तिमीलाई के-के मन पर्छ
त्यो हामीलाई थाहा छ
र त वर्षैभरि हामीलाई
उछिनपाछिन भा’छ
हामीलाई दौडिन मात्र आउँछ
उत्पादनको स्वाभाविक चक्र
हामीले बिर्सिसक्यौँ।
त्यसैले त, अरूले बेर्ना सार्ने बेलामा
रासायनिक मल र विषादीको
भरमार प्रयोग गरेर
हामी तरकारी/तरुल उत्पादनै गर्छौँ
र, तिम्रो नाममा–
हतार हतार पठाउँछौँ
तिमी त जम्मा बजार जान्दछौ
तरकारीको सिजनका बारेमा तिमीलाई के मालुम?
खोइ तिम्रो खेत?
खोइ बारी?
खोइ तिम्रो करेसाबारी?
यता, हामी जो उत्पादनसँग जोडिएका छौँ
विषादी छर्न हामी जो खेतबारीमा जान्छौँ
घरैपिच्छे क्यान्सरका लक्षणसहित छौँ
तिमीलाई सन्चै छ, काठमाडौँ?
चिचिला किवी र ड्रागनफ्रुट
गुलियो पस्नै नभ्याएका स्याउ
र, पाक्ने स्वाभाविक सम्भावना गुमाएका एभोकाडो
हामीले तिम्रा लागि पठाएका हौँ
तिमीले यी सबै 'अनलाइन’बाट अर्डर गरेर मगाउनू
र, हतार नगर्नू–
तिम्रो घरमा ल्याइदिने भाइ
घुम्तीबाट मोडिएर परै पुगेपछि मात्र
तिमीले यी सबै फुकाएर हेर्नू
रसायन नहालीकन–
आँप, केरा र भुइँकटहर पाक्छ भन्ने कुरा
बिचरा, तिमीलाई के पत्तो!
हामीले नै बिर्सिसक्यौँ।
फलफूलको स्वाभाविक स्वाद तिमीलाई थाहा छ त?
जुनसुकै केरालाई पसले 'मालभोग' भन्दा तिमीलाई झोँक चल्छ त?
तिमीलाई सन्चै छ, काठमाडौँ?
'भैँसी पाल’ भन्छौँ
'ठाउँ छैन’ भन्छौ
'गाई पाल’ भन्छौँ
मान्दैनौ
सुँगुर/बङ्गुर जे-जे पाले पनि हुन्छ
पैसा हालेर किनेको जिनिस
खोलेमै भए पनि
प्रयोगमा आयो भनेर
मन केही शीतल हुन्छ
नत्र त एक्कासि ब्लडप्रेसर बढ्छ।