‘तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधैँ चोट पायौँ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ’
स्वर सम्राट नारायण गोपालद्वारा स्वरबद्ध अनि दिव्य खालिङको संगीत रहेको यस कालजयी गीत कोरिँदा बखत उनी न कसैको प्रणय थिए न प्रीत नै सम्भवतः! उनी भित्रको कवि संवेदनले उडान भर्दै थिए। सर्लाही जिल्ला तत्कालीन हरिवन गाउँमा जन्मेका कवि गीतकार दिनेश अधिकारी जुन बेला यो गीत कोर्दै थिए, त्यस बेला भर्खरैका अठार वर्ष किशोर उमेरका मात्र रहेछन्। उनकै शब्दमा भन्दा सुसेली काट्दै अथवा भनूँ चैते बतास जस्तै बतासिने उमेरका उनी काठमाडौँमा बसी निस्फिक्रीले ल कलेजमा पढ्दै थिए।
उनी आफ्नो रहरलाग्दो विगत स्मरण गर्छन्– ‘यो गीत लेख्दा मभित्र न कसैसँग प्रेम पलाएको थियो न म प्रेमी नै थिएँ।’ तर गीतकारको यो अस्वीकार्यता उनका श्रोताका लागि सहज स्वीकार्य नहोला। रमाइलो विगतको यथार्थ यही हो अनि मान्न करै लाग्छ। एक नवयुवकले विद्यार्थी छँदा देखेको सुनेको भरमा एक प्रेमी हुनुको परिकल्पना गर्दै आफ्नी प्रियसीलाई पोखेका यी प्रीतका भावमय शब्दहरू जति पटक दोहोर्याई तेहेर्याई श्रोताहरूले सुन्छन्, लाग्छ रचयिताले आफ्नै हृदयभित्रको आवाजलाई शब्दको स्वरूप दिएका छन्।
आम जनमानसले सहज बुझ्न सक्ने सरल मिठासपूर्ण शैलीका शब्द उन्न सक्ने खुबीले नै उनी सशक्त कवि लोकप्रिय गीतकार दिनेश अधिकारीका रूपमा नेपाली सांगीतिक आकाशमा कहिल्यै भुल्न नसकिने नाम बन्न पुगेका छन्। सुरुवाती चरणमा सोखले त कहिले रहरले लेखेका गीतहरूको चर्चाले उनीभित्रको गीत लेखनलाई आत्मबल पाएर कवि तथा रचनाकारका रूपमा उनी नेपाली साहित्य आकाशमा उडान भर्दै गए।
कानुनका विद्यार्थी कवि गीतकार दिनेश अधिकारीले आफूभित्रको मानवीय संवेदना मनका आवाजलाई सर्लक्क एकातिर पन्छ्याउनै सकेनन्। आफू वरपरका सामाजिक परिवेश अनि यसै समाजका स–साना घटनाले उनीभित्रको कोमलतालाई झन् प्रगाढ बनाउँदै लगेछ। पढाइले गति लिएसँगै कलेजका सहपाठी साथीसंगी बिच प्रेम सम्बन्ध बन्ने र यदाकदा छुट्ने घटनाहरू जति-जति कानमा ठोकिन्थे, उनी भित्रको ब्युँतिँदैका कवि मनलाई लाग्यो कि छोड्नेले सजिलैसँग भन्ने कुरा– अब मलाई बिर्सिदिनू तर यो त एक पक्षको कुरो भयो, अर्को पक्षले यो परिस्थितिलाई कसरी पचाउला? बिर्स भन्दैमा बिर्सन सम्भव होला र? सुन्दा साधारण लाग्ने यो कुराले त्यतिखेर उनको मनस्थिति खलबलियो र यही भावसँगै चौबिस वर्ष उमेर पुग्दैका दिनेश अधिकारीले कोरे-
‘यो सम्झिने मन छ, म बिर्सूँ कसोरी
तिमी नै भनिदेऊ! ए, जाने निठुरी
यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका’
दश पङ्क्ति रहेको यस गीतका हरेक शब्द-शब्द चार दशक अघि मात्र होइन, आज पर्यन्तसम्म सबको ढुकढुकीमा जम्न पुग्यो। भनिन्छ, त्यति बेला यस गीतले नारायण गोपालको लोकप्रियतालाई अझ आकाशिदियो।
गीतका शब्द लयालु हुनुपर्छ भन्ने मान्यताभन्दा बेग्लै धारमा बग्न रुचाउने रचनाकार अधिकारीले यस गीतमा कोरेका छन् ‘न सक्छु म आकाश चिथोरेर फेर्न।’ चलनचल्तीमा जे छ त्यसैलाई चुपचाप स्विकार्दैनन् उनी, न त पछ्याउँछन् उनी ‘कसरी’ को सट्टा ‘कसोरी’, निष्ठुरीको सट्टा ‘निठुरी’। यो सिलसिला समय क्रमसँगै बढ्दै अझ कालजयी गीत पनि कोरिँदै गए।
आफूले रचेका गीतको रचना गर्व खोल्दै भन्छन्– ‘गीतसंगीतमा नकार्न नसकिने एउटा यथार्थ के पनि हो भने गीतकार संगीतकारको तुलनामा गायक-गायिकालाई चिन्ने श्रोताहरूको बाहुल्य जताततै छ। कति पटक गीतकारको रूपमा आफूलाई चिनाउनु पर्दा मैले यही गीतलाई अगाडि सारेको छु।’ विसं २०७४ सालमा प्रकाशित आफ्नो गीत सङ्ग्रहको नाम पनि ‘म बिर्सूँ कसोरी’ राखिनुको पछि यही तथ्य लुकेको उनी सहर्ष स्विकार्छन्।
‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ हरेक मान्छेका लागि आफ्नै कथा हो कि जस्तो लाग्ने यो गीतको विषयवस्तु गीतमै अन्तर्निहित छ। बिस वर्षे उमेरमै रचेको प्रस्तुत गीतलाई नातिकाजीको संगीत र तारादेवीको गायनले जीवन्त बनाइदिएको स्वयं गीतकारलाई लाग्छ।
‘तिमी यसै लजायौ, म उसै धकाएँ, न बोल्यौ तिमी नै, न मैले बोलाएँ’ राम थापाको संगीत रहेको उनको यस गीतले त झन् यस गीतका गायक रविन शर्मा र उनलाई एकैसाथ सांगीतिक क्षेत्रमा स्थापित गराउन सहायक सिद्ध हुन पुग्यो। यो गीतको लोकप्रियताको कारणले गर्दा कविताको दुनियाँमा रमाइरहेका कवि दिनेश अधिकारीलाई एकाएक गीत लेखनतिर मन तानिएछ र एकपछि अर्को उनका गीत रेकर्ड हुन मात्र थालेसँगै यी गीतहरूले लोकप्रियताको उचाइमा पुर्याउनमा सहायक भइदियो।
पेसागत जिम्मेवारीले नेपालका गाउँ-सहरका कुनाकाप्चा छिचोल्ने क्रममा फरक सामाजिक सांस्कृतिक तथा भौगोलिक परिवेशमा टेक्न पुगे। उनी भित्रको कवि गीतकार पनि साथैमा पुगे। समाजमा न्याय अन्यायको वकालत गर्ने पेसागत जिम्मेवारीसँगै उनीभित्र माया प्रेमका दृष्टि मानवीय हेराई निखारिँदै गयो।
ठट्टा शैलीमा भन्ने चलन छ कि- सिंहदरबारका उच्च ओहदामा आसीन आधाभन्दा बढी व्यक्तित्व त कवि साहित्यकार नै छन्। असङ्ख्य जिम्मेवारीको भार, तनावबिच आफूलाई सामान्य बनाइराख्नमा साहित्यले शीतलता प्रदान गराइदिँदो हो पक्कै तर यहाँ स्वीकार गर्नै पर्ने पक्ष, सबका कलममा दिनेश अधिकारीको झैँ शब्दको त्यो जादुमय कलाले सजिएका हात भएनन्।
एकै व्यक्तिभित्रको दुई भिन्न शैली। जति सशक्त कवि उति नै लोकप्रिय गीतका रचयिता। जसका शब्दमा स्वर भर्न हर पुस्ताका गायकगायिका संगीतकारहरू त्यति बेला पनि हरदम तयार हुन्थे, आजपर्यन्त उस्तै। ती थोरै खोजिने सबको रोजाइमा पर्ने। दशकौँ अघि नै आफ्ना सिर्जनाले मदन पुरस्कार प्राप्त गरिसकेका कवि दिनेश अधिकारी मुखमै झुन्डिने नाम हुन् जसले नेपाली साहित्यलाई संगीतसँग जोडिराखेका छन्।
दिनेश अधिकारीको परिचय नेपाली सुगम संगीतमा कालजयी गीतका रचयिताका रूपमा स्थापित छ। यो नाम यतिमा मात्र कहाँ सीमित छ र; नेपाली चलचित्रका लोकप्रिय गीतकारको नाम लिँदा उनको नाम भुल्न सकिँदैन। विसं २०४१ सालमा जागिरेको कारण बैतडीमा कार्यरत छँदा बखत त्यो वर्ष उनले दिदी बहिनीको हातबाट टीका लगाउन पाएनन्। यसले उनको मनलाई साह्रै खिन्न तुल्याइदियो। तिहारको सम्झनाले व्यथित उनको मनको बहलाई पोख्ने अवसर दिएछन् उनका मित्र कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभले।
निर्देशक शलभबाट नेपाली कथानक चलचित्र ‘विजय पराजय’का लागि दुई वटा गीत लेख्ने जिम्मेवारी पाएका उनले तिहारमा बहिनीको भावना समेटेर गीत लेखे। गीतमा उनले बैतडीमा छँदा बखत भाइटीका लगाउन नपाउँदा छटपटिएको सोही पीडालाई सम्झे अनि कोरे–
‘तिहारमा लर्काएर सप्तरङ्गी टिको, हिँडिरहनु सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले, जता पनि पुग दाजै घामभन्दा पहिले’
गीतमा दाजु-बहिनीको अभिव्यक्ति त पाएको छ नै थपमा भाइटीकाको रमाइलो र यसको सांस्कृतिक पक्षलाई उजागर गरेका छन्। एक कविको कल्पना शक्ति निकै सशक्त हुँदो रहेछ। ऊ आफ्नो कल्पना शक्तिले जहाँ जे पनि बन्न सक्दो रहेछ। मानौँ उनीहरू शब्दहरूका जन्मदाता हुन्, आफ्नो कल्पनाशीलताको गर्भले शब्दको सिर्जना गरी नवजीवन दिए झैँ।
एक नवयुवक कविले आफूलाई कलकलाउँदो प्यारी बहिनीको स्वरूप ढाल्दै तिहारमा रमाउँदै आफ्ना दाजुभाइहरूको जीवनमा कुनै बाधा अर्चन नआउन् भन्ने भावलाई सुन्दर ढङ्गमा उतारेका छन्। नेपाली चलचित्रमा तिहार र भाइटीकाको महत्त्व दर्साउने यस गीतबारे उनी भन्छन्– ‘यो सधैँ बज्ने गीत होइन तर अहिलेसम्म पनि तिहारमा यो गीत सबैतिर गुन्जिएको पाउँदा मन एक किसिमको पुलकित हुने गर्छ।’
नेपाली चलचित्रमा उनले रचेका गीतको लोकप्रियताका कथा निकै लामा छन्।
दुब्ला पातलो ज्यान, अग्लो कदका सर्जक दिनेश अधिकारी जो कुराकानी गर्दै खुलेर हाँस्छन् अनि सुन्दर भविष्यको परिकल्पनाको सागरमा डुबुल्की मार्दै स्वच्छन्द जीवन बाँच्न मन पराउँछन्। उनी भित्रको कवि तथा गीतकारले समय क्रमसँगै अझ उँचो उडान भर्दै नेपाली साहित्य र संगीतलाई कहिल्यै भुल्न नदिने सिर्जना सजाउँदै गए।
पेसागत जिम्मेवारी बहन गर्दै जाने क्रममा नेपाल सरकारको जागिरे दिनेश अधिकारीलाई उच्च ओहोदासम्म पुर्याइदियो। अहोरात्र खटिने उनका न कदम थाके न कलम नै रोकिए। उनको सृजनशीलतामा उमेरले असर छोड्नै सकेनन्। वर्तमान समयमा जागिरबाट अवकाश प्राप्त तर सर्जक अनि साधक कहिल्यै अवकाश प्राप्त हुँदैनन्, उनीहरू त झन् माझिँदै खारिँदै पो जान्छन् भन्ने तथ्यको सार्थकता उनलाई देख्दा लाग्छ।
‘शब्दको आयु लामो हुन्छ, यसमा समयको असर पर्न कठिन हुन्छ’ भने झैँ सर्जक साधक त निरन्तर क्रियाशील रहन्छन्, ऊ कहाँ कहिले पो रोकिएको छ र! यहाँ कवि गीतकार दिनेश अधिकारीका कलम पनि थामिएनन्। उनको कवित्व र कलम त निरन्तर सिर्जनारत नै छन्। फरक केवल कहिलेकाहीँ जीवनमा आइपर्ने भोगाइहरूले गतिलाई केही सुस्त बनाइदेलान्। तर उनी त कला साधक न हुन्; न कहिले थाक्छन् न रोकिन्छन्।