२०५६ सालतिर, प्लस–टू पढ्दै गर्दा मदन घिमिरे सहकारी संस्थाको पैसा संकलनको काम गर्थे। साइकल चढेर बचतकर्ताको घर, पसल चहार्दै नगद संकलन गर्ने उनको काम थियो।
बिस्तारै उनले सहकारीको पासबुक जाँच गर्ने काम पाए। पछि सहकारीको काम छाडे। विभिन्न उद्योग, व्यवसायमा लेखापालको काम गर्न थाले।
४३ वर्षीय मदन अहिले चितवन उद्योग संघका अध्यक्ष हुन्।
यो संस्थामा १२ सय वटाभन्दा बढी उद्योगीहरू दर्ता छन्। चितवन उद्योग संघ घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग परिसंघको चितवन शाखा हो। सहकारी संस्थाको 'मनी कलेक्टर' बाट काम सुरू गरेका मदनले विभिन्न उद्योगहरूमा लेखापालको काम गर्दै अहिले चितवनमा सफल उद्यमीको परिचय बनाएका छन्।
स्नातक तह पढ्ने क्रममा मदन एउटा कृषिजन्य औषधि उद्योगमा लेखापालको काम गर्थे। त्यहाँ काम गर्दै जाँदा उनले नेपालमा कृषिजन्य औषधिको बजारबारे राम्ररी थाहा पाए।
उद्योगीसँगको सामिप्यताले उनमा उद्यमतर्फ रस बस्दै थियो। तर लगानी गर्न पैसा थिएन।
२०६५ सालमा स्नातकोत्तर तह उत्तीर्ण भएपछि मदनले विद्यावारिधिका लागि कुनै देश जाने मानसिकता बनाएका थिए। त्यसका लागि उनले भाषाका कक्षाहरू समेत पढेका थिए।
'त्यही सिलसिलामा मैले केही साथीहरूलाई नेपालमा कृषिजन्य औषधि उद्योग चलाउन सकिने सम्भावनाबारे बताएँ। मेरो कुरामा उनीहरूले सहमति जनाए। सामूहिक लगानीमा उद्योग सुरू गर्ने निर्णय गरियो,' मदनले भने, 'यहीँबाट मेरो बाटो मोडियो। त्यसपछि विदेशिने सपना कहिल्यै देखिनँ।'
मदनसहित उनका साथीहरू उमेशकुमार राना, वासुदेव दवाडी, प्रकाशचन्द्र लम्साल र बुद्धिप्रसाद बरालले भरतपुर–७ कृष्णपुरमा बन्द भएको काँटी उद्योगको भवन भाडामा लिएर उद्योग सुरू गरेका थिए।
२५ लाख रूपैयाँ लगानीमा सुरू गरेको उद्योगको नाम गोल्डेन एग्रो प्रालि राखियो। करिब पाँच वर्षपछि उद्योग भरतपुर–१६ स्थित आफ्नै जमिनमा, आफ्नै भवनमा सर्यो।
'सुरूको वर्ष हामीले खेतीपातीका लागि माटोमा जिंकको मात्रा मिलाउने सुक्ष्म खनिज तत्व गोल्डेन जिंक उत्पादन गर्यौं। चार वर्षपछि उत्पादन ५ वटा पुर्याइयो। अहिले ३७ प्रकारका उत्पादनहरू तयार पारेर बिक्री गर्दै आएका छौं,' उद्योगका प्रबन्ध निर्देशक मदनले भने, 'तराई र पहाडका ६६ जिल्लामा हाम्रो उत्पादन पुगेको छ।'
अहिले यो उद्योगले खेतीबालीमा प्रयोग हुने सबै प्रकारका अर्गानिक र केमिकल औषधिहरूको उत्पादन र बिक्री गर्दै आएको छ।
गोल्डेन एग्रोका उत्पादन बिक्री गर्ने एक सय ३० वटा डिलर र सात सय ५० वटा पसल छन्। नौ हजार ८ सय किसानले यसको नियमित प्रयोग गर्ने मदनले बताए।
'७५ हजार जनाभन्दा बढी किसानले हाम्रो उत्पादन प्रयोग गर्छन्। तराईका सबैजसो बाली र पहाडका सुन्तला, कागती खेतीरमा प्रयोग हुन्छ,' उनले भने।

गोल्डेन एग्रोमा अहिले ४४ जना काम गर्छन्। २५ लाख रूपैयाँमा सुरू भएको उद्योगको लगानी अहिले १५ करोड रूपैयाँ पुगेको छ।
मदन भरतपुरमा रहेको चितवन मिड टाउन (सिएमटी) होटलका प्रबन्ध निर्देशक पनि हुन्। पचास जनाभन्दा बढीको लगानी रहेको यो चितवनको 'थ्री स्टार' मापदण्डको होटल हो। ३० करोड रूपैयाँ लगानी रहेको होटलमा ७० जनाले रोजगारी पाएका छन्।
सामूहिक लगानीमै स्थापना गरिएको ग्ल्यामर डेकोर हबका अध्यक्ष पनि हुन् मदन। भरतपुर–५ स्थित ग्ल्यामर डेकोरले घरहरूमा फर्निसिङ तथा इन्टेरियर डिजाइनको काम गर्छ। यहाँ दस जनाले ५ करोड रूपैयाँ लगानी गरेका छन्। चार वर्षअघि स्थापना भएको ग्ल्यामर डेकोरमा २३ जनाले रोजगारी पाएका छन्।
नारायणघाट जेसिज, स्वस्तिक नेपाल, रोटरी क्लब अफ नारायणी मिड टाउन लगायतका सामाजिक संस्थामा आबद्ध भएर मदनले नेतृत्व विकास र सेवाका काम पनि गरिरहेका छन्।
मदन २०६८ सालमा चितवन उद्योग संघ प्रवेश गरेका हुन्। संघमा उनी एक पटक कोषाध्यक्ष र चार पटक उपाध्यक्ष भएर काम गरेका थिए। २०८१ भदौमा वरिष्ठ उपाध्यक्ष भएका उनलाई असोजबाटै कार्यवाहक अध्यक्षको जिम्मेवारी आएको थियो। संघको १८ औं अधिवेशनबाट उनी १६ औं अध्यक्ष बनेका हुन्।
उनले संघमा रहँदा विभिन्न तहका सरकारसँग कर प्रणालीबारे समन्वय गर्ने, उद्योगीहरूलाई तालिम प्रदान गर्ने, एक्स्पो सेन्टरमार्फत औद्योगिक प्रवर्द्धन गर्ने, युवाहरूलाई उद्यममा प्रोत्साहन गर्नेजस्ता कामलाई महत्व दिँदै आएको बताए।
आफ्नो व्यवसायतर्फ मदनको लक्ष्य कृषिका आधुनिक उपकरण तथा व्यावसायिक रूपमा सफल रहेका उत्पादनका बीउहरू आयात गर्नु हो। यसका लागि उनको समूहले दाङ र मकवानपुरका सहकारी संस्थासँग सहकार्य गरेर अध्ययन गरिरहेको छ। उनीहरूले अहिले कीटनाशक, झारनाशक, ढुसीनाशक विषादी पनि आयात गरिरहेका छन्।
'नेपालमा धेरै कृषिजन्य औषधि, विषादीहरू अवैध रूपमा आयात भइरहेको छ। खुला सीमाबाट हुने अवैध आयातले देशलाई घाटा भइरहेको छ। अर्कोतिर गुणस्तरहीन सामान बजारमा पुगिरहेको छ। यसलाई रोक्दै वैध रूपमा स्तरीय सामग्री आयात गर्नुपर्छ। हामीले देशमा उत्पादन गर्ने लाइसेन्स नभएका उत्पादन आयात गरिरहेका छौं,' मदनले भने, 'किसानहरूमा चेतना वृद्धि गर्ने कार्यक्रमहरू पनि गरिरहेका छौं।'
कोरोना महामारीपछि स्वदेशी उत्पादनको महत्व बढ्दै गएको अनुभव उनले गरेका छन्। पहिले स्थानीय कम्पनी, नयाँ कम्पनी भनेर नाक खुम्च्याउने, हेपाहा नजरले हेर्ने उपभोक्ताहरूले पनि अचेल स्वदेशी उत्पादन खोजेर प्रयोग गर्न थालेको उनी बताउँछन्।
'सुरूमा त हामीलाई धेरै नै गाह्रो भएको थियो। बजार विस्तार गर्न निकै गाह्रो भयो। किसानले उत्पादन प्रयोग गरेपछि मन पराउन थाल्नुभयो,' घिमिरेले भने, 'अचेल उत्पादनको खोल बोकेर पसल आउनुहुन्छ। यही चाहियो भन्ने भएको छ।'
यति हुँदा पनि उद्योगीहरूलाई देशको आर्थिक नीतिले समस्यामा पारिरहेको मदन बताउँछन्।
उनका अनुसार नेपाल आयात गरिने 'प्याकिङ मटेरियल्स' मा भन्सार शुल्क अत्यधिक छ। यसले यहाँको उत्पादनको मूल्य बढी पर्न जान्छ। नेपालको उत्पादनमा लागत मूल्य बढ्दा भारतबाट आउने तयारी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेको उनी बताउँछन्।
'गत आर्थिक वर्षबाट त कृषि औषधिमा पनि भ्याट लगाउन थालियो। १३ प्रतिशत बोझ थपिएको छ,' मदनले भने, 'सरकारले उद्योग, व्यवसाय टिक्ने गरि नीति, नियम बनाइदिनुपर्छ। अहिले धेरै पेल्ने काम भएको छ।'
साथै किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य, बीमाको व्यवस्था भए कृषि क्षेत्र फस्टाउने मदन बताउँछन्।