सबैलाई भनौँ
देश बनाउनलाई
भ्रष्ट्राचार अन्त्य गर्नलाई
स्वास्थ्य शिक्षाका निःशुल्क गर्नलाई
आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ!
लोकतन्त्रका लागि
विधिको शासनका लागि
युवा र भावी पुस्ताका लागि
सामाजिक सुरक्षा बढाउनका लागि
आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ!
सजिलो छ पार्टी खोल्न
कालो सूचिमा परे हुन्छ
प्रहरी रिपोर्ट चाहिँदैन
कर चुक्ता प्रमाणपत्र चाहिँदैन
आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ!
भाइरलहरू आउनुहोस्
पैसावाला आउनुहोस्
बाहुबली आउनुहोस्
निवृत्त प्रहरी, कर्मचारी, शिक्षक आउनुहोस्
आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ!
ठुला कुरा गरेर
गठबन्धन गरेर
बल द्रव्य प्रयोग गरेर
चुनावमा केही सिट जित्नु छ
आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ!
देश र जनता त देखाउनलाई हुन्
सांसद, मन्त्री बन्नलाई
धन, सम्पत्ति जोड्नलाई
ऐस, आराम गर्नलाई
आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ!