विश्वकप फुटबलको नकआउट चरणको दोस्रो खेलमा पोर्चुगलविरुद्धको उरुग्वेले पहिलो हाफमा अग्रता लिएको छ।
खेलको ७ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै उरूग्वेलाई अग्रता दिलाएका हुन्। लुईस सुआरेजको पासमा उत्कृष्ट हेड गोल गर्दै काभानीले सुरुवाती अग्रता दिलाएका हुन्।
सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन्।
विश्वकप उपाधि जित्ने लक्ष्य लिएका दुवैको लागि यो खेल महत्वपूर्ण पनि रहेको छ । किनकि दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र युरोपियन च्याम्पियन पोर्चुगल मध्ये एक टोली मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ। अघिल्लो चरणमा यो विजेताको भिडन्त फ्रान्ससँग हुनेछ। यसअघि शनिबार नै भएको नकआउट चरणको पहिलो खेलमा पूरेव उपविजेता अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।