लोक सेवाको सपना कहिल्यै एकै दिन जन्मिँदैन। कहिलेकाहीँ यो सपनाले सानै उमेरमै मनको कुनामा आफ्नो ठाउँ ओगटिसक्छ अनि समयसँगै बढ्दै जाँदा अझ स्पष्ट, अझ गम्भीर र अझ अर्थपूर्ण बन्छ। धेरैका लागि जस्तै, मेरो मनमा पनि लोक सेवा नामको शब्द पहिले खेलौना जस्तै लाग्यो अनि उमेर बढ्दै जाँदा त्यो खेलौनाले नै भविष्यको बाटो सम्हाल्ने दायित्व अँगाल्यो। जब स्नातक सकियो, तब मात्रै यो सपना मनमा मात्र होइन, जीवनकै लक्ष्य बन्न पुग्यो।
यति ठुलो निर्णय लिनु आफैँमा सजिलो हुँदैन, विशेष गरी शाखा अधिकृत जस्तो प्रतिस्पर्धा चुलिएको तह रोज्दा। यो पद केवल जागिर होइन, सम्भावना, जिम्मेवारी र प्रतिष्ठाको प्रतीक हो। यही कारण पनि यो लक्ष्य रोज्नु भनेको आफैँलाई निरन्तर चुनौती स्वीकार गर्ने मनोबल दिनु हो। ‘खरिदार, नायब सुब्बा अनि शिक्षक सेवा आयोग त सजिलो होला, खुला पनि छ’ भनेर धेरैले सुझाव दिने बेलामा शाखा अधिकृत रोज्नु भनेकै आफूभित्र रहेको सम्भावना र क्षमतामाथि भरोसा राख्नु हो।
लोक सेवाको सपना कुनै साधारण सपना हुँदैन। यो सपना केवल एउटा जागिर प्राप्त गर्ने चाहनामा सीमित हुँदैन; यो त आत्मविश्वास, धैर्य, मेहनत र आत्मअनुशासनले बुनिएको लामो यात्रा हो। धेरैका लागि लोक सेवा भनेको जीवन बदलिदिने मोड हो। जहाँ बिहानको चिसो हावा, हातमा नोटबुक, काखमा पुस्तक, र मनमा भविष्यका हजारौँ कल्पनाहरू सँगै हिँडिरहेका हुन्छन्।
तर यो बाटोमा हाँसो र हौसला मात्र हुँदैन; सँगसँगै शंका, आरोप र तिखा वचनहरू पनि जोडिन्छन्। ‘खुलामा पास हुँदैनस्, अब त तयारी पनि कम गर्छन्, तेरो नाम कहाँ निस्केला र? ननिकाल्ने रहेछस् भनेर थाकिहाल्ने काममा किन यत्ति दुःख?’ यस्ता शब्दहरू कति पटक सुन्नु पर्यो! कहिलेकाहीँ आफ्नै आफन्तले, कहिलेकाहीँ समाजले अनि धेरै पटक आफ्नै मनले पनि यस्ता प्रश्न सोधिरहन्छ अनि घोत्लिन बाध्य गराउँछ। तर यिनै वचनहरूले थाकिएको मनलाई फेरि उठ्न सिकाउँछन् किनकि जति अविश्वास सुन्नुपर्छ, उति आत्मविश्वास बढाउनुपर्ने हुन्छ।
लोक सेवाको तयारी कुनै साधारण तयारी होइन। बिहान सबेरै अलार्मले उठाउँछ, तातो चियासँगै नोटबुक पल्टिन्छ, पुस्तकालयको चिसो कुर्सीमा बसेर आत्मविश्वास बटुलिन्छ। अनि प्रशिक्षकले तयारी कक्षामा दिएको ‘मक टेस्ट’ को नतिजा हातमा थमाइदिन्छन् र उत्तरपुस्तिकामा पाएको अङ्क हेर्न पाना पल्टिन थाल्छन् अनि मनमा एउटै प्रश्न घुमिरहन्छ- ‘कहिले नाम निस्केला?’ खुला प्रतिस्पर्धाको डर, अनुभवी साथीहरूसँग भिड्नुपर्ने दबाब र कहिलेकाहीँ आफैँलाई आफैँ सोधिने प्रश्न- ‘के म सक्छु त?’
यस यात्रामा मानसिक तनाव, कहिलेकाहीँ आर्थिक बोझ, परिवारको अपेक्षा र समाजको दृष्टि-यी सबैसँग जुध्दै अघि बढ्नु पर्छ। तर यिनै चुनौतीहरूले मलाई अझ मजबुत बनाउँछन्। कहिले साथीले ‘मेरो त नाम आयो पास भएँ’ भनेको सुन्दै मन चस्स हुन्छ, कहिले घरका समस्याले ध्यान भंग गर्छ तर अध्ययन भने सीमित नै रहन्छ। ‘अब नाम निस्किन्छ होला है? एउटा अफिसर घरबाट ननिस्किएसम्म कसरी आशा गर्ने?’ यस्ता वाक्यहरूले मन नथिचोस् भन्दाभन्दै पनि नथिचिने अवस्था आउँछ। तर परिवारको माया, अपेक्षा र विश्वासले फेरि मन सम्हालिन्छ। कसैको गर्व बन्ने, घरको अनुहार उज्यालो पार्ने त्यो चाहनाले तयारी झनै अर्थपूर्ण बन्छ।
पुतलीसडक, बागबजार, र टियूका पुस्तकालयहरू त्यस्ता सपनाहरूले भरिएका चहलपहलका ठाउँहरू हुन्। कतै तयारी कक्षामा ध्यानपूर्वक सुन्दै गरेका विद्यार्थी, कतै कफीको कपसँगै पुस्तक पल्टाउँदै गरेका अभ्यासहरू। उनीहरूको अनुहारमा एक किसिमको दृढता हुन्छ जसले भन्छ, ‘हिँडिरहेकै छु, हार मान्ने छैन।’ विगतका असफलताहरू उनीहरूको यात्रामा अवरोध होइन, प्रेरणा बन्छन्। किनकि लोक सेवामा लाग्ने प्रत्येकले बुझिसकेका हुन्छन् कि सफलता केवल मेहनतको परिणाम होइन, निरन्तरताको उपहार हो।
लोक सेवा केवल परीक्षा होइन; यो धैर्यको प्रशिक्षण हो। प्रश्नपत्रले मात्र होइन, परिस्थितिले पनि परीक्षा लिन्छ। कहिले सबै पढेको बिर्सिने, कहिले मानसिक थकान, कहिले समय अभाव अनि यी सबैले यो यात्रा कडा बनाउँछन् तर जीवन बदल्छन्। तर एउटा कुरा बदलिँदैन- सपना।
सानै उमेरमा रोपिएको त्यो सपना समय, समस्या र समाजको टिप्पणीले पनि अडिग हुन सिकाउँछ। स्नातक सकिएपछि आएको परिपक्वताले सपनालाई दिशा दिन्छ। ‘अब होइन भने कहिले?’ भन्ने संयमले मनलाई बोक्छ र ‘सफलताभन्दा प्रयत्न ठुलो’ भन्ने बोधले हरेक दिनलाई अर्थ दिन्छ।
शाखा अधिकृतको खुला प्रतिस्पर्धामा सफल हुन कठिन पक्कै छ। हजारौँ मध्ये आफ्नो नाम टप २०, टप ५० वा सिफारिसमा ल्याउनु सजिलो होइन। तर यो सपना पछ्याउनेलाई थाहा हुन्छ कि मुस्किल नै होइन भने यो सपना महान् किन हुन्थ्यो?
सफलताको प्रतीक्षामा बसेका आफन्तहरू, भरोसा राखेका दिदीबहिनी, आशा बोकेका परिवार अनि आफ्नै मनले दिएको वाचा- यी सबैले यो यात्रालाई गम्भीर, भावनात्मक र अर्थपूर्ण बनाउँछन्।
लोक सेवा केवल जागिर होइन।
यो सानै उमेरमा रोपिएको बीउ हो
ब्याचलर सकेपछि अंकुरिएको लक्ष्य हो
संघर्षसँगै बढेको बिरुवा हो
र एक दिन फुल्नै पर्ने भरोसा हो।
कहिले नाम निस्केला भनेर सोधिरहँदा थकाइ आउन सक्छ तर सपनाले कहिल्यै थकाउँदैन। किनकि लोक सेवा केवल करियर होइन, यो जीवनभरको मेहनत, धैर्य र आत्मविश्वासको कथा हो।