विगतका वर्षहरूमा जस्तै यसपालि पनि दसैंमा आशा गरिएका र ठूलो बजेटका फिल्महरू रिलिज भए। तर यी फिल्मको व्यापार गत वर्षको जस्तो राम्रो हुन सकेन।
यस वर्ष दसैंको अवसर पारेर फूलपातीका दिन 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' गरी तीनवटा नेपाली फिल्म एकसाथ रिलिज भएका थिए। रिलिजअघिको चर्चा र अपेक्षालाई मध्यनजर गर्दै सिनेमा हलहरूले पनि बिहान ५ बजेदेखि मध्यरातसम्मका शोहरू राखेका थिए।
यद्यपि, कुनै पनि फिल्मले उत्साहजनक ओपनिङ गर्न सकेनन्। निर्माताहरूले फिल्मको व्यापारबारे आधिकारिक तथ्यांक सार्वजनिक नगरे पनि चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार यसपालि फिल्मको व्यापार गत वर्षको तुलनामा धेरै कम छ।
सेतोपाटीलाई प्राप्त शनिबार रातिसम्मको बक्स अफिस रिपोर्टअनुसार यी तीन फिल्मको कुल व्यापार १२ करोड ५६ लाख रूपैयाँ ग्रस रहेको छ। यसमा सन्तोष सेनको निर्देशनमा बनेको 'बलिदान' ४ करोड ८० लाख रुपैयाँको व्यापारसहित अग्रस्थानमा छ।
दीपेन्द्र के खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' ले ४ करोड ३२ लाख रूपैयाँ कमाएको छ भने मिलन तामाङ निर्देशित 'माइतीघर' को कमाई ३ करोड ४४ लाख रूपैयाँ पुगेको छ। यी तीनवटै फिल्महरू सोमबारदेखि तेस्रो सातामा प्रवेश गर्दैछन्।
गत वर्षभन्दा धेरै घट्यो व्यापार, निर्माता भन्छन्– यो माहोलमा यत्ति चलेकोमा चित्त बुझाउनुपर्छ
गत वर्ष दसैंमा रिलिज भएका फिल्मले आक्रामक कमाइ गरेका थिए।
फिल्म हेर्न हलमा दर्शकहरूको घुइँचो लागेको थियो। विराज भट्ट र समीर भट्टको फिल्म '१२ गाउँ' ले एक्लै २० करोड रूपैयाँ हाराहारी कमाएको थियो भने दीपकराज गिरी र दीपाश्री निरौलाको 'छक्का पञ्जा ५' ले १५ करोडमाथि कमाएको थियो।
एकैदिन रिलिज अर्को फिल्म 'ज्वाइँ साब' को व्यापार पनि निराशाजनक थिएन।
यसपालि पनि दसैंका फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो। यद्यपि, गत वर्ष दसैंको तुलनामा यस वर्षका नेपाली फिल्मको व्यापारमा उल्लेख्य कमी आयो।
फिल्मका निर्माताहरू देशको परिस्थितिका कारण दसैंमा विगतमा जस्तो उमंग नदेखिएको आँकलन गर्छन्।
जेनजी आन्दोलन र त्यसपछिको अवस्था, साथै बाढीपहिरो जस्ता विपद्को सामना गर्नुपरेको समयमा फिल्म आएकाले पनि व्यापारमा प्रभाव परेको हुन सक्ने 'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेन बताउँछन्।
उनले भने, 'जुन किसिमको अपेक्षा थियो त्यो भएन। देशको पछिल्लो अवस्थाले पनि दर्शकहरू विगतमा जस्तो यसपालि फेस्टिभ मुडमा देखिएनन्। दसैंमा पारिवारिक दर्शक बढी आउनुहुन्थ्यो, र, अरू समयमा कमै नेपाली फिल्म हेर्ने दर्शक पनि दसैंमा हलमा आएको पाइन्थ्यो। यसपालि त्यो माहोल बनेन।'
यद्यपि, यो अवस्थामा पनि नेपाली फिल्म यत्तिको चल्नु, फिल्म क्षेत्र चलायमान बन्नुलाई सकारात्मक मान्नुपर्ने सन्तोषको भनाइ छ।
'सामान्य फिल्मले गर्ने व्यवसाय गरिसकेको छ। अपेक्षा पूरा नभएको हो। तर, धेरै निराश हुनुपर्ने अवस्था होइन,' उनले भने।
'हरिबहादुरको जुत्ता' का निर्माता सरोज वलीले पनि व्यवसायलाई लिएर सन्तुष्ट रहेको बताए। उनले भने, 'तुलनात्मक रूपमा यस वर्ष व्यापार धेरै कम हो। तर देशको यो माहोलमा पनि यति दर्शक आउनुहुन्छ लागेको थिएन। जति शो पाएका छौँ, अहिले पनि ती शोमा दर्शकको भीड छ। सबैबाट राम्रो प्रतिक्रिया पायौँ।'
फिल्म 'माइतीघर' का प्रस्तुतकर्ता रोहित अधिकारी हिजोआज पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताउँछन्। सुरूका दिनमा भन्दा अहिले पनि व्यापार धेरैले कम नभएको उनको भनाइ छ। उनी तीनवटा फिल्म एकसाथ आउँदा दर्शक पनि बाँडिएको हुन सक्ने बताउँछन्।
'नेपाली फिल्मका दर्शक उही हुन्। यसपालि तीन फिल्म आउँदा दर्शक बाँडिए। त्यसले सबै फिल्मको कमाइमा असर गर्यो। त्यसमाथि जेनजीको आन्दोलन र त्यसपछिको प्राकृतिक विपद्ले पनि असर गर्यो।'
उनी पनि फिल्म हेर्न जति दर्शकहरू आए त्यसलाई लिएर सन्तुष्ट हुनुपर्ने बताउँछन्। 'यस्तो माहोलमा पनि यत्तिको चल्यो। यसलाई राम्रो मान्नुपर्छ,' उनले भने।
उनी डिजिटल राइट्स महँगोमा बेचेको र विदेशमा पनि फिल्मले राम्रो गरेको बताउँदै लगानी सुरक्षित हुने विश्वास गर्छन्।
'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेन आफ्नो फिल्मले नेपालको बक्स अफिसबाट लगानी उठाउन असम्भव जस्तै भए पनि सबैतिरबाट गरेर सुरक्षित हुने बताउँछन्। यद्यपि, आफूहरूले वर्षौ लगाएर गरेको मेहनत खेर गएको उनले बताए।
निर्माताहरू भोलिका दिनमा पनि फिल्मले दर्शकहरूको साथ पाउने र अझै लामो समय हलमा टिक्ने विश्वासमा छन्।
फिल्म विश्लेषकहरू भने फिल्म नै आफैमा बलियो नहुनु, समीक्षा राम्रो नपाउनुलाई अपेक्षित व्यापार नहुनुको मुख्य कारण रहेको टिप्पणी गर्छन्।
'बलिदान' मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मालगायत कलाकारहरूको अभिनय छ।
'हरिबहादुरको जुत्ता' मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की लगायत कलाकारहरू छन्। 'माइतीघर' मा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी लगायतको अभिनय छ।