रसियामा जारी विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको एसियाली महारथि जापान आज समूहको अन्तिम तथा निर्णायक खेलमा पोल्याण्डको सामना गर्नेछ।
कम्तिमा बराबरी गरेको खण्डमा आज जापान नकआउट चरणमा प्रवेश गर्नेछ।
एसियाका ५ राष्ट्रले सहभागिता जनाएको रसिया विश्वकपबाट चार राष्ट्र समूह चरणबाटै घर फर्किसकेका छन्।
आज पोल्याण्डविरुद्ध मैदान उत्रदा जापानले जारी विश्वकपमा एसियन राष्ट्रको खराब प्रदर्शनको छविलाई सुधार्ने लक्ष्यसहित भोल्गोग्राड स्टेडियम उत्रनेछ। जसका लागि जापानले जित्ने लक्ष्य लिएको छ।
अहिलेकै समीकरण हेर्ने हो भने जापानलाई बराबरीले मात्रै पनि समूह चरण पार गर्न प्रयाप्त हुन्छ। तर, निकै जुझारू प्रदर्शन गरिरहेको जापान समूह विजेता बन्दै दोस्रो चरण पुगेर इतिहास रच्न चाहन्छ।
यदि बिहिबार राति पोल्याण्डलाई हराउँदै नकआउट चरण पुग्न सके जापानको यो तेस्रो सफलता हुनेछ।
प्रतियोगिताबाट बाहिरिसकेको कोलम्बियासँग खेल्नुअघि जापानले समूहको पहिलो खेलमा बलियो राष्ट्र कोलम्बियालाई २ – १ हराएको थियो।
दोस्रो खेलमा सेनेगलसँग २-२ गोलको बराबरी खेलेको उसले अब आज अन्तिम खेलमा विगतको प्रदर्शन दोहोर्याए पर्याप्त हुनेछ।
समूह चरणको अन्तिम खेल बाँकी रहँदा यसै पनि जापान ४ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। दुई खेलबाटै समान अंक जोडेको सेनेगलको ४ अंक छ।
यता रसिया विश्वकपको अन्तिम खेलमा जापानविरुद्ध जित निकाल्दै सान्त्वना जितको खोजिमा रहेको पोल्याण्डसँग पराजित भए जापानलाई समस्या पर्न सक्छ। अन्तिम खेलमा पराजित भए र अर्को खेलमा पनि आफू अनुकुल नतिजा नआए जापान समूहचरणबाटै बाहिरिने निश्चित छ।
यही समूहको अर्को खेलमा सेनेगलले कोलम्बियाको सामना गर्नेछ। ४ अंक भएको सेनेगल र ३ अंक भएको कोलम्बियाको विजेता नकआउट चरण पुग्नेछ।
त्यसैले पनि जापानलाई पोल्याण्डमाथिको जित अपरिहार्य छ।
सन् २००२ र २००६ को विश्वकपमा पहिलो दुई खेल गुमाए पनि पोल्यान्डले अन्तिम खेलमा क्रमशः अमेरिका र कोस्टारिकालाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको थियो।
यो समूह कै अर्को खेलमा सेनेगल र कोलम्बिया मैदान उत्रदा दुवै टोली जितको खोजीमा हुनेछ। अघिल्लो चरणमा पुग्न सेनेगललाई बराबरीले पुग्नेछ। कोलम्बियालाई जित्नै पर्ने दबाब छ। यस्तोमा सेनेगलविरुद्ध कोलम्बिया आक्रामक खेल्ने छ। तर, बलियो सेनेगल कोलम्बियालाई रोक्दै अर्को चरणमा पुग्न चाहन्छ ।
यो खेलमा सेनेगलले जितेमा सेनेगल समूह बिजेता बन्ने सम्भावना रहन्छ। पराजित भएमा सेनेगलको दोस्रो चरणको यात्रा अन्त्य हुने सम्भावना पनि उत्तिकै छ। सेनेगल पराजित भएमा र जापानले जितेमा कोलम्बिया नकआउट चरणमा पुग्नेछ। यदि कोलम्बिया पराजित भएमा सेनेगल र जापानले नकआउट चरणमा स्थान बनाउने छन्।
पोल्यान्डसँग एक अंक मात्र जोड्न सके जापान दोस्रो पटक अपराजित रहँदै समूह चरणबाट माथि उक्लिनेछ। यसअघि २००२ मा घरेलु मैदानमा भएको प्रतियोगितामा जापान अपराजित रहँदै अन्तिम १६ मा प्रवेश गरेको थियो । हार भोगेमा जापानले अन्तिम १६ प्रवेशका लागि कोलम्बिया र सेनेगलबीचको नतिजा आफूअनुकूल आएको कामना गर्नुपर्नेछ।
सेनेगलले नतिजा आफ्नो पक्षमा पारे जापान उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्नेछ । कोलम्बिया विजयी भए भने जापान र सेनेगलमध्ये को नकआउट चरण प्रवेश गर्ने भन्ने टुंगो गोलअन्तर र टोलीले सामना गरेको पहेंलो/रातो कार्डका आधारमा लगाइनेछ।