त्यो दिन तपाईंले हामीबाट छुट्टिने निर्णय गर्नु भयो र धेरै टाढा जानुभयो, फेरि कहिल्यै फर्किनु भएन। जिन्दगी चलिरहेको थियो, हामीले सँगै काटेका दुःख–सुखका दिनहरू अझै हिजो जस्तै लाग्छ, तपाईं मेरो जिन्दगीको एउटा जरा जस्तै हुनुहुन्थ्यो। बेलाबेला गरेर दिने माया, हौसला, आशीर्वादले मलाई ऊर्जा दिइरहन्थ्यो।
तपाईंले सधैँ भन्ने गर्नु हुन्थ्यो— ‘सावाँभन्दा ब्याज प्यारो, छोराभन्दा नाति प्यारो।’
म त हाँसिदिन्थेँ तर भित्र–भित्र त्यो माया कत्ति गहिरो थियो भन्ने अहिले मात्र महसुस हुन्छ।
कुनै पनि घरमा हजुरबुबाले नातिलाई गर्ने माया अलगै हुँदो रहेछ। तपाईं र मेरो सम्बन्ध पनि त्यस्तै साथ अठोट, माया र जीवनका सिकाइहरूले भरिएको थियो।
तपाईं बेला–बेला भन्नुहुन्थ्यो, ‘बाबु खाए पिए जस्तो बन, ऊ त्यसलाई हेर्न त्यो कति मोटो छ।’
हुन त म पनि मोटै थिएँ बाजेलाई लाग्दो रहिछ नाति अझै मोटाओस्। सुन्दा मलाई ठट्टा जस्तो लाग्थ्यो तर आज ती पल सम्झिदा मन थामी नसक्नु हुन्छ।
तपाईं हुन्जेल मलाई अभिभावकको अभाव कहिल्यै महसुस भएन। म घर बाहिर निस्कन मन नपराउने, साथीसँग निस्कने बानी थिएन।
तपाईं भन्नुहुन्थ्यो— ‘बाबु, कहिलेकाहीँ घर बाहिर जानु पर्छ। गाउँको परिवेश पनि बुझ्नु पर्छ।’
म मुस्कुराएर टारिदिन्थेँ तर बाजे मेरो नाति अरूभन्दा फरक बनोस् भन्ने चाहनु हुन्थ्यो, मलाई महसुस अलि ढिला गरायो।
घरायसी काम पनि सिकाउनु भयो। मलाई खाना बनाउन आउँदैन थियो। ‘हेर्न ऊ त्यो, कति राम्ररी सबै काम गर्छ, तैँले पनि सिक्नुपर्छ,’ भनेर बाजे छिमेकी साथीसँग दाँज्नु हुन्थ्यो।
त्यसरी हौसला दिनु हुन्थ्यो। मलाई सबै कुरामा पूर्ण बनाउन हरेक कुरा सिकाउनु भयो। बाजे तपाईंले दिएका अर्थ उपदेश ताजै छन्, मैले कहिल्यै बिर्सिने छैन। ती उपदेश मेरा ऊर्जा हुन्, मेरा प्रेरणा हुन्, जिउने आधार हुन्, अझै अघि बढ्ने मार्गदर्शन हुन्।
कहिलेकाहीँ बाजे भन्नुहुन्थ्यो, ‘म, त जन्मिएदेखि घर छोडेर कहिल्यै कतै गएको छैन, मेरो मुटुको टुक्रा तँ हो।’ त्यो वाक्य सुन्दा एकछिन मन रोकिन्थ्यो, बाजे हजुर मेरो साथीको रूपमा पनि बन्नु भयो, मलाई हजुरसँगै खेल्न कुरा गर्न धेरै मन पर्थ्यो। तपाईंले सुनाउने पुराना कुराले मलाई आनन्द महसुस हुन्थ्यो।
बाजेको एउटा मात्रै खराब बानी थियो, रक्सी पिउने।
म दश कक्षामा पढ्थेँ। समय बित्दै गयो, बिचमा कोरोना भाइरस आएर सबै विश्व भयावह बनायो। मेरो परीक्षा हुने समय अन्तिम अन्तिममा थियो। कोरोनाका कारण परीक्षा स्थगित भयो। त्यसपछि २/३ महिनापछि प्रत्येक आफ्नो आफ्नो विद्यालयले परीक्षा लिएर आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल निकाल्ने निर्णय गर्यो।
मैले प्रवेशिका पास गरेँ। म मात्र होइन, सबै पास भए। गाउँको पढाइ अलि कमजोर भएर होला +२ पढ्न काठमाडौँ जाने निर्णय गरा। हुन पनि हो, हाम्रो गाउँ एकदमै विकट। शिक्षा स्वास्थ्य, इन्टरनेट, यातायात जस्ता समस्या अझै ज्वरो गाडेर बसेको छन्। गाउँको मुहार फेर्छु भनेर धेरै व्यक्ती आउनु भयो, आफ्नो मात्र मुहार फेरेर जानु भयो। मेरो गाउँको मुहार अझै उस्तै छ।
गाउँमा राम्रो पढाइ र अवसर नभएकाले सबले सल्लाह पनि दिनु भयो- तिमी जस्तो सम्भावना बोकेको व्यक्ती अझै राम्रो पढाइ गर्न काठमाडौँ जाँदा राम्रो हुन्छ। त्यसपछि मैले गाउँ छोडेर काठमाडौँ जाने निधो गरेँ र केही समयपछि काठमाडौँ गएँ।
घर-परिवार सल्लाह गरेर आफूलाई सहज, सुविधा हुने सोचेर तराई तिर सर्नु भयो। बसाइ सरे पनि जन्मभूमि स्वर्गको टुक्रा हो, बेलाबेला धेरै माया जन्मभूमिकै लाग्ने रहिछ। मैले पनि गाउँ छोडेको ६ वर्ष हुन लाग्यो। एक चोटि मात्र नागरिकता बनाउन गएको थिएँ, अहिलेसम्म गएको छैन। गाउँको माया भने उस्तै छ।
बाजे र मेरो दूरी अब बढ्यो। बाजेले म काठमाडौँ आउँदाको दिन ‘बाबु, राम्रोसँग पढ्नू, आउँदै गर्नू’ भनेर आँखाबाट आँसु खसाल्नु भयो। मेरा आँखामा पनि कहाँ आँसु रोकिन्थ्यो र!
‘म धेरै बाँच्दिन होला’ भनेर भन्नुभयो। त्यो वाक्यले झन् नै मन हल्लायो। मैले बोल्नै सकिनँ, टाउको हल्लाउँदै घरबाट निस्केँ।
बाजे ८० वर्ष नजिक-नजिक हुनुहुन्थ्यो। तर उहाँलाई खासै कुनै रोगले छोएको थिएन। उहाँले अलि आँखा कम देख्नु हुन्थ्यो। आँखाको अपरेसन पनि भइसकेको थियो। दुई–दुई पटक अपरेसन गर्न अलि गाह्रो पर्छ, डाक्टरले भनिसकेका थिए। काठमाडौँ आएपछि बाजेसँग मेरो कुरा फोनमा कहिलेकाहीँ हुन्थ्यो। बाजेले बेलाबेला मलाई ‘घर आउँदै गर्नू बा’ भन्नु हुन्थ्यो। मैले हुन्छ भन्थेँ।
समय बित्दै गयो। बाजे ८० वर्ष पुग्नु भएपछि आँखा देख्नै छोड्नु भयो। मान्छे आए पनि आवाज र उसको शरीरलाई छामेर थाहा पाउनु हुन्थ्यो। यसरी समय बित्दै थियो, २०८० सालको दसैँको लागि म घर गएँ। बाजेले मलाई चिन्नु भएन। उहाँले मेरो शरीर छामेर मुसार्नु भयो। पछि आफैले म रमेश बाजे भनेँ अनि मात्र चिन्नु भयो।
त्यति बेला बाजेका आँखाबाट आँसु नै खस्यो। त्यसपछि बाजेले हालखबर सोध्नु भयो, मैले सबै सुनाएँ। बाजे आँखा नै नदेख्ने अवस्थामा पुगिसक्नु भएकको देखेर धेरै चिन्ता लाग्यो। बाजे-बजैसँग समय बिताए दसैँ सकिए लगत्तै फेरि उहाँहरूको आशीर्वाद लिई काठमाडौँ फर्किएँ।
म अर्को दिन काठमाडौँ पुगेर बाजेलाई कल गरेँ। ‘म राम्रोसँग पुगेँ है बाजे, मेरो चिन्ता गर्नु पर्दैन, आफ्नो ख्याल राख्नू’ भनेँ। बाजेले हस् भन्नुभयो।
समय बित्दै गयो। त्यसपछि बाजेसँग लामो समयदेखि कुरा भएको थिएन। मेरो व्यस्तताका कारण मैले मोबाइल खासै चलाउँदैन थिएँ। मंसिर महिनाको २३ गते शनिवार थियो, मैले प्रायः मोबाइल अफ गरेर बसेको हुन्थेँ। त्यो दिन घरबाट मलाई धेरै चोटि कल आएको रहिछ। मेरो मोबाइल अफ कसरी उठ्थ्यो त!
म बेलुका छिटो सुतेर बिहान छिटो उठ्ने गर्थेँ। करिब बिहानको ४ बजेको थियो, म भर्खर उठेको थिएँ, एकछिन मोबाइल अन गरौँ न त भनेर अन गरेँ। धेरै चोटि कल-म्यासेज आयो। त्यतिकैमा किन राति धेरै चोटि कल गरेका होलान् भनेर म अनलाइन गए। अहिले धेरैको सूचनाको केन्द्र फेसबुक भएकोले मैले पनि फेसबुक धेरै चलाउँथेँ। मैले फेसबुक खोलेँ। खोल्ने वित्तिकै स्क्रोल नै नगरी एउटा दाइको पोस्ट देखेँ। लेख्नु भएको थियो- हार्दिक श्रद्धाञ्जली। त्यहाँ मेरा बाजेको फोटो थियो।
त्यो देखेर म आकाशबाट खसेको जस्तो महसुस गरेँ। आँखाबाट आँसु झर्यो। मैले केही सोच्नै सकिनँ। म अहिले सुतिरहेको छु, सपना देखिरहेकी छु वा यो साँच्चिकै हो सोच्नै सकिनँ। त्यतिकैमा घरबाट फुपूको कल आयो र बाजे यो संसारमा नरहेको कुरा सुनाउनु भयो। अब मैले आफूलाई सम्हाल्न सकिनँ। म चिच्याएर रोएँ। सँगै मसँग भाइ बस्थ्यो। उसले नरुन आग्रह गर्यो। त्यसपछि मैले आफूलाई सम्हालेँ र घर जान टिकेट काटेर घरतिर लागेँ।
प्लेनमा गएको भएर होला म त्यो दिन नै घर पुगेँ। घरमा धेरै मान्छेहरू जम्मा भएका थिए। म मेरा बाजे अझै घरको आँगनमा कुर्सीमा बसेका होलान्, मलाई आइस् रमेश भनेर भन्लान् सोचेको थिएँ तर त्यो मेरो सोचाइ सपना बनिसकेको थियो। बाजे सधैँका लागि निदाइसक्नु भएको थियो। हजुरआमा बेहोस अवस्थामा हुनुहुन्थ्यो। मैले हजुरआमाको अवस्था देखेर आफ्नो भक्कानिएको मन थाम्ने कोसिस गरेँ र उहाँलाई सम्हाल्ने कोसिस गरेँ।
घरमा छिमेकीदेखि अलि टाढासम्मका धेरै मान्छेहरू आइसकेका थिए। ‘मर्दाका मलामी जिउँदाका जन्ती’ भने भनाइ मैल त्यो दिन मात्र महसुस गरेँ। सबैको सल्लाहमा पछिल्लो दिन नै अन्तिम दाहसंस्कार गर्ने निर्णय भयो। २४ गते कर्णाली नदीमा अन्तिम दाहसंस्कार भयो। त्यही दिनदेखि बाजेलाई मैले कहिल्यै देखिनँ।
बाजे सधैँका लागि गए पनि सम्झनाले मन पिरोल्ने गर्छ। उहाँले नातिप्रति देखिएको प्रेम महसुस त गरेँ तर राम्रोसँग बुझ्नै पाइनँ। बाजेले दिनु भएको हौसला प्रेरणा, सुझाव र ज्ञान कुनै विश्वविद्यालयले पनि सिकाउन सक्दैन।
अन्ततः मान्छे एक दिन एक सर्को आगोको झिल्कोमा हराउने रहिछ! बाजे तपाईं सायद त्यो हावामा हराउनु भयो, मैले हावालाई महसुस गरी तपाईँलाई खोज्छु। त्यो माटोमा बिलाउनु भयो, त्यो नदी जसरी बगेर जानुभयो। नदीको किनारा बनी म पर्खिरहेको छु। त्यो बादलसँगै बिलाउनु भयो। मेरो वरिपरि आए पनि मैले देखेर पनि बोलाउन सक्दिनँ। त्यो जून हुनुभयो, म त्यो जून हेरेर टोलाउँछु। त्यो आकाश हुनुभयो, मैले ब्रह्माण्ड तपाईंलाई देख्छु। तपाईं त्यो रात हुनुभयो, म त्यो रातमा तपाईँलाई खोज्छु।
मान्छे यो संसारबाट बिदा भए पनि सम्झना भने कहिल्यै नहराउने रहिछ। हजुरको भौतिक शरीर मेरो सामु नरहे पनि तपाईंले दिनु भएको उपदेशले मलाई सही मार्ग कोर्ने ऊर्जा दिन्छ। मेरा लागि मेरा बाजे कहिल्यै यो संसारबाट बिदा हुनु भएन। बाजे तपाईं जहाँ हुनुहुन्छ आशीर्वाद दिइराख्नु, तपाईंको मृत आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस् भनी भगवानसँग प्रार्थना गर्दछु। हार्दिक श्रद्धासुमन हजुरबुवा।