कात्तिक महिनाको शितल बिहानी। साथी प्रविण र म चितवनको पूर्वोत्तरमा रहेको चौकीडाँडातिर हाइक जाँदै थियौं। बाटोमा निलो पानीको सुन्दर दह फेला पर्यो। कस्तो भने, सपनामा देखिनेजस्तो सफा र निलो।
साथी माथि भिडिओ बनाएर बस्यो। म हतार हतार कपडा खोलेर एकपल्ट पनि नसोची झ्याम्मै हाम फालेँ। धित मर्ने गरी पौडिएँ।
जाडो सुरू भइसकेको थियो। बिहानको चिसो पानी छुँदा ज्यानमा सिरिंग काँडा उठ्थे। तर मेरा लागि यो स्कुले जीवन सम्झाउने खोलाको पानीमा पौडाइ मात्रै थिएन, सीमित समयका लागि उपलब्ध उत्सव थियो।
त्यस्तो उत्सव जहाँ कुनै सर्त छैन, खर्च पनि छैन। दसैंताका बहुलाउने गरी आएको वर्षामा उर्लिएका खोलाहरू तिहारसम्म संग्लिएका र सम्हालिएका छन्। मूलहरू साना भए पनि सुकेका छैनन्।
बर्खाभरि पखालिएर सफा बनेको वायुमण्डल अझै धमिलो भइसकेको छैन। निलो आकाशमा भर्खर निस्केको घामले पारिला किरण छरिरहेको छ। वरिपरि चारैतिर स्निग्ध हरियो जंगल छ। गर्मी निख्रिँदो र जाडो पलाउँदो छ तर कठ्यांग्रिने जाडो पनि आइसकेको छैन।
कञ्चन पानीमा माछाहरूसँगै पौडिनुको सुख अनुपम थियो तर त्यो लिन ज्याकेट खोलेर चिसो पानीमा हाम फाल्ने धृष्टता चाहिँ चाहिन्थ्यो। त्यो ममा थियो, साथीमा थिएन।
खोलाको त्यो अनुपम सुख दुई किसिमले क्षणिक थियो।
एक त केही सातामा पानीको मात्रा ह्वात्तै घट्थ्यो अनि जाडो ह्वात्तै बढ्थ्यो। मेरो आफ्नै एलर्जीको सिजन पनि सुरू हुन्थ्यो। र, केही महिनाका लागि पौडी कल्पनाको विषय मात्रै बन्थ्यो।
दोस्रो, जलवायु संकटले मानिस जातिलाई जसरी घेर्दै र अँठ्याउँदै ल्याएको छ, त्यस कारण पनि यो सुख सदाकालसम्म रहने छैन।
तपाईंहरूलाई यस्तो लाग्न सक्ला— मूल फुटेर निस्किने पानी कहिले पो सकिएला र? बाँकी विश्व ध्वस्तै भए पनि खोला त रहिहाल्छन् नि, किन त्यत्ति कुरालाई यति बढाइचढाइँ गरेको? हिमालको हिउँ पग्लेर नदीको बहाव घट्ने मानियो, समुद्र सतह बढेर सहरहरू डुब्ने पनि मानियो। तर पहाडको एउटा खोलामा पौडिने सुख समेत जोखिममा छ भनेर किन अतिरञ्जना गरेको?
आज म यही अतिरतञ्जनाजस्तो लाग्ने यथार्थबारे विस्तारमा चर्चा गर्छु।
हो, खोला त रहला तर त्यसमा पौडी खेल्ने मेरा हातखुट्टा नरहन सक्छन्।
फेरि तपाईंलाई यो पनि अलि सैद्धान्तिक कुराजस्तो लाग्यो होला। तर मेरा लागि यो सपाट व्यावहारिक कुरा हो।
ढाड भाँच्ने दुर्घटना
यही वर्ष जेठको एउटा ओसिलो बिहान। अग्लो लिचीको रूखको टुप्पानेर एउटा हाँगामा टुक्रुक्क बसेर लिची खाँदै थिएँ। थाहै नपाई मैले सानो हाँगामा आडेस लगाएछु।
अचानक हाँगा प्याट्ट भाँचियो। म धड्याम्म भुइँमा पछारिएँ। झर्दै गर्दाको आधा सेकेन्डमा यति सोचेको याद छ — जे नहुनु थियो, त्यही भइदियो।
ढाडले आडेस लगाएको हाँगा भाँचिएकाले हावामा ज्यान तल, हातखुट्टा माथि परे। भाँचिएको हाँगामाथि ढाड बजारियो। न हातको भर, न खुट्टाको।
ढाडमा एक तलामाथिबाट खसेको ७२ किलोको पत्थर बजारिए जति बल पर्यो। जहाँ बजारियो, त्यसको एकाध इन्चभित्रपट्टि मेरूदण्डभित्र मेरो स्पाइनल कर्ड थियो जसमा भएको स–सानो क्षतिले पनि पक्षघात गराउने जोखिम बोक्थ्यो।
मेरो सहनशक्तिको सीमा नाप्ने पीडा भयो पिठ्युँमा एक सेकेन्ड जतिका लागि। दुईचोटि ऐय्या ऐय्या भन्न भ्याएँ। भुइँमा लिची टिपिरहेकी श्रीमतीले 'बेबी, बेबी' भनेको पनि सुनेँ।
तर सास फालिसकेपछि पीडाका कारण फेरि तान्नै नसकिएला र सास रोकिएला जस्तो भयो। श्रीमतीको आवाज पनि कुनै पर्दाले छोप्दै गरेको स्टेजझैं फिक्का हुँदै गयो र हरायो।
त्यसपछि अन्धकार छायो। यस्तो अन्धकार जुन तपाईंले होसमा देख्न सम्भव छैन।
स्वभावतः म बेहोस रहेको एकाध मिनेट परिवारका मानिसहरूको सातो गएछ। मेरो शरीर निलो हुँदै गएछ। सिमसिम पानी परेको बारीको झाडीबाट आँगनसम्म झ्याइँकुटी पारेर ल्याउन्जेल म अचेत नै रहेँ। अचानक आइलागेको आपतकालमा कमान्ड सम्हालेकी श्रीमतीले मलाई बाटैमा दुई–तीन पटक मुखमा मुख जोडेर सास पनि दिइछन्।
बेहोसीको अन्ततिर जब मेरो होस फर्किने सुरसारमा थियो— ओहो, कस्तो रूखबाट लडेको सपना देखेको — भन्ने भाव हावाको झोकाझैं मेरो मानसपटलबाट गुज्रिएको मलाई याद छ।
जब होसमा आएँ, गालामा कसैले अचानक चड्कन हानेझैं यथार्थले हिर्कायो — रूखबाट सपनामा होइन, विपनामै लडेको थिएँ म।
बरू सपनामा लडेछु भनेर सोचेको कुरा आफै सपनासरह रहेछ।
ढाडमाथि जाँतोले अँठ्याएको जस्तो भारीपन थियो। दुखाइ सहन सक्ने सीमाबाट अलिकति मात्रै कम थियो। ढाड उचाल्ने कल्पना पनि आउने अवस्था थिएन।
तर त्यस्तो पीडाबीच पनि मेरो मनको बादल फाटेर उज्यालो अनुभव भयो जब मैले पालैपालो खुट्टाहरू उठाउन कोशिस गरेँ र त्यो सफल भयो।
एम्बुलेन्स बोलाएर अस्पताल पुगेपछि म तीन साता ओछ्यानमा सुतेँ। अरू थप केही साता लगाएर पूर्ण रूपमा निको पनि भएँ। अब स्मृति र सम्भवतः एक्स–रेमा देखिने मेरूदण्डको एउटा हड्डी दबिएको भागबाहेक त्यो दुर्घटनाको अरू कुनै अवशेष ममा बाँकी छैन।
तर ऊबेला यो परिणामको कुनै ग्यारेन्टी थिएन।
अहिले म बारम्बार सोच्छु — त्यो दुर्घटनापछि मेरा खुट्टा नचलिदिएको भए के हुन्थ्यो? एउटा हड्डी अलिकति दब्नु मात्रैको सट्टा स–सानो हड्डीको चपेरा निस्किएर त्यसले कुनै नसा चुँडाइदिएको भए के हुन्थ्यो? दौडिन र उफ्रिन त के, हिँड्न सकस भइदिएको भए के हुन्थ्यो? बस्न नसक्ने भएको भए?
अनि पौडिने कुरा सपनामा र साइकल चलाउने कुरा कल्पनामा मात्र सीमित भइदिएको भए के हुन्थ्यो?
त्यसैले कात्तिकको चिसो पानीमा मेरो पौडाइ क्षणिक आवेग वा 'एडभेन्चर' गरिहालौं भन्ने भावनाको उपज मात्रै थिएन। जीवनमा अझै उमेर छ, हात छन्, खुट्टा छन्, ती चल्छन्, त्यसैको खुसीमा यो स्फटिकजस्तो पानीमा पौडीको उत्सव मनाऔं भन्ने भावनाको उपज बढी थियो।
हेर्नेका लागि त्यो चिसो बिहानमा पौडिने मानिस कुनै बेपरवाह आवारा हुन सक्थ्यो। मेरा लागि भने त्यो जीवनले दिन सक्ने अधिकतम सुख थियो।
अहिले म यो पनि सोच्छु — यो संसारमा कति मानिस होलान् जसका हात छन्, खुट्टा छन्, ती दुवै चल्छन् तर तिनले पौडीको सुख नलिइ सिंगो जीवन गुजारिराखेका छन्। सायद तपाईंले पनि यस्ता केही मानिसहरू चिन्नुहुन्छ!
अरू त अरू मानिसका लागि पौडी भनेको चराका लागि उडानजस्तै हो भन्ने तिनलाई थाहा समेत छैन।
क्रिकेटको ब्याट समात्ने कल्पना समेत नगरी स्क्रिनमा अरू क्रिकेट खेलेको हेरेर ठूलो उपलब्धि गर्यौं भन्ने सोचिरहेका छन् केही मानिसहरू। साइकलका पेडल पेलेर दैनिक सयौं किलोमिटर चलाउन सक्ने मांसपेशीलाई गाडीको एक्सलरेटर थिच्नुमा सीमित गरेका छन् अरू केहीले।
मलाई विश्वास छ — तपाईंहरू पनि कोही न कोही त्यस्ता मानिसहरू चिन्नुहुन्छ जसले शरीर त मानिसको पाएका छन् तर त्यसलाई उपयोग गर्न सिकेकै छैनन्।
जो गाउँमा दस जना अट्ने गाडीमा ३० जना कोचिएर दुर्घटना, मुत्यु र अंगभंग हुने जोखिम बोक्छन् तर आधा घन्टाको उकालो उक्लिन सक्दैनन्। जो सहरमा घाँटीभन्दा तलको शरीरलाई टाउकोको स्ट्यान्डका रूपमा मात्रै प्रयोग गर्छन्, एउटा बैठकबाट अर्को बैठकसम्म पुर्याउन!
त्यस दिन धित मर्ने गरी पौडी खेलेपछि म दहबाट निस्केँ र चिसो शरीरमा कपडा लपेटेँ। अनि हामी पहाड चढ्यौं। डाँडामाथि सफा हावा र पारिलो घामले लठ्ठै पार्यो। डाँडै ढाकेर फलेको इस्कुस र बोडीको तरकारीसित खाएको दुई थाल भातले ज्यानलाई शिथिल पार्यो।
यी सबै शिथिलताका कारण फर्किने बेला साथी मभन्दा पछि छुट्यो। समयको सदुपयोग गरौं भनेर म बारीको पाटातिर पसेर मानिस गन्तव्यमा पुगेपछि किन निराश हुन्छ भन्ने विषयमा न्युरोविज्ञानको पाठ समेटेर एउटा भिडिओ खिचेँ।
तबसम्म पछि छुटेको साथीले बाटो बिराएर अर्कै डाँडातिर लागेछ। चानचुन एक घन्टा उसलाई पर्खेर अलमलिएपछि बल्ल यो कुरा पत्ता लाग्यो।
परिणाम — उज्यालैमा तल झर्ने योजना चौपट भयो।
पहिले त साथीको वास्तविक अवस्थिति यकिन गर्न झरिसकेको बाटो एकछिन दौडिँदै उक्लनुपर्यो। आखिरीमा साथीले तल झर्ने साधन पाएपछि डाँडापारिको अटोरिक्सासित प्रतिस्पर्धा गर्दै फेरि ओरालै ओरालो बुर्कुसी मार्दै कुद्नुपर्यो।
खोलामा झर्दा साँझले छोपिसकेको थियो। बाह्र पल्ट तर्नुपर्ने उही खोलामा बाह्रै पल्ट डुबेपछि प्रशन्न भएर फुलेका जुत्ता र मोजालाई लतार्दै, घिसार्दै म दौडिरहेँ। जेठको ढाड भँचाइपछि म त्यसरी दौडिएको त्यो पहिलो अवसर थियो।
खोला, जंगल र रातलाई उछिन्दै जब धमिलो साँझ परिसकेपछि गाडीमा आइपुग्यौं, हामीलाई मानिसले सिर्जना गरेको सभ्यताको महत्वबोध भयो। किनकि, हामी अब थप हिँड्ने अवस्थामा थिएनौं। दिनभरिका लागि हिँडाइ र कुदाइ प्यारो थियो भने अब सुलुलु गुड्ने न्यानो गाडीको गुडाइ प्यारो थियो।
घर फर्केपछि कैयौं दिनसम्म खुट्टा खुम्चिनै मानेनन्। एउटा सिँढी झर्न पनि हातको बल लगाउनुपर्ने भयो। म ऐय्या ऐय्या गर्दै हिँडिरहेँ। तर म यो सारा प्रकरणमा आफ्ना लागि होइन, अरूका लागि बढी दुखी थिएँ।
पहिलो कारण — ती जसको जीवन घर वा गाडीभित्रै बितेको छ, तिनलाई त न्यानो ओतमा बस्नु वा गाडीमा गुड्नु सुख हो भन्ने पनि थाहा छैन। किनकि तिनले खुला आकाशको, हुरी र झरीको, अँध्यारोको, कठ्यांग्रिँदो जाडो वा भतभती उमाल्ने गर्मीको अनुभव नै लिएका छैनन्।
त्यसैले तिनको पूरा जीवन यो पुगेन र त्यो पुगेन भनेर गनगन गर्दागर्दै सकिइरहेको छ। तीमध्ये धेरै सुखको खोजीमा नशाको दलदलमा समेत फसिरहेका छन्।
दोस्रो कारण — रूखबाट लडेर ढाड भाँच्दाको पीडा र ओरालोमा बुर्कुसी मारेर दौडेपछि हुने पीडाको भेद नै मानिसहरूलाई थाहा छैन। त्यसैले उनीहरू सबै खाले पीडालाई एउटै दृष्टिले हेर्छन् र त्यसबाट सकेको दुरी राख्छन्।
अनि उनीहरू जीवनमा वृद्धि र विकासलाई सम्भव पार्ने पीडाबाट पनि वञ्चित भइराखेका हुन्छन्। शरीरको पीडा नभोगी नभोगी मानसिक पीडामा तड्पिन्छन् त्यस्ता धेरै मानिसहरू।
जलवायु पैरवी र अवसाद
जलवायु संकटबारे म जति बोल्छु र लेख्छु, त्यो सुनेपछि र पढेपछि धेरै शुभेच्छुकहरूको एउटा प्रश्न हुन्छ — यत्रो चिन्ता लिँदा तिमी अवसाद वा डिप्रेसनमा जाँदैनौ?
यो लेख एक किसिमले त्यही प्रश्नको जबाफ दिने प्रयास पनि हो।
मानिलिनोस्, तपाईं बसमा सवार हुनुहुन्छ। बस गुडिरहेको होइन, उड्लाझैं बत्तिइरहेको छ। तपाईंलाई अचानक थाहा भयो, अगाडि छंगाछुर भिरको ढिकमा गएर यो बाटो टुंगिन्छ।
तपाईं आत्तिँदै वरिपरि हेर्नुहुन्छ, सबै या त आफ्नो धुनमा मस्त छन्, नभए राम्रो र आरामदायी सिटका लागि झगडा गरिरहेका छन्। अगाडिको ढिक र भिरबारे ती पुरापुर बेखबर छन्।
तपाईं चिच्याएर तिनलाई अशुभ समाचार सुनाउन र गाडीको ब्रेक हान्ने मेसो मिलाउन चाहनुहुन्छ तर ती सुन्न तयारै छैनन्। चालकले सुनेर वा जानेर ब्रेक हान्ने त सम्भावनै छैन, किनकि ऊ धन र शक्तिको नशारूपी अर्कै संसारमा छ।
अब भन्नुस्, रूनु कि हाँस्नु? चिन्ता गर्नु कि डिप्रेसन वा अवसादमा जानु?
म लगायत संसारभर जलवायु अभियन्ताहरूको अहिलेको अवस्था यही हो।
यसलाई हामी कसरी झेल्छौं त? घनघोर अवसादको बादलबाट हामी कसरी बच्छौं? अन्धकार भविष्यको भयबीच पनि हामी कसरी हाँस्छौं, बोल्छौं र रमाइलो गर्छौं?
यही कुरा बुझाउन मैले तपाईंहरूलाई ढाड भँचाइ र पौडीका दुई किस्सा सुनाएको हुँ।
जेठमा मैले रूखबाट खसेपछि जाँतोले ढाडमा अँठ्याएजस्तो पीडा भइरहेको बेला खुट्टा उठाउने प्रयास गरेँ र ती उठेपछि मुख उज्यालो पारेँ। समयको त्यो बिन्दुमा रूखबाट खसेको कुरा उल्ट्याउन सम्भव थिएन तर बचेको कुरा सम्हाल्न र थप क्षति रोक्न सम्भव थियो।
संसारभरि जलवायु अभियन्ता र वैज्ञानिकहरूले अहिले गरिरहेको काम यही हो। यो सकिएका कुराहरूको सुर्ता गरेर बस्ने नभई बचेका कुरा जोगाइराख्ने समय हो।
मानिस जातिले पृथ्वीमा यति कार्बन उत्सर्जन गरेको छ कि, सन् १८८० मा वायुमण्डलमा रहेका पृथ्वी तताउने कार्बन–डाइअक्साइडका दुई अणुका ठाउँमा अहिले तीन अणु पुगिसकेको छन्। आउँदो सयौं वर्षका लागि पृथ्वीलाई जल्दो नरक बनाउन कार्बन–डाइअक्साइड र अरू हरितगृह ग्यासको अहिलेकै मात्रा काफी छ।
अरू हजारौं वर्षसम्म वायुमण्डलमा कार्बन–डाइअक्साइडको मात्रा घटाउनु असम्भव छ। यो मानव जाति रूखबाट खसेर ढाड भाँचेको जस्तो अवस्था हो। तर अझै केही नगर्ने हो भने त केही दशकमा वायुमण्डलमा कार्बन–डाइअक्साइडको मात्रा औद्योगिक युगअघिको भन्दा दोब्बर पुग्छ।
त्यसो हुनु भनेको त्यही ढाड भाँचेर लडेको मानिसलाई फेरि गाडीले किच्न लगाउनु सरह हो। अब हामीले रोक्न सक्ने र रोक्नुपर्ने काम भनेको यही हो।
अब भन्नुस्, जो यत्रो विपत्ति रोक्न भनेर भिड्न निस्केको छ, ऊ अवसादमा रूमल्लिएर बस्न सक्ला र? यस्तो मानिसको जीवनमा उपभोगबाट प्राप्त हुने 'हेडोनिक' खुसी न्यून होला तर अर्थपूर्ण काम गर्दा प्राप्त हुने 'युडाइमोनिक' खुसी प्रशस्त हुन्छ र त्यसले मानसिक स्वास्थ्य बलियो बनाउँछ।
यीबाहेक खुसि हुने अर्को एउटा तरिका हुन्छ — 'एक्स्पेरिएन्सियल' वा अनुभवसिर्जित खुसी। खोलामा हाम फालेर पौडिँदा मैले हासिल गर्ने खुसी यही हो।
'आगो, आगो'
भिरतिर कुदिरहेको बसमा राम्रो सिटका लागि झगडा गरिबस्ने मानिसहरूको मनोविज्ञान कुन कारणले यति व्याप्त छ भन्ने बुझाउन म अझ एउटा साँचो किस्सा भन्छु। अनि मैले माथि सोधेका प्रश्नहरूको पूरा उत्तर आउनेछ।
सन् १९७७ मे महिनाको एक सुन्दर साँझ। अमेरिकाको केन्टकी राज्यको साउथगेट सहरको चर्चित बेभेर्ली हिल्स सपर क्लब। उत्कृष्ट खाना पेय पदार्थ र त्यो जमानामा उत्कृष्ट मानिने मनोरञ्जन। क्लबमा मुख्य हलको क्षमता थियो ६ सय। तर मानिस थिए ९ सय जनाभन्दा माथि।
सबै खुसीले झुमिरहेका बेला अचानक एक वेटर युवक मञ्चमा गयो र माइकबाट करायो — यो भवनको अर्को छेउमा आगो लागेको छ। सबै तुरून्त हलबाट निस्किनुहोला।
मानिस झस्किन त झस्किए तर बाहिर निस्किहाल्नुभन्दा अगाडि आफ्नो वरिपरि हेरे। कायरजस्तो अरूभन्दा अघि अघि कोठाबाट निस्किन तयार भएनन्। फेरि आगो हलमा त लागिसकेको थिएन। यहाँ नआइपुगी निभि पो हाल्ला कि भन्ने आशा पनि भयो।
परिणाम — वेटरले चेतावनी दिएका चार मूल्यवान मिनेटसम्म कोही डेग चलेन।
सबै एकअर्कालाई हेरेर आश्वस्त भए— चानचुन हजार जना मानिस यहीँ छन्, त्यत्रो खतरा के पो होला र? खतरै हुन्थ्यो त कोही न कोही किन भागदौड गर्दैन थियो र?
खानपिन र नाचगान बेरोकटोक चलिरह्यो।
पाँचौं मिनेटमा धुवाँ हलमा आइपुग्यो। लगत्तै आगोका लप्का पनि आए।
जति मानिस निस्सासिएर मरे, तिनभन्दा बढी निकासतिर जान खोज्दा किचिएर मरे। जम्मा १६५ जनाको भयानक मृत्यु भयो। अरू दुई सय जना घाइते भए। एक छिनअघिको उत्सव घनघोर शोकमा बदलियो।
सिंगो मानव जातिका हकमा अहिले यही प्रक्रिया चलिरहेको छ। यो घटनाको वेटर युवकको भूमिकामा यहाँ छन् गिनेचुनेका जलवायु वैज्ञानिक र अभियानीहरू जो घोक्रो सुक्ने गरी कराइरहेका छन् — आगो, आगो!
तर मानिसहरू आफै आगोमा झुल्सिएर नमरी यो कुरा पत्याउन तयार छैनन्। जो मरेको छ, ऊ आफ्नो कथा बताउने हैसियतमा छैन। जो जिउँदो छ, ऊ मरेको मानिसको गल्तीबाट केही सिक्न तयार छैन।
यो हो आजको मानवको जम्माजम्मी किस्सा।
यति हुँदाहुँदै पनि जसले आफू नमरी नर्क देखेको छ, ऊसित त्यो नर्कको वर्णन गरेर मानिसहरूलाई त्यता नलाग्न झकझक्याउने दायित्व त रहन्छ नै।
मैले देखेको नर्क
विगतमा पृथ्वीमा १ डिग्री सेल्सियसको तापक्रम परिवर्तनले सिंगो सभ्यता तहसनहस पारेको इतिहास छ।
सन् २०१६ मा विश्वव्यापी तापमान वृद्धिलाई सन् २१०० सम्म १.५ डिग्रीभित्र रोक्ने (औद्योगिक युगपूर्वको तुलनामा) वाचा गरेको थियो मानिसले। त्यो सीमा ७५ वर्षअघि नै भत्किसकेको छ, सन् २०२५ मा।
बीसौं शताब्दीभरिका सय वर्षमा जम्मा ०.२ डिग्रीले बढेको पृथ्वीको औसत तापक्रम एक्काइसौं शताब्दीका २४ वर्षमा अरू १.३ डिग्री वा साढे छ गुणाले बढेको छ।
सन् २०२९ सम्म नै कुनै एक वर्षका लागि तापक्रम वृद्धिले २ डिग्री नाघिसक्ने अनुमान गर्दैछन् वैज्ञानिकहरू। सन् २१०० का लागि कुनै बेला सर्वाधिक खराब सम्भावना (वर्स्ट केस सिनारेयो) मानिएको ३ डिग्रीको वृद्धि अब सबभन्दा असल व्यावहारिक सम्भावना (बेस्ट केस सिनारियो) बनेको छ।
वैज्ञानिकहरूले गरेको हिसाब अनुसार अहिले मानव सिर्जित हरितगृह ग्यासहरूका कारण पृथ्वीमा प्रत्येक सेकेन्ड चार वटा हिरोसिमामा पड्काइएजस्ता परमाणु बम पड्काए बराबर ताप थपिँदैछ।
अहिलेकै रफ्तारमा कार्बन उत्सर्जन भइरहने र पृथ्वी तातिरहने हो भने अबका केही दशकको समयमै करोडौं मानिस विस्थापित हुने जोखिम छ। त्यसको अर्थ भीषण द्वन्द्वहरू, करोडौंको भोकमरी र लाखौंको मृत्यु हो। त्यसरी लखेटिने र मारिनेहरूमध्ये तपाईं हामीमध्ये कोही न कोही पर्ने निश्चित छ।
संसारका ९९ प्रतिशत मानिसहरूले अहिले यो अवस्था झेल्न अज्ञान वा बेवास्ताको माध्यम चुनिरहेका छन्। जोखिमबारे बुझ्दै नबुझेपछि केको चिन्ता?
उसो भए जलवायु वैज्ञानिक र अभियानीहरू लगायत बाँकी १ प्रतिशतले यो अवस्था कसरी झेल्छन् त?
मेरा लागि यो झेलाइ वा 'कोपिङ' का दुई कडी छन्।
एक, तपाईंलाई वर्ष २०८२ अहिलेसम्मको झुर र निराशाजनक वर्ष लाग्न सक्छ। यो वर्षको गर्मी र खडेरी, डढेलो, बाढी र पहिरो, वायु प्रदूषण र त्यसले ल्याउने स्वास्थ्य सकसका कारण तपाईं चिन्ता र अवसादको बाटोमा लाग्न सक्नुहुन्छ।
तपाईं भन्न सक्नुहुन्छ — यति अचाक्ली गर्मी र खडेरी कहिल्यै परेको थिएन। बाली यतिसारो यसअघि कहिल्यै नास भएको थिएन।
तर मेरा लागि यो वर्ष अब मैले भोग्ने सबै जसो वर्षमध्ये सबभन्दा उत्तम हो। अबका वर्षहरू योभन्दा कति कठिन होलान् भन्ने बहस जारी छ तर सहज हुने छैनन्।
त्यसैले यो वर्षका विपत्तिले शोकमग्न बनाए पनि मेरा लागि यो उत्सवको वर्ष हो। अझै बचेको जीवनको उत्सव। ध्वस्त हुन बाँकी प्रकृतिको उत्सव।
त्यसैले म भन्न सक्छु — भविष्यमा जस्तो गर्मी र खडेरी भोग्नु छ। त्यसको तुलनामा त यो शीतल वर्ष हो। भविष्यका ज्यानमारा खडेरीहरूले खाद्यान्नको जस्तो महँगी र भोकमरी निम्त्याउँदै छन्, तिनको तुलनामा यो वर्षको खडेरीले निम्त्याएको महँगी केही पनि होइन। भविष्यमा जति भयावह द्वन्द्वहरू सिर्जना हुँदैछन्, तिनका तुलनामा आजका द्वन्द्व केही पनि होइनन्।
त्यसैले म यो वर्ष कति झुर भयो भनेर यसलाई सरापेर बस्दिनँ। अझै कति कुरा बचेका छन् भनेर खुसी मान्छु। अनि सचेततापूर्वक अबका वर्षहरूमा लिने सम्भावना सकिँदै गएका सबै अन्तिम आनन्दहरू लिने प्रयास गर्छु।
दुई, बेभेर्ली हाइट सपर क्लबमा आगलागीको सूचना दिने युवक हलमा आगलागी भएपछि मानिसहरूलाई त्यहाँबाट जिउँदै निकाल्न खट्यो। भलै उसले चाहेझैं सबै मानिस बेलैमा खतरा महसुस गरेर सुरक्षित बाहिर निस्किन सकेनन् र १६५ ले ज्यानै गुमाए।
तर पनि त्यो दिनको घटनालाई लिएर जीवनमा सबभन्दा कम पश्चात्ताप गर्न लायक कोही थियो भने उही थियो।
जलवायु वैज्ञानिक र अभियानीहरूले अहिले गरिरहेको काम पनि त्यस्तै हो, कसैले नसुने पनि भनिरहने, चिच्याइहने, लेखिरहने। अरू डेग चलून् वा नचलून्, आफ्नो काम गरिरहने!
दुर्घटनादेखि किताबसम्म
ढाड भाँचिने दुर्घटना हुनुअघि नै मसित जलवायु संकटमा केन्द्रीत किताबको पाण्डुलिपि झन्डै तयार थियो। तर कहिले के, कहिले के बहानामा त्यसलाई अन्तिम रूप दिने र छाप्ने मेसो मिलेको थिएन।
ओछ्यानबाट निस्किएर तंग्रिन थाल्नासाथ पहिलो काम त्यही पाण्डुलिपि पुनर्लेखन र सम्पादन गरेँ। काम गर्न छाडेका ६ महिना जतिमा पृथ्वी थप कति बिग्रिसक्यो भन्ने कुरा खोजखाज गरेर अपडेट गरेँ। अनि प्रकाशकलाई पठाएँ।
हाल अंग्रेजीमा निस्किन लागेको र नौ कक्षामाथिका विद्यार्थीहरूलाई ध्यानमा राखेर लेखिएको किताबको शीर्षक छ — लाइफ इन क्राइसिसः अ जर्नी फ्रम द बिगब्याङ टू द क्लाइमेट इमर्जेन्सी (Life in crisis: A journey from the Bigbang to the climate emergency)।
अर्थात्, संकटमा जीवनः सृष्टिदेखि जलवायु आपतकालसम्मको यात्रा।
यो किताब एक किसिमले ब्रह्माण्डको संक्षिप्त जीवनी हो।
यसमा तपाईंले स्कुलमा पढेका भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानदेखि पछिल्ला महिनाहरूसम्मै विकसित जलवायु विज्ञान, इभोल्युसन वा उदविकासको विज्ञानदेखि समाजशास्त्र र मानवशास्त्रसम्मका अनेक रेसा बुनिएको पाउनुहुने।
स्कुल–कलेजका विद्यार्थीले यसलाई पढे भने कक्षामा पढेका विभिन्न विषय कसरी अन्तर्सम्बन्धित छन्, र जीवन विकासको बृहत्तर कथामा ती कहाँ अटाउँछन् भन्ने बुझ्नेछन्। तिनका स्कुले पाठ्यक्रम कति अपूरा छन् भन्ने पनि थाहा पाउने छन्। अनि आखिर फरक फरक विषयमा पढेका कुराहरूले हामीलाई जीवन र अस्तित्व बुझ्न कसरी मद्दत गर्छन् भन्ने बुझ्नेछन्।
यो किताब पढेपछि उनीहरूले थप एउटा कुरा राम्रोसित बुझ्नेछन् — पृथ्वीमा पर्यावरण कति ध्वस्त भइसकेछ भनेर जान्नु भनेको अब त केही हुन नसक्ने रहेछ भनेर हात बाँधेर बस्नु होइन। बरू विपरीत, यहाँ अझै जेजति जीवनदायी प्रणाली बचेका छन्, तिनलाई बचाइराख्न र आफ्नो भविष्य पुरापुर नारकीय बन्नबाट रोक्न युद्धस्तरमा काम गर्न प्रेरित हुनु हो।
त्यो कुरा देखाउन मैले किताबमा एउटा आँकडा उद्धृत गरेको छु — पृथ्वीको तापक्रम वृद्धि जम्मा ०.१ डिग्री सेल्सियस बढ्नबाट रोक्नु भनेको यहाँका १ करोड ४० लाख मानिसहरूलाई थातथलोबाट लखेटिनबाट रोक्नु हो। त्यो भनेको दसौं लाखलाई भोकमरीबाट र दसौं हजारलाई अकाल मृत्युबाट जोगाउनु हो।
अर्थात्, उनीहरूलाई अन्धकारको पिँधसम्म यात्रा गराएपछि त्यहाँबाट उज्यालो यात्राका लागि प्रेरणा दिनु र बाटो देखाउनु पनि यसको उद्देश्य हो।
कथा सय, सन्देश एक
जलवायुका मुद्दामा पैरवी गर्न थालेयता मैले यो विषय बुझाउन प्रयोग गरेका अन्दाजी सय तरिकाहरूमध्ये यो किताब एक हो र यो लेख एक हो। यिनलाई पढेर पनि अझै यो मुद्दाको महत्ता नबुझ्नेका लागि थप एउटा किस्सा भनेर म यो लेख टुंग्याउँछु।
रूखबाट लडेको समयमा जुन बेला म अचेत थिएँ र मेरो चेतनाका बाँकी सारा ढोकाहरू बन्द थिए, त्यो बेला समेत मस्तिष्कको सास फेर्ने केन्द्र सक्रिय थियो। त्यही बेहोसीको बेलामा, चौतर्फी अन्धकारबीच मेरो चेतना कतै शून्यमा उडिरहेझैं भएका बेला समेत मलाई सास फेर्न गाह्रो भएको र सास रोकिएला कि जस्तो भएको धुमिल स्मरण छ।
सायद श्रीमतीले बाहिरबाट सास दिने बेलासम्म मेरो आफ्नै स्वासप्रश्वास पनि फर्किसकेको थियोर अनि उनले दिएको सास र मेरो प्राकृतिक सास ठोक्किएका थिए। अनि त्यो अवरोधलाई अचेत अवस्थामा रहेको मेरो मस्तिष्कले बोध गरेको थियो।
अब कल्पना गर्नुस् त, वायु प्रदूषणका कारण बर्सेनि अकालमा ज्यान गुमाउने हजारौं नेपालीले आफ्ना अन्तिम सासको संघर्ष भन्न सक्ने हो भने त्यहाँ कस्तो कथा लेखिन्छ होला? अन्तिम साससम्म पनि जो होसमै रहन्छन्, प्रदूषणका कारण खुम्चिँदै गएका तिनका फोक्सोहरूमा सासका लागि कति कठोर संघर्ष चल्छ होला?
विडम्बना के भने, तिनै ज्यान गुमाउनेमध्ये अधिकांशले अघिल्लो महिना वा वर्षसम्म करेसाबारी वा खेतबारी सफा गर्ने र मल बनाउने चक्करमा धुवाँको कुहिरीमण्डल हुने गरी झार, पातपतिंगर र नल–परालमा आगो लगाउँदै थिए। कतिले घाँस राम्रो पलाउँछ भनेर जंगलमा आगो झोस्दै थिए। बाटो सफा गर्ने नाममा प्लास्टिक, कपडाका टुक्राटाक्री र जुत्तासमेत जलाएर विषाक्त रसायन आफ्नै फोक्सोसम्म पुर्याउँदै थिए। छिमेकबाट कसैले घरमा स्वासप्रश्वासका बिरामी छन्, धुवाँ ननिकालिदेऊ न भन्दा उनीहरूसित झगडा समेत गर्दै थिए।
निमेषभरको गल्तीका कारण मृत्युको मुखमा पुगेर फर्कनुअघि नै मलाई सास फेर्ने हावाको महत्त्व बोध थियो।
मेरो यो अनुभव पढेपछि तपाईंहरूमध्ये केहीले पनि त्यो बोध गर्नुभयो र प्रकृतिलाई अलिकति फरक आँखाले हेर्न सिक्नुभयो भने त्यो मेरा लागि उपलब्धि हुनेछ।
मेरो पुस्तक पढेर सिंगो पर्यावरणमाथि मानिसले गरिरहेको ज्यानमारा ज्यादतीबारे बोध गर्नुभयो र यसलाई बचाउने काममा लाग्नुभयो भने त्यो त हामी सबैका लागि झनै ठूलो उपलब्धि हुनेछ।
***

(सांग्रिला मिडिया ग्रुपद्वारा प्रकाशित 'लाइफ इन क्राइसिस' यही मंसिर २५ गतेदेखि बजारमा उपलब्ध हुँदैछ।)
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्स (ट्विटर) @jiwan_kshetry