अरू दिन झैँ नयाँ ठिमी स्टपमा बस कुर्छु। हरेक दिन एकान्तकुना पुग्नु पर्छ मलाई। कार्यालय समयमा सिट पाउने सम्भावना शून्य नै हुन्छ। सिट पाउनु चिट्ठा पर्नु सरह हो। बस रोकियो कि सहचालक ‘बल्खु–कलङ्की’ भन्दै जोड–जोडले कराउँछ। सँगसँगै बसको ढोका छेउको बडीमा ड्वाङ–ड्वाङ हान्छ। अझै रोक्नु भनेको होला सायद! जब यात्रु चढ्छन्, चढ्ने बित्तिकै ‘पछाडि–पछाडि सर्नुस्’ भन्छ।
ओर्लिने बेला आउँछ तब गाली गर्छ उही फेरि— ‘झर्ने मान्छे अगाडि बस्नु पर्दैन?’ कहिले ‘पछाडि सर्नू रे!’, कहिले ‘अगाडि बसिनस् रे!’ गर्नु चाहिँ के क्या? सहचालकको आदेश सुन्दा सबै यात्रु मूर्ख हुन् जस्तो लाग्छ। साँच्चिकै त्यस्तै हो त? मनले भन्छ। होइन। यात्रु साह्रै सोझा र निमुखा छन्।
सहचालक भएपछि नुनको सोझो गर्नु पर्ने हो वा कमाउनको लागि जे पनि बोल्नु पर्ने हो वा जे भने पनि यात्रुले मानिहाल्छन्। फरक पर्दैन भनेर हो! उसको आदेश प्रतिकार गर्न सक्दैन। चुपचाप स्वीकार गर्छन्। वास्तवमा सार्वजनिक यातायात पीडादायी छ। प्रयोग कर्तालाई मात्र थाहा छ यो कुरा। लेखीसाध्य र भनीसाध्य छैन।
हरेक दिन अफिस जाँदा र घर फर्किँदा एउटै तनाव हुन्छ— सार्वजनिक गाडी चढेर अफिस कसरी पुग्ने र कसरी फर्किने? पाकेट मारिने, एक यात्रुले अर्कोलाई ढेस्सा दिने, खुट्टा कुल्चिने, जाममा बस्नुपर्ने, सहचालकले ५ रुपेयाँसम्म खुद्रा रुपैयाँ फिर्ता नदिने! यी साझा समस्या हुन्। हरेक यात्रुले भोगेको हुन्छ।
भाडा दर थाहा नपाएर ठगिने नयाँ यात्रु सयौँ हुन्छन्। भाडा लिस्ट टाँसेको हुन्छ। यात्रुलाई आँखाले ठम्याउन मुस्किल हुने सानो कागजमा छ त्यो। नियमन हुँदैन। नियमनको प्रक्रिया लम्बेतान हुन्छ। सहचालक सधैँ यात्रुलाई ठग्छन्। बोलाइ र व्यवहार दुवै अत्यन्त रुखो!
भाडा दर थाहा पाएर के गर्नु? खुद्रा रुपैयाँ नहुँदा धेरै पटक ठगिएको छु म पनि! सहचालकसँग कुरा गरेर साध्य हुँदैन। ‘किचकिच गर्नेले आफ्नै कार चढेर हिँड्नू।’ आफ्नो निजी गाडी भएको भए तिम्रो गाडी किन चढ्थेँ? दिक्क लाग्दा यो उत्तर दिन्थे कहिलेकाहीँ। ‘नभए ट्याक्सी चढ्नू।’ सबै सहचालकको जवाफ एउटै हुन्छ। बोल्नुभन्दा नबोल्नु जाती। बोल्यो कि पोल्यो।
सार्वजनिक बस/माइक्रो बसमा महिला यात्रुको गुनासो त्यत्तिकै हुन्छ। हुलमुलमा महिलाहरूलाई ‘ब्याड टच’ गर्नेहरू कम हुँदैनन्। त्यो भिडमा कसले कसलाई मुद्दा हाल्नु? कसलाई उजुर गर्नु? केही पुरुष यात्रुको नियतै खोटो हुन्छ। सार्वजनिक सवारी चढ्नु एक हिसाबले सजाय भोग्नु सरह हो। सार्वजनिक सवारी भरपर्दो नहुँदा साना सवारी, खास गरी मोटरसाइकलको सङ्ख्या ह्वात्तै बढेको छ। राज्यले यो कुरा कहिले बुझ्ने? कहिले त्यसअनुसार नीति बनाउने हो भन्न मुस्किल छ।
यात्रु चढाउन स्टप चाहिँदैन। जतासुकै घ्याच्च–घ्याच्च रोकेर यात्रु चढाउन मिल्छ। ओराल्न भने स्टप चाहिन्छ। यात्राको क्रममा गाडी अलि खुकुलो हुँदा चालकलाई यो प्रश्न सोध्ने गर्छु— ‘किन गुरुजी, ओराल्न स्टप चाहिने र चढाउन चाहिँ नचाहिने?’
हरेक चालकको समान उत्तर हुन्छ— त्यसो नगरे कमाउन सकिँदैन। कमाउन पनि ठाउँ–कुठाउँ रोक्नै पर्छ। कसैगरी ट्राफिकले देख्यो भने चिट काट्छ। चिट १०००/१५०० को हुन्छ। कमाइ चट हुन्छ। हरेक चालक र ट्राफिक एक–अर्कामा शत्रु जस्तै लाग्छ। गाडी चलाउँदा चालकले ट्राफिकलाई मनपरी (फोहोरी शब्द) बोलिरहेको हुन्छ। यात्रुलाई सुन्न पनि गाह्रो हुन्छ। तैपनि चालक बोलिरहेको हुन्छ। चालकले ट्राफिकलाई दैनिक ४/५ पटक ओहोरदोहोर गर्दा चिनेको हुन्छ। त्यसैले ट्राफिकलाई ‘निक–नेम’ प्रयोग गर्छन् सबै जसो चालक र सहचालक!
ट्राफिक नियम चालक–यात्रु दुवैले मान्दैनन्। यात्रु पनि ‘ठाउँ न कुठाउँ रोकिदेऊ’ भनेर कराउँछन्। ट्राफिक साक्षरता कमजोर भएको मुलुकमा नेपाल पर्छ जस्तो लाग्छ। कतिसम्म भने रातो बत्ती बलेको बेला झर्नु है भनेर सहचालकले बिना स्टेसन यात्रुलाई झारिदिन्छन्। कहिलेकाहीँ यात्रु नै ‘ट्राफिक छैन, रोकिदिनू न’ भनेर चालकलाई अनुरोध गर्छन्। यात्रुको सुरक्षाका लागि होइन— ट्राफिक नियम पुलिसका लागि हो भन्ने आम बुझाइ छ।
त्यसो हुँदा नियम पालना गराउने ट्राफिक प्रहरी र चालकबिच दोहोरो लुकामारी चल्छ— कसले बढी चिट काट्ने र कसले बढी नियम छल्ने भनेर! अन्ततः मार पर्ने उहीँ यात्रु हो। यात्रु सधैँ ठगिन्छन्— एकातिर भाडामा ठगिन्छन्, अर्कोतिर समयमा ठगिन्छन्। पुग्नुपर्ने समयभन्दा धेरै अगाडि गाडी चढ्नुपर्छ। यसको मतलब बाटाका लागि धेरै समय छुट्टाउनुपर्छ। त्यो पनि ठगी हो। समयको पालनाभन्दा कमाइलाई महत्त्व दिन्छन् चालकहरूले। समयको महत्त्व बुझ्ने कहिले र कसले होला?
यात्रु चढाउँदा स्टप नहेर्ने, झार्दा मात्र स्टप खोज्ने— हाम्रो सार्वजनिक यातायातको यो दोहोरो चरित्र कमाइमुखी मनोवृत्ति र कमजोर नियमनको परिणाम हो। सार्वजनिक बस वा माइक्रो बस चढ्दा सधैँ यही कुरा दिमागमा घुमिरहन्छ। बरु अफिस समयमा ठुलो हुने, अरू बेलामा फोल्डिङ हुने बस/माइक्रो बस अथवा अफिस समयमा ट्रली थप्न मिल्ने र यात्रुको कम चाप भएको बेला ट्रली झिक्न मिल्ने सवारी वा ठुला र दुई तले साधन भए नि हुने! सहरका मुख्य–मुख्य गन्तव्यमा साझा बस चलाइदिए के जान्थ्यो सरकारको? अनेक कल्पना आउँछन् मनमा। उत्तर भने हुँदैन! एउटा यात्रुको गुनासो सुन्ने र मनन गर्ने फुर्सद कसलाई छर मेरो देशमा?
भाडा तिरेर सहज यात्रा गर्ने व्यवस्था मिलाऊ सरकार! त्यसका लागि डिजिटल भुक्तानी, साझा यातायातको सेवा विस्तार, साना साधनको सट्टा मुख्य मुख्य गन्तव्यमा ठुला सवारी साधनको व्यवस्था गर्नु पर्छ। सरकार एक्लैले नसके सार्वजनिक–निजी साझेदारीमा कम्पनी खोली यात्रुलाई सुविधा दिनु पर्छ। यात्रुले सित्तै खोजेका छैन। भाडा तिरेका छन्। अब पनि तिर्छन्। मात्र सहज यातायात यात्रुको चाहाना हो। यो गर्न सकिने र सजिलो काम हो। सरकारले गर्नु पर्छ।
सरकारी गाडी चढ्ने पदाधिकारीलाई यो थाहा हुँदैन। थाहा पाउन दुई-चार पटक सार्वजनिक गाडी चढाउनु पर्छ। सरकारका उच्च ओहदाका अधिकारीलाई अफिस समयमा माइक्रो र यात्रु बस चढाउने मन छ मलाई। १० औँ वर्ष यही सोच्दै–सोच्दै बितेछ। खासमा सोच्नु मात्र रहेछ। परिवर्तन कहिल्यै भएन। लौ सरकार, सक्ने भए सार्वजनिक सवारीमा यात्रा गर्नेको पीडा बुझिदेऊ!