नेपालमा हात्ती भन्नाले पालिएको (क्याप्टिभ) र जंगली रूपमा रहेको हात्ती बुझिन्छ। जंगली हात्तीको बासस्थान थोरै हुँदै गएको र संख्या बढेसँगै मानव र हात्तीबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको छ।
हात्तीहरूले बाबु–बाजे हिँडेको बाटो नै प्रयोग गर्ने हुँदा नेपालमा मात्र बसोबास गर्ने नभई मौसमी रूपमा मित्रराष्ट्र भारतबाट पनि आउने–जाने हात्तीहरू छन्। जंगली जनावर संरक्षण गर्नु हामी सबैको दायित्व हो। जंगली मात्र नभई साइटिस–१ मा सूचीकृत जनावरको संरक्षण गर्नु अझ महत्वपूर्ण छ।
तर हात्तीको संरक्षण मानव समाजका लागि चुनौतीका रूपमा देखिएको छ।
गत पाँच वर्षको तथ्यांक हेर्ने हो भने मानव र हात्तीबीचको द्वन्द्वका कारण नेपालमा ठूलो संख्यामा जंगली हात्तीको मृत्यु भएको छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने हामीसँग घरपालुवा हात्तीका सन्तान उत्पादनका लागि पालुवा भाले तयार गर्न निकै गाह्रो छ। त्यसैले जंगली हात्तीमै निर्भर हुनुपर्छ।
यसले गर्दा जंगली हात्तीको संरक्षण झनै महत्त्वपूर्ण बनेको छ।
वन–जंगल संरक्षणमा हात्तीको अभाव हुँदा नेपाल सरकारले विगतमा मित्रराष्ट्र भारतलाई चार वटा गैंडा दिई सोह्र वटा हात्ती लिएको थियो। नेपालले जंगलीको बच्चा हात्ती समातेर पालन–पोषण गरेको, थाइल्यान्डबाट हात्ती उपहार लिएको र तराईका महाजनसँग हात्ती किनेको तथ्यांक छन्।
हाल नेपाल सरकारको संरक्षणमा रहेका १०५ हात्तीमध्ये ७६ वटा नेपालमै जन्मिएका हुन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका ७ मध्ये २ नेपालमै जन्मिएका छन्। निजी रूपमा रहेका ७३ हात्तीमध्ये १३ नेपालमै जन्मिएका हुन्।
नेपालमा हाल रहेका पालुवा हात्ती १८५ मध्ये ९१ वटा नेपालमै जन्मिएका हुन्।
यदि जंगली हात्ती नभएको भए एक–दुई दशकपछि हात्ती चिडियाखाना र मूर्तिमा मात्रै सीमित हुने स्थिति आउँथ्यो। जंगली हात्ती र उत्पादनयोग्य पालुवा पोथी हात्तीको थप संरक्षण हुन सके मानवको पनि संरक्षण हुने कुरा नकार्न सकिँदैन।
आपतकालीन अवस्था, बाढी, समस्याग्रस्त वन्यजन्तु नियन्त्रण, सुरक्षा–संरक्षण, पर्यटन सुरक्षा आदि क्षेत्रमा हात्तीको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी वा सरकारी नभनीकन संरक्षण गर्न सके मात्र दसौं पुस्तासम्म हात्ती रहनेछ र भावी पुस्तालाई हस्तान्तरण गर्न सकिनेछ।
कुनै समय आयात गर्नुपर्ने अवस्थामा रहेका हामी आज जंगली हात्तीका कारण राम्रो उत्पादन हुन थालेपछि कतारलाई दुई (भाले र पोथी) हात्ती उपहार स्वरूप दिन सक्ने अवस्थामा पुगेका छौं। यो नेपालीका लागि गर्वको कुरा हो।
विश्वमा हात्तीको संख्या घट्दै गएको स्थितिमा जंगली र पालुवा दुवै प्रकारका हात्तीको संरक्षणमा सबैले हातेमालो गर्नु आवश्यक देखिन्छ। नेपाल सरकार, वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, संरक्षणमा काम गर्ने संघ–संस्था तथा संरक्षणकर्मी सबैले साझा दायित्वसहित काम गर्न सके मानव–हात्ती द्वन्द्वका समस्या र क्षति कम गर्न सकिनेछ।
विगत २५ वर्षदेखि हात्ती र वन्यजन्तुसँग काम गर्दै आएको मेरो अनुभवमा जंगली हात्तीलाई नियन्त्रण वा समातेर पालुवा बनाउनु अत्यन्तै गाह्रो काम हो।
नेपाल सरकारले गर्दै आएको प्रयासले केही हदसम्म मानव–हात्तीबीचको समस्या र क्षति घटाएको भए पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन। त्यसैले समस्याग्रस्त हात्तीको पहिचान गर्नु आवश्यक छ।
समस्याग्रस्त हात्ती उमेर बढ्दै जाँदा वा केही समयपछि समस्याग्रस्त नहुन पनि सक्छन् र नयाँ हात्तीहरू थप समस्याग्रस्त बन्न सक्छन्।
हात्तीले विचरण गर्ने क्षेत्र पहिचान गरी उसले मनपराउने घाँस रोप्ने, एक र्यापिड रेस्पोन्स टिम बनाएर बानी–व्यवहार निरीक्षण गर्दै हात्तीलाई बस्तीमा प्रवेश रोक्ने विभिन्न प्रयास गर्नुपर्छ।
कहिलेकाहीँ जति प्रयास गरे पनि सम्भव नहुन सक्छ। त्यस्तो अवस्थामा समुदायलाई चेतनामूलक जानकारी दिनु— हात्ती हाम्रो क्षेत्रमा आएको होइन, यसको पुर्खाको विचरण क्षेत्र यही हो— जस्ता तथ्य बुझाउन सके सह–अस्तित्वको अभ्यासमार्फत समस्या र क्षति केही कम गर्न सकिन्छ।
विश्वमा उपलब्ध प्रविधिहरू—रियल टाइम कलरिङ, डार्टबाट हात्तीलाई शान्त पार्ने औषधि, आवश्यकता अनुसार डार्टमार्फत हर्मोन प्रयोग गरी बन्ध्याकरण— जस्ता उपाय गर्न सके मानव र हात्तीबीचको समस्या र क्षति कम हुने, जंगली हात्तीको मृत्युदर घट्ने तथा सह–अस्तित्वमा बाँच्न सिक्न सकिनेछ।
हात्तीमा कलरिङ गर्ने काम कठिन छ। नेपालमा जनावरलाई सुताएर काम गर्ने चलन छ। ४–६ टनका जंगली हात्ती स्थिर (इमोबिलाइज्ड) भएपछि ढल्ने क्रममा जमिन नमिल्दा ढलेर पेटले फोक्सो थिचिने, वा बसाइ नमिले बस्दा पनि क्षति हुनसक्ने जोखिम हुन्छ। यस्तो अवस्थामा प्राविधिकले केही गर्न नसक्ने हुँदा कहिलेकाहीँ कलरिङ क्रममा समस्या आउन सक्छ।
त्यसैले विकसित हुँदै गएको प्रविधिबाट जनावरलाई उठाएर सुरक्षित रूपमा स्थिर बनाइ कलरिङ गर्न सकिए क्षति कम गर्न सकिने देखिन्छ।
पालिएका सरकारी हात्तीमा खानपिनको समस्या नभए पनि हात्ती चालक माहुतहरू विभिन्न समस्याले ग्रस्त छन्। उनीहरूले दिन–रात नभनी ३६५ दिन काम गर्नुपर्छ। हात्तीले २४ घन्टामा १८ घन्टा खाना खानुपर्छ। त्यसैले चराउन, खाना खुवाउन, गस्ती गर्न, नियन्त्रणमा राख्न माहुतले निरन्तर व्यस्त रहनुपर्छ।
चराउने क्रममा आफ्नै हात्तीबाट माहुतको मृत्यु हुने घटनासमेत हुन्छ। सीमित सुविधामा कठोर काम गर्नुपर्दा माहुतको पेसा चुनौतीपूर्ण बन्दै गएको छ। हात्तीप्रतिको माया कमी हुनु, खानपिन अभाव, रोग देखिनु—यी सबै हात्ती संरक्षणका चुनौती हुन् जसमा सरोकारवालाले ध्यान दिनुपर्ने छ।
निजी हात्तीहरू पर्यटनसँग जोडिएकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र वरिपरि केन्द्रित छन्। २०२०/२१ मा टाइगर टप्स जंगल लज स्थापना संगै निजी हात्ती पर्यटन र वन्यजन्तु संरक्षण जोडिएको पाइन्छ।
२०७० सालतिर १४० को हाराहारीमा पुगेको निजी हात्ती संख्या विभिन्न कारणले घट्दै अहिले ७३ हाराहारीमा पुगेको छ। तीमध्ये ४५–५० हात्ती मात्र सफारी वा काममा प्रयोग गर्न सकिने अवस्थामा छन्।
हात्ती ठूलो जनावर भएकाले पालन–पोषण खर्चिलो हुन्छ। आर्थिक रूपमा नजोडिए निजी पालकले हात्ती पाल्न असम्भव हुन्छ। हात्तीको आयु लामो हुने भएकाले स्याहार–सुसार अनुसार जीवनकाल निर्धारण हुन्छ।
हाल पालुवा हात्ती नभएका क्षेत्रमा पनि जंगली हात्तीको उपस्थिति बढ्दै गएको छ, विशेषतः चितवन राष्ट्रिय निकुञ्ज वरिपरि समुदाय तथा निजी हात्ती भएको क्षेत्रमा जंगली हात्तीको प्रवेश बढी देखिन्छ।
सरकारी स्तरबाट निजी हात्तीलाई एकीकृत गरी बस्ती बाहिर, जंगल नजिक राख्ने प्रयास र छलफल प्रशंसनीय छ। छिटोभन्दा छिटो स्थान छनोट गरी पालन–पोषण र प्रजननका काम थाल्न सके निजी हात्तीबाट पर्यटनमा थप योगदान पुग्नेछ र नवसन्तान उत्पादनमा ठूलो भूमिका हुनेछ।
निजी हात्ती पालन महँगो भएकाले हात्तीबाट आम्दानी नहुँदा पालन सम्भव हुँदैन। यस्तो स्थितिमा हात्तीको कल्याणलाई प्राथमिकता दिई दिगो व्यवस्थापन गर्नु आवश्यक छ। हात्ती सफारीलाई केवल आय स्रोतका रूपमा नहेरी हात्तीको कल्याण र जीवनको हक सुनिश्चित गर्न पहल आवश्यक छ।
सरकारी र निजी हात्ती नभनीकन कल्याण, संरक्षण र दिगो व्यवस्थापनका लागि सबैको प्रयास अपरिहार्य छ।
हात्तीले सहजै गर्न सक्ने काममा लगाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने, उचित आहार–व्यवहारमा ध्यान दिने, माहुतको आत्मबल र सम्मान बढाउने, बुढा–असक्त हात्तीलाई सक्षम हात्तीबाट छुट्ट्याइएका आम्दानीका केही अंशबाट पालनपोषण गर्न सक्ने व्यवस्था भए मात्र हात्तीको हित हुन्छ, निजी हात्ती संख्या बढ्छ र एकीकृत व्यवस्थापनमार्फत जंगली हात्ती समस्यामा पनि केही हदसम्म सुधार आउन सक्छ।
(लेखक किरणराज रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, सौराहा–चितवनका भेटेरिनरी प्राविधिक हुन्)