माघ महिनाको तेस्रो दिन बिहानको सात बजेको थियो। अन्नपूर्ण हिमालले लगाएको सेतो चोलीको पहिरनमा सूर्यले पहेँलो रंग छर्दै थियो। हिमालको निख्खर सेतो रंग र घामको पहेँलो किरणको सम्मिलनमा प्रकृतिको सुन्दरता सायदै अन्य कसैमा भेटिएला।
केही दिन अघिसम्म काला पत्थरको रूपमा रूपान्तरण भएको माछापुच्छ्रेले आज भने आफ्नो चुचुरोमा अलिकति हिउँ जम्मा पारेर राखेको रहेछ। हामी पाहुनालाई किन निरास बनाउनु भनेर छिमेकी अन्नपूर्णबाट पैँचो काढेर लगेजस्तो।
त्यही अन्नपूर्ण हिमालको काख र माछापुच्छ्रेको बायाँ कोखमा पलेँटी कसेर बसेको छ घान्द्रुक गाउँ। कास्कीको जिल्लाको पोखराबाट झन्डै चार घन्टाको मोटर यात्रा र ४५ मिनेटको पैदल यात्रापछि पुगिन्छ गुरूङहरूको मौलिक संस्कृति र पहिचान बोकेको पर्यटकीयस्थल घान्द्रुक गाउँ।

स्थानीयता वा जीवन पद्धतिलाई जिउँदो राखेका दृश्य हामीले हिँड्दा हिँड्दै देख्यौं। बाटोबाट माथि गाउँतिर उक्लन ढुंगाले छापेका बाटा र त्योमाथि बिहानैदेखि खुर बजार्दै भारी बोकेर हिँड्थे खच्चडहरू। खच्चडलाई बाटो लगाउने पछिपछि लगाइएका सुसेलीको भाषाले गोठालाहरूले ग्रामीण जनजीवनलाई देखाउँथे। त्यहाँको परम्परागत र गाउँले जनजीवन देखाउने सबभन्दा बलिया दृष्टान्त तिनै पायौं।
सहरीकरण र आधुनिकता बढ्दै गएपछि यसको असर पहाडी र हिमाली गाउँहरूमा पनि बढ्दै गएको देखिन्छ। धेरै मौलिक संस्कृति र प्राकृतिक जीवनशैली लोप हुँदै गएको अवस्थामा घान्द्रुकले आफ्नो पहिचान र मौलिक संस्कृतिलाई कसरी बचाएको छ वा यहाँको संस्कृति कसरी बाँचेको छ भन्ने प्रश्नको उत्तर खोज्न हामी घान्द्रुको डाँडा गाउँ पुगेका थियौं। किनकी त्योभन्दा अन्य ठाउँमा अग्ला अग्ला ढलाने घर र रिसोर्टहरूले भरिँदै गएका छन्।
माघे संक्रान्तिको दिनमा पनि भिन्न रौनक हामीले अनुभव गरेनौं। संक्रान्तिको दिनमा एउटा घरमा पुग्दा आँगनमा ५/६ जना बसेर तास खेलिरहेका थिए।
मेरो घाँटीमा क्यामरा झुण्डिएको देख्नासाथ उनीहरूले फोटो भिडिओ नखिच्न आग्रह गरे। रक्सीको नसा र तासमा रमिरहेका उनीहरूले अरू सबै कुरा गर्ने तर फोटो/ भिडिओ नखिच्ने सर्त राखे।
उनीहरूसँग एकछिन संवादबाट प्रस्ट भएँ- घान्द्रुक नाममा मात्र गाउँ बाँचेको रहेछ। सोच र विचार आधुनिक भइसकेको रहेछ। जीवन जिउने शैली र पिउने तरिका आधुनिक भएछ।
ठाउँठाउँमा भाडामा राखिएको गुरूङ पोशाक गुरूङसेनीहरूले नै लगाएको देखिँदैन थियो। उनीहरु जिन्स पाइन्ट, टिसर्ट र कुर्ता सुरूवालमै देखिन्थे।
घुम्न जाने पर्यटकहरूले २०० रुपैयाँ भाडामा लिएर दुई चारवटा फोटा र भिडिओ खिचेको भरमा घान्द्रुकको मौलिक संस्कृति र पहिचान बाँचिरहेको जस्तो अनुभूति भयो। घरहरू सबै होमस्टेमा रूपान्तरण भएका छन्। तन्नेरी पुस्ताले देश छोड्दैछन्। बाउबाजे पुस्ताले आफ्नो घरलाई होमस्टे बनाएर बसेका छन्। मान्छेमा सरलता र हार्दिकता कम हुँदै गएको अनुभूति गरेँ।
हामी घुम्न जानेहरूसँगको सम्बन्धमा व्यावसायिकता मात्र छ। डोका नाम्ला, ढिँकी जाँतो सजाउने र देखाउने सामग्रीको रूपमा मात्र प्रयोग हुँदै छन्। घरको आँगनमा एक छेउमा ढिँकी सजाएर राखिएको छ तर रोटीको लागि पिठो मिक्स्चरमा पिसिएको छ। यस्तो अवस्थामा घान्द्रुकलाई परम्परागत जीवन पद्धति वा मौलिक पहिचानको गाउँ भनेर कसरी मान्नु? मभित्र अनेक प्रश्न उठ्यो।

एकै ठाउँमा गजमक्क बसेका ढुंगाका घरहरू। ढुंगाले बनेका थोरै घरहरू परम्परागत शैलीका थिए। नयाँ बन्दै गरेका घरहरू भने ढुंगाकै भए पनि आधुनिक विधि र प्रविधिले छाँटिदै थिए। काठको सट्टा सिसा र फलामको प्रयोग गरिएका थिए। जब घरहरूमा बुट्टेदार काठको स्थान फलाम र सिसाले लिन थाल्छ त्यो ठाउँ गाउँबाट सहरोन्मख हुँदै गएको मान्नुपर्छ। यो क्रम विकास हुँदै गए घान्द्रुकको मौलिकता मर्दै जानेछ।
अब हामी अर्काे पटक पुग्दा सायद घोडा र खच्चड बाँधिएका ठाउँमा मोटर साइकल पार्किङ गरिएको देखिनेछ। गुरूङ युवायुवतीहरू लोक भाका नगाइ हिन्दी र अंग्रेजी गीतमा हिपहप डान्स गरिरहेको भेटिने छ। अग्ला घरका छतमा राखिएका पानी ट्यांकीले हिमाल छेकिरहेका हुनेछ।
होमस्टेको नाममा व्यावसायिक होटल भेटिने छ। पाहुना र घरको मान्छे भन्ने सम्बन्ध होटल साहु र ग्राहकमा रूपान्तरण हुनेछ।
सायद यो समयको आवश्यकता पनि होला। अहिलेको पुँजीवादी, प्रतिष्पर्धाको युगमा हातका चार औंलाले मोबाइलको पर्दाभित्र सबै संसार देखेका जो कोही व्यक्ति र समुदाय खुम्चिएर बाँच्न पनि त कहाँ सक्छ र? शताब्दीऔंदेखि चलेको परम्परामा अडिएर उही जीवनशैलीमा खुसी भएर को बसिरहन सक्छ र?
हामीले घान्द्रुकका गुरूङले संस्कृति र मौलिकता लत्याए भन्ने नैतिकता पनि कहाँ छ र जब हामीले नै हाम्रो मौलिकतालाई छोड्दै आधुनिक बनेर फेरि नयाँपन खोज्दै घान्द्रुक पुग्न लालायित भएका छौं। समय परिवर्तनशील भएसँगै समाज र संस्कृति पनि बदलिँदै जान्छ। मान्छेको जीवनलाई सहज र सुविधा सम्पन्न गराउने कुनै कुरालाई विकृति मान्न अब उचित पनि नहोला सायद।

आफूलाई रमाइलो लाग्ने संस्कृति आफै निर्माण गरौं। नत्र भने अरूको संस्कृति जस्तो भताभुंग भएपनि त्यसैमा रमाइदिन सक्ने बनौं। आफूले आफ्नो संस्कृति र परम्परा जोगाउन नसक्ने अनि अरूको मौलिक संस्कृति खोज्दै हिँड्ने र नपाए ओ हो सबै ब्रिगिसकेछ भन्नुको कुनै अर्थ छैन। हिमालको काखमा बसेको घान्द्रुकले मौलिकता गुमाएर आधुनिक सहरमा रूपान्तरण हुँदा माछापुच्छ्रेले सधैं चिसो हिउँको च्यादर ओढेर बस्नुपर्छ भन्ने कहाँ छ?
गाउँलाई आफ्नो संस्कृति चाहिँदैन भने माछापुच्छ्रेले पनि भनिरहेको छ, ‘मलाई पनि हिउँ चाहिँदैन, तिमीहरू अग्ला रिसोर्टको छतमा उभिएर कालोपत्थर हेरेर रमाऊ।’



