यहाँ निदाउँदैनन् रातहरू
जब एउटा कमलको फूल
तहरिइरहन्छ सुनसान तलाउमा
प्रेमीलाई नै हेरेर
घरीघरी नयन जुधाउँदै
मुसुक्क लाजले मुस्काउँदै
चन्द्रमाको किरणको
मधुरो प्रकाशमा।
त्यही त्यै मिठो हेराइमै
मनमा उमङ्ग लहराउँदै
छल्किरहन्छन् यौवनका छालहरू
घरीघरी मन्द-मन्द हावाले
ल्याइरहन्छ सुगन्धित सुवास
प्रेममा आनन्द मानी कुरिरहेको
एउटा मदहोस प्रेमी
रमाइरहन्छ प्रफुल्ल भएर।
जीवन एक प्रेम रहेछ
या प्रेम नै एक जीवन रहेछ
मुटुको स्पन्दन बढ्दा बढ्दै
खुसीले ओतप्रोत मक्ख भई
हिलोमै यस्तरी रमाइरहेकी
सौन्दर्यले अति सुन्दरी कमल
अनि उनीलाई मनमा सजाइरहने
एउटा सुन्दर जवान प्रेमी।