प्रकृतिमा भएका अनेकौँ प्राणीहरुमध्ये मानव एक मात्रै बुद्धिमान वा चेतनशील प्राणी हो। मानव आफैँमा सृष्टिको सुन्दर रचना मात्र होइन, सृष्टि संचालन गर्ने जिवित अस्त्र पनि हो। यद्यपि हामी यति चेतनशील हुँदाहुँदै पनि कतिपय हाम्रा गतिविधिले पटक पटक हामीलाई नै हानी पुर्याउने गरेको पाइएको छ।
मानव इतिहास हेर्ने हो भने पटकपटक विभिन्न प्रकारका मानवीय संकटहरु उत्पन्न हुने गरेको छ। त्यसबाट ठूलो परिमाणमा मानवीय क्षति हुने गरेको पाइएको छ। खासगरी प्राकृतिक प्रकोप, युद्ध, भोकमरी तथा महामारी आदिको कारण कैयौँ मानिसले अकालमै ज्यान गुमाउनु परेको दर्दनाक इतिहास पाउन सकिन्छ।
कतिपय हुने ठूला क्षतिहरु मानवीय प्रयत्नभित्र नियन्त्रण हुन्छन् भने कतिपय मानवीय प्रयत्नभन्दा बाहिर हुन्छन्। यस प्रकारका केही महासंकटमध्ये रोगबाट उत्पन्न हुने संकट अर्थात विश्व महामारीका बारेमा केहि ऐतिहासिक तथ्यहरुको जानकारी पस्कने जमर्को गरिएको छ।
एचआइभी/एड्स महामारी
सन् १९७६ सालतिर प्रजातान्त्रिक गणतन्त्र कंगोबाट एचआइभी/एड्स रोगको पहिचान भएर यसको सुरुवात भएको पाइन्छ। यो रोगलाई पनि एक प्रकारले महामारीको रुप लिएको मानिन्छ। सन् १९८१ देखि २०१२ सम्ममा करिब ३ करोड ६० लाख मानिसको उक्त रोगका कारण मृत्यु भएको कुरा एमपिएच अनलाइन (www.mphonline.org)को वेवसाइटमा उल्लेख छ।
एचआइभी/एड्सबाट हाल करिब ४ करोड मानिसहरु संक्रमित भएको पाइएको छ। जागरुकता बढ्दै जाँदा नयाँ उपचारहरु विकास भयो, जसको फलस्वरुप धेरै संक्रमितहरु भयमुक्त सफल जीवन बिताइरहेका छन्। यस प्रकार यस रोगबाट मृत्यु हुनेको दर करिब ५० प्रतिशतले घटेको पाइएको छ।
पछिल्लो अपडेट हेर्ने हो भने सन् २०१८ मा मात्र ७ लाख ७० हजार मानिसले एचआइभीका कारण ज्यान गुमाउनु परेको तथ्य विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको छ।
फ्लूजन्य महामारी
सन् १९६८ जुलाई १३ मा सर्वप्रथम हङकङ देखिएको यो भाइरस करिब १७ दिनभित्र सिँगापुर र भियतनाममा फैलिएको थियो भने तीन महिनाभित्र यसको फैलावट फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र संयुक्तराज्य अमेरिकासम्म भएको थियो। हङकङ फ्लूका नामले पनि चिनिने स्वाइन फ्लू महामारी रुपमा फैलिएको थियो।
यो फ्लू 'एच३एन२' नामक अनुवांशिक जिनबाट फैलिएको वैज्ञानिकले बताएका छन्। यो रोगबाट करिब १० लाख मानिसको मृत्यु भएको थियो भन्ने कुरा विभिन्न प्रतिवेदन तथा वेवसाइटमा पाइएको छ।
सन् १९५६ 'एच२एन२ ए' नामक फ्लूएन्जा नामक फ्लू चीनबाट फैलिएको थियो यसको अन्त्य सन् १९५८ मा मत्र भएको थियो। यी दुई वर्षका दौरानमा यो रोगले चीनको गुन्झाउबाट सिँगापुर, हङकङ र संयुक्त राज्य अमेरिकासम्म यात्रा गरेको थियो।
विभिन्न प्रकारका फ्लूजन्य रोग (स्वाइनफ्लू, बर्डफ्लू, एशियन फ्लू, इन्फ्लुएन्जा आदि) संक्रमणका कारण विश्वमा सन् १९१८ देखि यता करिब दुई करोडदेखि पाँच ५ करोड मानिसले ज्यान गुमाउनु परेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।
हैजा महामारी
विश्व इतिहास केलाउँदा हैजा महामारीले पनि भारि संख्यामा जनको मृत्यको कारक बनेको देखिन्छ। खासगरी सन् १३४६ यताको तथ्यांक हेर्दा हैजा महामारीका कारण विश्वका करिब ९० लाखभन्दा बढी मानिसको ज्यान गएको तथ्यांक छ।
जसमा सन् १८५२ तिर करिब १० लाख र सन् १९१० तिर ८० लाखभन्दा बढीको ज्यान गएको देखिन्छ। यो रोग 'भिव्रियो कोलेरिया' नामक जिवाणुबाट लाग्ने गर्दछ र यसको फैलावटको तीव्रता पनि एकदमै चाडो हुने गर्दछ।
प्लेग महामारी
सन् १३४६ तिर युरोपबाट फैलिएको बुवोनिक प्लेगले पनि विश्व भ्रमण गरेको पाइएको छ। यो रोग युरोप हुँदै अफ्रिका र एशिया महादेशमा फैलिएको थियो। त्यो समयमा करिब ७ करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान गएको देखिन्छ।
त्यसैगरी एन्टोनिन प्लेग सन् १६५ मा मेसोपोटामियामा देखा परेको थियो। यो रोगबाट एशिया माइनर, इजिप्ट, ग्रीस, र इटालीमा ठुलै मानव क्षति भएको थियो। यो रोग खासगरी कुन जिवाणुबाट हो भन्ने यकिन नभएको कुरा उल्लेख गरिएको छ। यो रोगबाट सामान्य नागरिक तथा रोमन आर्मीसहित करिब ५० लाखभन्दा बढीको ज्यान गएको जनाइएको छ।
फरक फरक समयमा आएको यो प्लेग महामारीका कारण करिब २० करोड ५० लाखभन्दा बढी मानिसको ज्यान गएको विभिन्न वेवसाइटमा उल्लेख प्रतिवेदनमा पाइएको छ।
मृत्यु भएको संख्या
एचआइभी/एड्स महामारी- ३ करोड ६७ लाख
फ्लूजन्य महामारी- २ करोड देखि ५ करोड
हैजा महामारी- १ करोड देखि ८० लाख
प्लेग महामारी- ८ करोड देखि १० करोड
यस प्रकार विश्वको महामारीको इतिहासलाई अध्ययन गर्ने हो भने ठूलो संख्यामा ज्यान गएको देखिन्छ। यसको सकरात्मक पक्ष के छ भने यो मानवीय प्रयत्नका कारण नियन्त्रणमा आउने गरेको देखिन्छ। यदि मानवीय गतिविधि तथा यसको सावधानीमा हेलचेक्र्याइका कारण कुनै रोग पुन: पनि देखा परेको पाइएको छ।
यसमा खासगरी हैजा, फ्लूजन्य रोग, प्लेग आदि रोगहरु पटकपटक देखा पर्ने गरेको पाइएको छ। एचआइभी/एड्स महामारीको रुपमा नभएपनि यसको भने निरन्तरता कायमै छ। यसबाट के स्पष्ट हुन्छ भने यदि सावधानीका पर्याप्त उपाय अवलम्बन गर्ने हो भने यस प्रकारका महामारीजन्य रोगहरुसँग लड्न सकिन्छ।
प्राय रोगहरु मानव असावधानीका कारण उत्पन्न हुने भएकोले मानव सावधानी तथा जानकारीको ठूलो महत्व रहीआएको छ। त्यसैले सर्वप्रथम मानवचेतना अर्थात जनचेतनाको लेवल उच्च हुनु जरुरी छ, अनि यस प्रकारका महासंकटबाट पार पाउन सकिने कुरामा हामी सबैले आत्मविस्वासका साथ लाग्नु पर्ने आजको आवश्यकता हो।
हाल विश्व कोभिड-१९ बाट प्रभावित चरणमा छ। विश्व समुदाय त्रसित छ। हरेक मुलुकले यसको रोकथामको लागि विभिन्न रणनीतिहरु अबलम्बन गरेको छ। यसमा के छ भने, यो रोग सर्ने दर निकै सजिलै र एकदम चाँडो एक प्रभावित व्यक्तिबाट अर्को साधारण व्यक्तिमा सर्ने हुन्छ।
त्यसकारण विभिन्न देशका सरकार अनि स्वास्थ्य क्षेत्रका विद्वानहरुले दिएको सल्लाह तथा उपायअनुसार हरेक नागरिकले नियम तथा कर्तव्यको पालन गर्नुपर्ने देखिन्छ। अन्यथा यसको परिणात निकै डरलाग्दो हुन जानेछ।
यस कारण हामी आफ्नो तथा परिवारको ज्यानलाई ठट्टाका रुपमा नसम्झी गम्भीर रुपमा सरकार, स्वास्थ्य निकाय तथा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेका नियम तथा उपदेशको उचित पालन गर्नु हाम्रो पहिलो कर्तव्य हो। हामी सबैले यसै गर्नेछौँ भन्नेमा विस्वास छ।
नोट: तथ्यांकको श्रोत विश्व स्वास्थ्य संगठनको वेवसाइट र www.mphonline.org मा भएका तथ्यांकलार्इ आधार मानेर यो लेख तयार पारिएको छ।
(लेखक स्वास्थ्य बीमा बोर्डमा कार्यरत छन्।)