मेरो जन्म आजभन्दा २५ वर्ष अघि अर्घाखाँचीको पाणिनि गाउँपालिका- ५ मा एक सामान्य किसान परिवारमा भएको थियो। हरियाली वन-पाखा, सुन्दर गाउँघर, कलकल बग्ने कन्चन खोलानाला, धुलो-माटोसँगै बितेका ती बाल्यकालका दिनहरू आजका मेरा सबैभन्दा मिठा पल र सम्झना हुन आमाबाबाको त्याग दिदीबहिनीको साथ र दाजुको माया मेरो जीवनका अमूल्य सम्पत्ति हुन्।
म पारिवारिक मायामा हुर्किने उमेरमा आफ्नो सपनाको खोजीमा राजधानी काठमाडौँ आएँ। अपरिचित ठाउँमा पाइला राख्नु पक्कै पनि सजिलो थिएन। मनभित्र गाउँघरका ती सुन्दर पल र मेरा मातापिता, दिदीबहिनी र दाजुको झझल्कोले मन पोलिरहन्थ्यो।
आज म सबैको सामु मिठो मुस्कानसहित उभिनुको पछाडि धेरै दुखका पहाड भत्काएकी छु। जीवनमा आइपरेका ती प्रत्येक चोट अपमान र तिरस्कारले नै आज म स्वयं निर्माण भएकी हुँ। आज जुन ओठमा मेरो मुस्कान छ, यो मेरा घाउहरूले बनाएको हिम्मत हो। जीवनसँगको निरन्तर लडाइँले दिएको साहस हो।
जीवन चलिरहेकै थियो। नियतिले हाम्रो परिवार माथि ठुलो प्रहार गर्यो। बाबा बित्नुभयो। घरको पिल्लर ढल्यो, मेरो जीवनका सबै बाटाहरू एकै पटकमा बन्द भए। जीवन सुनसान भयो। त्यसै त परिवारबाट टाढा म, झन् बाबाको त्यस्तो खबरले भावुक मात्र हैन, कमजोर पनि बनायो। जुन सपना ममाथि देखेर मलाई आफ्नो काखबाट टाढा राख्नु भएको थियो, त्यो सपना पूरा गराउन नपाई दैवले हाम्रो खुसी खोसिदियो।
म काठमाडौँ कीर्तिपुरमा अंकल-आन्टीकोमा बसेर कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि एक्लै आफ्नो बाटो खोज्न लागेँ (कोठा भाडामा लिएर बस्न थालेँ)। राजधानी काठमाडौँ बस्नु मेरो लागि सहज भने थिएन। थुप्रै चुनौतीका बाबजुद पनि मैले मेरो सपना पूरा गर्नतर्फ लागेँ। पटक पटक हार मानेर अब पढाइ यस्तै हो छोड्नुपर्छ भन्ने निधो गरी गाउँ पनि फर्किएँ। तर ‘तेरी छोरीले केही गर्न सक्दिने, यो त भागेर बिहे गर्छे, नाक काटेर जान्छे’ भन्नेका अगाडि म केही गर्छु भन्ने आत्मविश्वास राखेर पुनः काठमाडौँ फर्किएँ।
मैले मेरी आमालाई ‘मैले त जागिर पाएकी छु, काठमाडौँमा म एकदम खुसी छु’ भनेर झुट बोलेर फर्किएकी थिएँ। जब कि मेरो कुनै जागिर थिएन। उहाँलाई चिन्ता नहोस् भनेर आमासँग झुट बोल्न बाध्य भएँ म। कीर्तिपुरको गल्ली-गल्लीले मेरो भोक, प्यास, दुख, आँसु अनि मेरो पीडा र संघर्षलाई नजिकबाट नियालेको छ। बिहान खाएको थालले पनि बेलुका अब के खाने भनेर थकथकाउँथ्यो।
आमाले ‘खाना खायौ त?’ भनेर सोध्दा पेट भोकै हुन्थ्यो तर जवाफमा ‘अ खाएँ’ भनिदिन्थेँ। त्यो शब्द भन्नासाथ बन्द कोठालाई आफ्नो पीडा सुनाएर रातभरि रुन्थेँ। अर्को दिन बिहान नयाँ आशा र उत्साहका साथ आफ्नो दैनिक क्रियाकलापमा लाग्थेँ। मैले आज म हुनका लागि गरेको संघर्ष कतिपय काम कुरा मेरै परिवारलाई थाहा नहुन सक्छ। मैले आज म हुनका लागि वेटर, फोटोग्राफर, कार्यालय सहयोगी, फर्निचर सम्बन्धी काम, पत्रकारिता सम्बन्धी काम, अरूको घरमा भाडा लुगा धुने काम र कपडा पसलमा सहयोगी भएर करिब-करिब चार वर्ष बिताएकी छु। त्यो समय र ती काम गर्न सजिलो त थिएन तर हार्ने विकल्प पनि थिएन।
आजको मेरो यो ओठको मिठो मुस्कान, हाँसिरहने म र बोलिरहने मेरो स्वभाव अनि मलाई गर्ने त्यो माया देखेर कति भाग्यमानी रहेछौँ भन्ने शब्द सुन्दा मन आनन्दित हुन्छ। हिजो कठै भन्नेले आज तिम्रो जीवनमा पनि यस्ता राम्रा दिन आउने रहेछन् भन्दा भित्रभित्रै निकै हर्षित हुन्छु। तर अर्को मन भन्छ- तैँले आज त हुनका लागि कति पटक आफूले आफैलाई सक्काउने प्रयास गरिस्। कति पटक भत्किएको मनलाई कसरी टालिस् र आफूलाई यो ठाउँमा उभ्याउन सफल भएर त हिजो तेरो छोरीले केही गर्न सक्दिने भन्नेका अगाडि छोरी होस् त यस्तो भन्ने गराइस्, यो त तेरो मेहनत, परिश्रम, धैर्यताले गर्दा हैन र?
पक्कै पनि यो सबै मेरो आत्मबल, मेहनत, परिश्रम, धैर्यता र मेरो गुरुहरूले देखाउनु भएको सतमार्गले गर्दा नै आज म बाघ भैरव आवासीय माध्यमिक विद्यालयमा विगत पाँच वर्षदेखि सामाजिक शिक्षकको रूपमा कार्यरत छु। मेरो यो जीवनको लामो यात्रामा मलाई साथ दिने मेरो आदरणीय व्यक्तित्व मेरो जन्मदाता मेरी आमा, मेरो दाइ सन्तोष अधिकारी, जनसेवा माध्यमिक विद्यालयका तत्कालीन तथा वर्तमान प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, मेरो अङ्ग्रेजी शिक्षक श्री पवित्रा शाक्य, बाघ भैरव आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक, जनसेवा माविका सम्पूर्ण शिक्षकहरूलगायत मेरो सम्पूर्ण परिवार साथीभाइ तपाईंहरूले दिनुभएको आँट भरोसा र सान्त्वनाले गर्दा नै हो।
विशेष धन्यवाद त नन्दकुमारी मिस जसले मलाई कर्तव्य, जिम्मेवारी त्याग गर्न सिकाउनु भयो। उहाँले मलाई ११/१२ निःशुल्क पढ्ने वातावरण मिलाउनु भयो। जन्मदिने आमाले झैँ माया गर्नु भयो। उहाँको त्यो गुन, मेरो लागि गर्नु भएको योगदान, म मरेर गए पनि मेटिने छैन।
मलाई यो जीवनले विभिन्न कठिनाइका बाबजुद पनि हार मान्न हुन्न, जे-जे परी आउँछ ती सबै कुराको सामना गर्नु पर्छ, मर्नु समस्याको समाधान हैन भन्ने कुरा सिकायो। त्यसैले जीवन हामीले सोचेझैँ सजिलो छैन। जसले जीवनमा आएका समस्यासँग जुधेर आँसुलाई हाँसोमा परिणत गर्छ, त्यो नै सफल हुन्छ र आफ्नो पहिचान तथा इज्जत कमाउँछ।