नेपालमै जन्मे–हुर्केका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसाद बुधबार राति कतार एयरको चार्टर जहाज चढेर दोहा पुगेका छन्। नेपालले इतिहासमै पहिलो पटक अन्य देशलाई हात्ती उपहार पठाएको हो।
भैरहवाबाट दोहासम्म करिब साढे चार घन्टाको उडान यी दुई हात्तीले कसरी पूरा गरे?
बडेमानका यी हात्ती उडानको बीचैमा चलमलाउँदा कतै पाइलटहरूलाई जहाजको सन्तुलन मिलाउन गाह्रो त परेन?
हामीले यसबारे वन्यजन्तु विज्ञहरूसँग कुरा गरेका छौं। उनीहरूका अनुसार कतार पठाइएका हात्तीलाई जहाज उड्नुअघि नै अर्धबेहोसजस्तै बनाउन लठ्याउने औषधि प्रयोग गरिएको थियो। औषिध प्रयोग गरेपछि त्यसको असरले उनीहरू 'झुम्म' भएका थिए। त्यसपछि लगभग अर्धबेहोसीकै अवस्थामा जहाजमा राखेर कतार लगिएको चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकहरूले बताएका छन्।
'औषधि प्रयोग गरेर लठ्याइएका हात्ती उडानको बीचमा चलमलाउँदैनन्। यसबाट हात्तीलाई सुरक्षित रूपले लामो यात्रामा लैजान सकिन्छ,' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले सेतोपाटीसँग भने।
विगतमा नेपालले एकसिंगे गैंडा अन्य देशलाई उपहार पठाउँदा यस्तो औषधि दिनुपर्थेन। गैंडालाई जंगलबाट खोरसम्म ल्याउन 'डार्ट' (लठ्याउने औषधि लोड गरेको सुई प्रयोग गर्ने विधि) गरिन्थ्यो। खोरमा पसिसकेपछि भने गैंडालाई लठ्याउनु पर्दैन।
तर हात्तीको तौल बढी हुने र अलिकति पनि चलमलाएको अवस्थामा जहाजलाई असर पर्न सक्ने भएर लठ्ठिने औषधि प्रयोग गरिएको डा. पन्तले बताए।
पालुवा हात्तीको स्वभाव पनि गैंडाभन्दा फरक हुन्छ। उनीहरू जहाजमा आत्तिएर हलचल गर्न सक्छन्। यसरी हलचल गर्दा दायाँबायाँ ठोकिएर दाह्रा भाँचिन सक्छ। औषधि प्रयोग गरेर लठ्ठ पारेपछि हात्तीले अस्वाभाविक गतिविधि गर्दैन। पूरै बेहोस नभए पनि ऊ धेरै सक्रिय रहँदैन।
यी हात्तीलाई कतार पठाउन राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई महिनाभन्दा बढी समय लगाएर खोर बनाएको थियो। त्यही खोरमा राखेर सोमबार हात्तीहरूलाई चितवनबाट भैरहवा पठाइयो र बुधबार अपराह्न त्यही खोरमा राखेर कतार एयरको जहाजमार्फत दोहा पुर्याइयो।
'हात्तीलाई हामीले केही दिनदेखि नै खोरमा पस्ने बानी पारेका थियौं। चितवनबाट भैरहवा पठाउन औषधि आवश्यक परेन। ट्रकमा लैजाँदा आवश्यक परे औषधि प्रयोग गर्न प्राविधिकहरू तयारी अवस्थामा थिए,' राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विधिता संरक्षण केन्द्र सौराहाका भेटेरिनरी प्राविधिक किरणराज रिजालले भने, 'भैरहवासम्म पुग्दा खासै समस्या परेन।'
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। त्यसपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो। यीमध्ये रूद्रकली ७ र खगेन्द्रप्रसाद ५ वर्षका छन्।
सोमबार सौराहाबाट हात्तीहरूलाई बिदाइ गर्दा वैदिक विधिअनुसार पूजा गरेर फूलमाला लगाइएको थियो। रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि उनीहरूसँगै कतार गएका छन्। साथमा एक जना भेटेरिनरी प्राविधिकलाई पठाइएको निकुञ्जले जनाएको छ।
रूद्रकली र खगेन्द्रप्रसाद दुवैका बाबु जंगली हात्ती रोनाल्डो रहेको रेकर्ड प्रजनन् केन्द्रमा छ। रूद्रकलीलाई पूजाकली र खगेन्द्रप्रसादलाई कोशीकलीले जन्माएका हुन्। पूजाकलीको रूद्रकलीलाई जन्माएको केही समयमै मृत्यु भएको थियो। त्यसपछि रूद्रकलीलाई चितवनकली नामको हात्तीको संरक्षणमा हुर्काइयो।
खगेन्द्रप्रसादकी आमा भने कोशीकली प्रशिक्षक हात्ती हुन्। कोशीकली निडर हात्ती भएकाले छावाहरूलाई तालिम दिन प्रयोग गर्ने गरिएको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका प्रमुख मनपुरण चौधरीले जानकारी दिए।
प्रजनन् केन्द्रमा अहिले ७ छावासहित १६ वटा हात्ती छन्। २०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर प्रजनन् केन्द्र सञ्चालनमा ल्याइएको थियो। त्यतिखेर हात्तीको सट्टा नेपालले भारतलाई चारवटा एकसिंगे गैंडा दिएको थियो। नेपाललाई थाइल्यान्ड र बर्माले पनि दुई-दुईवटा हात्ती दिएका थिए।
विगतमा नेपालले विभिन्न देशलाई एकसिंगे गैंडासहित ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ। एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा पनि उपहार दिइएको छ।
नेपाल सरकारले हालसम्म चीन, भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालाई गैंडा उपहार दिएको छ। हात्ती उपहार दिएको भने यो पहिलो पटक हो।
रूद्रकली
खगेन्द्रप्रसाद