अग्ला अग्ला पहाडको फेदीमा रहेको पातलो बस्ती, जहाँ थोरै जोडले कराउँदा पनि आवाज केही बेर प्रतिध्वनि भइरहन्छ अनि खोलाको सुसाइसँगै मिसिएर बेपत्ता हुन्छ। अनि फेरि खोलाको एकोहोरो सुसाइ मात्र सुनिन्छ। त्यही सङ्खु खोला र रावा खोलाको सङ्गमस्थल नजिकै छ, दिप्सुङ गाउँ। खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाका दुई छिमेकी गाउँ सुङ्देल र दिप्सुङ छपन्न सालमा गएको पहिरोले धनजनको ठुलो क्षति भएको ठाउँ हुन्।
धर्तीमा ओढाएको कालो पछौरा भोलि बिहान हटाउने बाचा गर्दै थकित सूर्य डाँडापारि ओर्लिसकेको थियो। धेरै दिनको लगातारको यात्राले थाकेका हामी दुई यात्री दिप्सुङ हुँदै सुङ्देल जाने क्रममा बास खोज्दै एउटा घरमा पुग्यौँ। छानो, कोठा सबै टिन र काठले नै बनाएको उक्त घरमा बास बस्ने निधो भयो। त्यहाँ बुबाआमाबाट छुट्टिएका छोरा-बुहारी बस्दा रहेछन्। छोरा घरमा थिएनन्। सासू-ससुरा, बुहारी र डेढ वर्ष जतिका बालक भेटिए।
दिउँसो गर्मी भए पनि बिहान बेलुका जाडो नै थियो। अगेनो वरिपरि बसेर आगो ताप्दै हाँसो मजाक गर्दै गरेको गफले थकानको घाउलाई केही शीतल बनायो। खाना खाएर सुत्ने बन्दोबस्त हुन थाल्यो। त्यही घरको माथिल्लो तलामा हामी, भुइँ तलामा सानो बालक र बुहारी अनि बुबाआमा केही पर रहेको घरमा गए। गलेर लखतरान भएका हामी ओछ्यानमा पल्टिनसाथ कति बेला निदाइयो पत्तै भएन।
रातको करिब एक बजे आएको डाङडुङ आवाजले मस्त निद्रामा रहेका हामी दुई बिउँझियौँ। के भएको हो अनुमान लगाउन खोज्दै गर्दा बाघको बिगबिगी छ भन्ने गाउँलेको कुरा याद आयो। त्यहाँ बाघले पशु-चौपाया खाने गरेको रहेछ। केही दिनअघि ऐँसेलुखर्कको ज्यामिरेमा दिउँसै प्रत्यक्ष बाघ देखेको थियौँ। सम्झिँदै मन चिसो भएर आयो। तर केही बेरमै सुनिएको आवाजले प्रस्ट बनायो कि बाघ नभई जाँड रक्सी पिएर आएका घरका छोरा रहेछन्।
ढोकाको चुक्कुल लगाउन बिर्सिएको रहेछौँ, हत्तपत्त उठेर लगाएँ। अपशब्दसहित खुकुरीले छिनाइदिन्छु भन्ने वाक्यको साथसाथै आवाजहरू यस्तरी आइरहेको छ कि मानौँ त्यो घरभित्रका झ्याल-ढोकाहरू, सरसामानहरू टुक्रा-टुक्रा परेर झर्यामझुरुम भएर फुटिरहेका छन्। त्यसमाथि बच्चाको रुवाइले मुटु चिरिएको थियो। अब कसरी छुट्टाउने भनेर एकछिन दुवै जना मुखामुख गर्यौँ तर हामी देखा पर्दा माहौल झन् खराब हुने देखियो। मध्य राती सुनसान अपरिचित ठाउँमा लाचार भएर सुनिरहनुको कुनै विकल्प थिएन।
सिनेमाको पात्र जस्तो उडेर उद्धार गर्नु कल्पनामै सीमित थियो। साहसलाई धैर्यता र डरले एकसाथ थिचिरह्यो। हामी सुतेको कोठामा ती व्यक्ति नआउन् भन्ने प्रार्थना गर्नु बाहेक अर्को विकल्प थिएन। इसाराले कुरा गर्दै नसुतेर सुनेरै बसिरह्यौँ। धन्न हामी सुतेको माथिल्लो तलामा आएनन् नत्र परिस्थितिले अर्कै मोड लिन सक्थ्यो। ती बहिनी बोलेको, रोएको, कराएको केही पनि नसुनिए पछि मनमनै सोचेँ साँच्चै नै नारी भनेको सहनशीलताको प्रतिमूर्ति नै रहेछन्। झन्डै दुई घण्टाको अशान्त वातावरण बिस्तारै शान्त हुँदै गएपछि करिब तीन बजेतिर निदायौँ।
उज्यालो हुन नपाउँदै निद्रा खुल्यो। साथीसँग कुरा गर्दा अघिल्लो दिन ती महिलाले आफ्नो माइती सुङ्देलको नेवारे गाउँ भनेको याद आयो। यात्री न थियौँ, यात्राभित्र अर्को यात्रा थपिने भयो। उनै बहिनीको माइतीघर पुगेर उनका उनका बुबाआमासँग भेट्ने, यथार्थ बुझ्ने भनेर हाम्रो यात्रा उतैतिर सोझियो। हिँड्ने बेलामा घर बाहिरको भित्ताहरू भत्किएको, सामानहरू छरिएको, दुवै ढोका थुनेको देखियो। बाहिरी दृश्य देखेर भित्री अवस्थाको अनुमान गर्दै घरबाट निस्कियौँ।
जति अन्धकार हुँदा उक्त घरमा आएका थियौँ, घरबाट निस्कँदा पनि त्यति नै अन्धकार भएको त्यो परिवेशले बताउँदै थियो; उक्त घर हिंसा र अशान्तिको अन्धकारमै छोपिएको छ। शान्तिको मिर्मिरे उज्यालोसम्म पनि भेट्न मुस्किल लाग्यो। पहिरोमा मान्छेको जीवनहरू मात्रै बगेछन्, दुःखहरू त ज्युँका त्युँ रहेछन्! मिठो खाना खुवाउने ती बहिनीलाई गयौँ पनि नभनी बाटो लाग्नुपर्दा मन त्यसै खिन्न भइरह्यो।
निकै उकालो चढेपछि बिहानको पारिलो घामले हाम्रो उद्देश्यलाई समर्थन जनायो। निलो आकाशको बिचमा बादलका टुक्राहरू शान्त भएर बसेका देखिए। हिमाल र पहाडका चुचुराहरू पनि सफा र मनमोहक थिए। न्यायालयरूपी महासागरमा पुगेर हिजोको घटनाको साक्षी बक्न हिँडेको रावा खोला कतै अलमल नगरी एकोहोरो बगिरहेको थियो।
प्राकृतिक विकटता र सौन्दर्यको मिश्रणले भरिपूर्ण यो गाउँपालिकाको छातीमाथि दौडिएका नागबेली बाटाहरू देखिए। सुङ्देल बजारका सेताम्मे घरहरू टल्किए। प्रख्यात उपन्यास ‘माइतीघर’का लेखक लैनसिंह बाङ्देलको गाउँ केही डाँडापारि थियो भने ठिक विपरीत निवारे गाउँ। गाउँ जस्तै विषय पनि विपरीत नै थियो एउटा पितृसत्तात्मक चिन्तनको कथा, अर्को घरेलु हिंसाको घटना।
साँझ नेवारे गाउँ पुगियो। कुराकानीको क्रममा धेरै जना दिदीबहिनीको एकजना भाइ छन् भन्ने कुराले हामीलाई ती बहिनीको माइतीघर पहिल्याउन सजिलो बनायो। बेलुकाको खाना खाएर घटना कोट्याउन थाल्यौँ। पहिले पनि धेरै पटक कुटपिट भएपछि ती बहिनी माइती आएर बसेकी रहिछन्। केही पटक ज्वाइँले माफी समेत मागेका रहेछन्। लोटाले, कुकरले, बाँसले हानेर धेरै पटक घाइते बनाएको, मार्छु भन्दै घाँटीमा खुकुरी तेर्साउने गरेको सुनाइन्।
मन झनै भारी भएर आयो तर हामीसँग दिनका लागि उपयुक्त सल्लाह बाहेक अरू पनि केही थिएन। त्यसपछि हामी हाम्रो उद्देश्यतिर लम्किँदै उकालो लाग्यौँ। सँगै यात्रारत हलेसी ओख्लाङका मित्र राजन अधिकारीले चलाइरहेको फेसबुकमा नजर पुग्यो। शुभकामनाका रङ्गीचङ्गी स्टाटसहरू देखेर थाहा पाएँ, त्यो दिन मार्च आठ गते नारी दिवस रहेछ!