराबारे भन्नुभएको थिएन। मैले जब दाइसँग बलिदान फिल्मको कुरा गरेँ, तब फोटो देखाउँदै आफ्ना छोरा समीर भएको बताउनुभयो। त म छक्कै परेँ।'
उनले थपे, 'सायद म मात्र होइन, धेरैलाई विराज भट्टको छोराबारे जानकारी थिएन।'
विराजसँग केही चरणको भेटपछि भक्तपुरमा पहिलो पटक सन्तोष र समीर आमनेसामने भए। पात्रको एउटा माहोलबारे कुरा हुँदा समीरले तत्कालै भूमिका निर्वाह गरेर देखाइदिए।
'मलाई सुरूमै मान्छे राम्रो लागेको थियो। अभिनयमा पनि यति राम्रो रहेछ भन्ने लाग्यो,' सन्तोषले भने।
सन्तोषका अनुसार बलिदान ठूलो फिल्म भएको र काम गर्दै जाँदा समय बढी लाग्ने भएपछि समीरले पहिले १२ गाउँमा काम गरेका थिए।
१२ गाउँ रिलिज भएको ठ्याक्कै एक वर्षपछि यसपालि दसैंमा समीरको दोस्रो फिल्म बलिदान प्रदर्शनमा आयो।
अहिले सिनेमा घरहरूमा बलिदान दोस्रो सातामा चलिरहेको छ। रिलिजअघि यसको चर्चा व्यापक नै थियो। सो अनुसार नभए पनि यसले सन्तोषजनक व्यापार गरेको छ।

समीरले भने यसपालि पनि आफ्नो कामबाट दर्शकको मन जितेका छन्। फिल्ममा उनले गरेको मेहनतको तारिफ भइरहेको छ।
यो फिल्म हेरेका थुप्रै दर्शकले समीरको एक्सन र संवादले उनका बुबा तथा कुनै बेलाका व्यस्त एक्सन हिरो विराजकै झल्को दिएको समेत बताएका छन्।
समीर पनि आफू यहाँसम्म आउनुको श्रेय बुबालाई नै दिन्छन्।
बुबाकै 'भिजन' आफूले पच्छ्याएर यहाँसम्म आएको उनले बताएका छन्।
एक भिडिओ अन्तर्वार्तामा समीरले भनेका छन्, 'बुबाले जबसम्म तँ सिक्दैनस्, तबसम्म फिल्ममा नआइज भन्नुहुन्थ्यो। मेहनत गरिनस् भने केही पनि हुँदैन भन्नुहुन्थ्यो।'
एक्सन हिरोका रूपमा नाम कमाएका विराज नेपाली मात्र नभएर भोजपुरी फिल्म क्षेत्रमा समेत स्थापित अभिनेता हुन्।
समीरका अनुसार उनी सानैदेखि बुबाका फिल्म हेर्थे। बुबासँग हुँदा अभिनय, एक्सन, नृत्यबारे कुराकानी हुन्थ्यो। प्रशंसकहरूले विराजलाई देखाएको माया र सरहना पनि नजिकबाट नियाल्ने अवसर पाइरहेका हुन्थे समीर।
'जुन प्रकारले उहाँसँग फोटो खिच्न मानिसहरू आउनुहुन्थ्यो र मलाई विराज भट्टको छोरा भन्दै हेर्नुहुन्थ्यो, मलाई एकदमै गर्व अनुभव हुन्थ्यो। उहाँको त्यही फ्यान फ्लोइङले गर्दा प्रेरणा मिल्यो। बुबाले पनि धेरै प्रेरित गर्नुभयो,' समीरले एक कुराकानीमा भनेका छन्, 'उहाँ मेरो बुबा मात्रै होइन, मेरो मार्गदर्शक र गुरू पनि हो।'
विराजलाई झैं समीरलाई पनि दर्शकले सुरूआती फिल्मबाटै एक्सनमा जमेको देखेका छन्। नेपाली सिने क्षेत्रमा लामो समयको अन्तरालपछि आएका 'नयाँ एक्सन हिरो' भनेका छन्।
दुइटा फिल्म दिइसकेका समीरको सोच धेरै काम गर्ने होइन, गुणस्तरीय काम गर्ने छ। उनी वर्षमा एउटा फिल्म खेल्ने र त्यसमै पूर्ण समय दिने सोचमा छन्। अब '१२ गाउँ–२' मा काम गर्ने तयारी भइरहेको छ।
बलिदान फिल्म चलिरहेको बेला केही दिनअघि सिनेमा हल पुगेका समीरले भने, 'हाम्रो होम प्रोडक्सन छ। अब त्यही ब्यानरबाट मेरो सिनेमा आउँछ। हामी बाबुछोराकै सिनेमा आउँछ।'
उनले वर्षमा एउटा फिल्ममा काम गर्ने र त्यसको प्रतिक्रिया लिइसकेपछि मात्रै अर्को फिल्ममा काम गर्ने योजना रहेको पनि बताए।
'भोलि के हुन्छ, पछि के हुन्छ, त्यो त अहिले थाहा हुने कुरा भएन। तर अहिले चाहिँ म यही मनस्थितिमा छु,' समीरले भने।