विश्वकप फुटबलमा आज जापानले बेल्जिमयको सामना गर्दैछ। नेपाली समय अनुसार राति पौने १२ बजे हुने खेलमा बेल्जियमको पल्ला भारी छ। जारी विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने राष्ट्र हो बेल्जियम। उसले अहिलेसम्म ९ गोल गरेको छ।
अर्कोतर्फ विश्वकप इतिहासमै पहिलोपटक अनुशासनकै कारण जापान नकआउट चरण आइपुगेको छ। जापानले अहिलेसम्म विश्वकपको कुनै नकआउट खेल जित्न सकेको छैन। यसअघि सन् २००२ र सन् २०१० मा जापान नकआउट चरण पुगेको थियो। समूह चरणमा सेनेगलभन्दा कम खेलाडीले पहेँलो कार्ड खानु जापानका लागि सौभाग्य सावित भयो।
तर इतिहासमा भने बेल्जियमभन्दा जापानको पक्षमा छ। पाँच पटक आमनेसामने भएका यी दुईराष्ट्र मध्ये जापानले दुई पटक जितेको छ भने दुईपटक बराबरी खेलेको छ। बेल्जिमयले एकमात्र जित सन् २०१७ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा हात पारेको छ। उक्त खेलमा रोमलु लुकाकुले गोल गरेका थिए।
इंग्ल्याण्डविरुद्धको खेलमा मैदानमा नउत्रिएका लुकाकु मैदानमा उत्रन पूर्ण रूपमा तयार भएका छन्। प्रशिक्षक रोबर्टो मार्टिनेजले उनको गोलीगाँठाको समस्या समाधान भैसकेको जनाएका छन्। अर्कोतर्फ जापानले आज आफ्नो स्ट्राइकर सन्जी ओकाजाकी खेल्न नखेल्ने पुष्टि गरेको छैन। उनी गोलीगाँठाको समस्याले थलिएका छन्। कोलम्बियाविरुद्ध हेडबाट गोल गरेका युया ओसाको भने जापानले आज सुरुआतमै मैदानमा उतार्ने तयारी गरेको छ।
बेल्जियमका कोच मार्टिनेजले लामो समयदेखि अपराजित रहेकाले जितको विश्वास आफूसँग रहेको बताएका छन्। बेल्जिमय पछिल्लो २२ अपराजित छ। तर उनले जापानका खेलाडीले लामो सयम देखि राष्ट्रिय टोलीबाट एकसाथ खेलिरहेका कारण उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताएका छन्।
बेल्जिमयले पछिल्लो सात पटकको विश्वकप सहभागितामा ६ पटक नकआउट चरण पार गरेको छ। रोमेलो लुकाकु, इडन हाजार्डजस्ता खेलाडी फर्ममा रहेकाले आज जापानलाई जित मुस्किल छ। तर हार हुने परिस्थितिमा जापानले बराबरीका लागि डिफेन्सिभ खेल्ने सम्भावना रहन्छ। जापानका कोच अकिरा निसिन्होले पनि आफ्नो टोलीले अवस्था हेरेर ‘ट्याक्टिकल’ खेल खेल्ने भन्दै रक्षात्मक खेल खेल्ने संकेत गरिसकेका छन्। बेल्जिमयका गोलकिपर थिब कोत्वाले जापानलाई ‘अण्डर स्टिमेट’ गर्नु भुल हुन सक्ने बताएका छन्।
तर जारी विश्वकपमा चार गोल गरेका लुकाकु जो गोल्डेन बुटका समेत दाबेदारका रूपमा देखिएका छन्। उनको गति र ‘पावरफुल सट’ रोक्नु जापानका लागि चुनौतीपूर्ण छ।