तीन लाख तीस हजार जनसंख्याको टापू देश आइसल्यान्डले जारी विश्वकपमा सानदार सुरुवात गर्यो। पहिलो खेलमा गत विश्वकपको उपविजेता अर्जेन्टिनालाई बराबरीमा रोकेर सनसनी मच्याएको आइसल्यान्डले दोस्रो खेलमा आज नाइजेरियाको सामना गर्दैछ।
पहिलो खेल क्रोएसियासँग २-० ले गुमाएको नाइजेरिया आज आइसल्यान्डलाई पराजित गरेर नक आउट चरणको सम्भावना कायमै राख्ने दाउमा छ।
आइसल्यान्ड नाइजेरियालाई पराजित गरेर ३ अंक बटुल्न चाहन्छ।
क्रोएसियाविरुद्धको पहिलो खेलमा अनुपस्थित नाइजेरियाका ओजिनी ओनाजी आज मैदानमा फर्कने सम्भावना छ। उनी टर्किस क्लबबाट व्यावसायिक फुटबल खेल्छन्।
अर्कोतर्फ आइसल्यान्डले ओहान बर्ग गुडमन्सनलाई गुमाउनेछ। उनी अर्जेन्टिनासँगको खेलमा घाइते भएका छन्। गुडमन्सन प्रिमियर लिग क्लब बर्नलीका विङ्गर हुन्। क्रोएसियासँगको खेलमा नाइजेरियाको डिफेन्स लाइन कमजोर देखिएको थियो। युवा खेलाडी भएकाले नाइजेरियामा अनुभवको समेत केही कमी देखिएको छ।
अर्कोतर्फ आइसल्यान्डले लामो पास खेल्ने गरेको छ। जसका कारण नाइजेरियाको डिफेन्समाथि भारी पर्न सक्छ।
अहिलेसम्म आइसल्यान्ड र नाइजेरिया एकपटक मात्र भिडेका छन्। सन् १९८१ मा भएको मैत्रीपूर्ण खेल नाइजेरियाले ३-०ले गुमाएको थियो।
नाइजेरियाले युरोपियन टोलीविरुद्ध सधैँ जित निकाल्दै आएको छ। विश्वकपमा प्रतियोगितामा हात पारेको पाँच जितमा नै नाइजेरियाले युरोपेली टोलीलाई पराजित गरेको छ। विश्वकपका अन्य ११ खेलमा भने नाइजेरियाले गोल गर्न सकेको छैन। आजको खेलमा हार बेहोरे नाइजेरिया विश्वकपबाट बाहिरिनेछ।
अल्फ्रेड फिनबोगासन आइसल्यान्डका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। उनले पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्। यद्यपी तीन वटै खेलमा आइसल्यान्डले जीत निकाल्न सकेको छैन। फिनबोगासन जर्मन लिग बुण्डेसालिगा खेल्ने खेलाडी हुन्।
आइसल्यान्ड पछिल्लो समय फिनिसिङमा चुकिरहेको छ। अर्जेन्टिनाविरुद्धको खेलमा पहिलो हाफमा पाएको ८ मौकामा आइसल्यान्ड गोल गर्नबाट चुकेको थियो। नाइजेरियाका कप्तान जेन मिकेल ओबीले आफ्नो टोली स्पष्ट जीतको खोजीमा रहेको र त्यसका लागि आफू जुनसकै पोजिसनबाट खेल्न तयार रहेको बताएका छन्।
‘म नाइजेरियाको कप्तान हुँ, म यो टोलीको प्रगतिमा त्याग गर्न पनि तयार छु। चाहे त्यो मेरो खेलको पोजिसन नै किन नहोस्। म सबैथोक गर्न तयार छु। मात्र हाम्रो टोलीको जितका लागि’, ओबीले भनेका छन्।
उनी मिडफिल्डर हुन्। भोल्गोग्राड मैदान नाइजेरियाका लागि सहज छ। किनभने रसियाका अन्य स्थानको तुलनामा त्यहाँ गर्मी छ।
आइसल्यान्डका लागि भोल्गोग्राड मैदान घरेलु मैदानजस्तै हुनेछ।
आइसल्यान्डका समर्थक ठूलो संख्यामा रसिया आइसकेका छन्। खेल नेपाली समय अनुसार पौने साँझ ९ बजे सुरु हुनेछ।