विश्वकप फुटबलमा गएराति दक्षिण कोरियाले सन् २०१४ को विश्वविजेता जर्मनीलाई २ गोलले पराजित गर्यो। दक्षिण कोरियाली समर्थक खुसीले झुमे। दक्षिण कोरियाको जितमा धेरै टाढाको देश मेक्सिकोका समर्थक पनि उसैगरी झुमे, रमाए र खुसी भए।
हिजो रातिको खेलमा मेक्सिको स्वीडनेसँग पराजित हुन पुग्यो। तर दक्षिण कोरियाले जर्मनीलाई हराइदिएकाले ऊ नकआउट चरण प्रवेश गर्न पायो।
कोरियाको जितपछि मेक्सिकोका फुटबल समर्थक सडकमा जम्मा भए। र्याली निकाले। नारा लगाए। तीमध्ये केही मेक्सिकोस्थित दक्षिण कोरियाली दूतावास पुगे। दूतावासको गेटमा उनीहरूले नारा लगाए- कोरियाका दाजुभाइ, अब तिमीहरू पनि मेक्सिकन्!
मेक्सिकोका समर्थकले दुबै देशका झण्डा बोकेका थिए। समर्थकहरूले कोरियाका कन्सुलेट जनरल बियोङ जि हानलाई काँधमा बोकेका थिए।
उनीहरूले फुटबल गीतसमेत गाए।
खुसीमा मेक्सिकोका लागि दक्षिण कोरियाका राजदूत किम सांग इलसमेत सहभागी भए।
मेक्सिकोको राजधानीमा फुटबल सार्वजनिक प्रदर्शन गरिएको थियो। हारका बाबजुद मेक्सिको नकआउट राउण्ड प्रवेश गरेपछि एसियाली पर्यटकलाई समर्थकले भेला पारेका थिए। भिडले एक पर्यटकलाई उचाले अनि समाते।
४५ वर्षिय मेक्सिकन पाब्लो गोञ्जालेजले दक्षिण कोरियाप्रति आभारी भएको बताए।
मेक्सिको अब पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिलसँग क्वार्टरफाइनलका लागि भिड्नेछ।