भुइँचालो आयो। सम्पत्ति मात्र होइन, ढलेका थिए सम्झनाहरू पनि।
२०७२ सालको विनाशकारी भूकम्पले वैतेश्वर गाउँपालिका–६, नाम्दुका ढुंगा–माटाका पुराना घरहरू एकपछि अर्को भत्कायो। ती घरहरूमा रहेका अन्नपात, ओढ्ने ओछ्याउने सामान, भाँडाकुँडा र इतिहासका थुप्रै टुक्राहरू माटामुनि च्यापिए।
कतिपय तेस्रो पुस्ताका सिक्का, धातुका भाँडाहरू, काठका सामानहरू र घरायसी चिनोहरू यत्रतत्र छरिए। मान्छेले ज्यान जोगाउनु ठूलो कुरा ठाने, घर–संग्रहहरूको मोह त्यत्तिकै सेलायो।
नाम्दुमा तामाङ संग्रहालयको बारेमा फोटो भिडियोले सामाजिक सञ्जाल छाएका थिए। मलाई पनि कहिले जाउँ लागेको थियो। चिया पिउने क्रममा कलाकार विक्रम तामाङले प्रस्ताव राख्नुभयो- तामाङ संग्रहालयमा घुम्न जाने। मैले पनि नाइँ नभनी क्यामेरा बोकेर हिँडे। नाम्दु आफैमा सुन्दर। झन् यस खालको सकारात्मक कार्यले धेरैको मन लोभ्याएको मैले महसुस गरे।
दोलखामा आधिकारिक रुपमा कुनै खालको संग्रहालय स्थापना गरेका छैनन्। विभिन्न जातजातिहरुले आफ्नो भाषा, संस्कृति, परम्परा धान्नको लागि स्थापना गरेका संग्रहालयमध्ये एक हो तामाङ संग्रहालय।
गाउँमा संग्रहालय स्थापना हुनुमा बेलायतको शैक्षिक तथा सांस्कृतिक यात्रामा रहेका कालुराम जिम्बा तामाङ त्यहाँका आधुनिक संग्रहालयहरू घुमेका र बुझेका थिए। उनले संग्रहालयमा राखिएका पुराना काठका जाँतो, माटाका गाग्री, धातुका भाँडाहरू देखे।
-ink-1746272636.jpeg)
ती दृश्यले उनलाई झस्कायो—हाम्रा गाउँघरका ती फालिएका भाँडाकुँडा पनि त इतिहास थिए। जसलाई हामीले काम नलाग्ने भन्दै बाटोमा फाल्यौं, ती नै अर्काले इतिहास, सम्पत्ती, गहना, महत्व ठानेर संग्रहालयमा राखेका छन्।
कालुरामले आफ्नो गाउँ नाम्दुमा भत्किएका घरका छेउछाउ खोज्न थाले। उहाँलाई आफ्नो घर भत्केको भन्दा ती पुराना सामानको माया लाग्न थाल्यो। महत्वपूर्ण ठान्नु भयो। कतै माटा, कतै काठ, कतै धातुका टुक्रा भेटिए।
दिनप्रतिदिन उहाँले ती वस्तुहरू संकलन गर्न थाल्नुभयो—माटाका ठेकिदेखि ढिकी, जाँतो, धिप्री, हलोजुवा, ताल्चा, पुराना सिक्का, हसियाँ, कोदालो, एक–डेढ शताब्दी पुराना भाँडाकुँडासम्म। उहाँका लागि ती केवल भौतिक वस्तु थिएनन्, ती गाउँको पहिचान थिए, संस्कृति थिए, इतिहास, रीतिरिवाजको आवाज थिए।
आज त्यो भावनाले आकार लिएको छ। नाम्दुको दुई कोठे भवनभित्र 'तामाङ मिनी संग्रहालय'। कुनै निकाय वा संस्थासँग सहयोग माग्ने काम गर्नुभएन। उहाँले आफ्नै कमाइ र श्रम खर्चेर बनाएका हुन् यो संग्रहालय। अहिले संग्रहालयमा दुई सयभन्दा बढी सामग्रीहरू सजिएर बसेका छन्, मानौं अतीत फेरि बोल्न थालेको छ।
संग्रहालयले अब नाम्दुका सीमाना नाघेको छ। आफ्नै पालिकाभित्र रहेका विद्यार्थीहरु आउने गरेका छन्। काठमाडौंबाट विद्यार्थी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ताहरू अवलोकन गर्न पुग्ने गरेका छन्।
-ink-1746272640.jpeg)
'यी सामग्री भविष्यका पुस्ताले हेर्दा इतिहास पढेझैँ महसुस गर्नेछन्,' संग्रहालय सञ्चालक कालुराम भन्नुहुन्छ।
अब उहाँको योजना छ—संग्रहालयलाई अझ बृहत रूप दिने। तामाङ संस्कृतिसँग मात्रै सीमित नराखी, अन्य जातजातिका लोपोन्मुख सामग्री पनि संकलन गरेर साझा सांस्कृतिक थलो बनाउने सोचमा हुनुहुन्छ। उहाँको त्यो सपना—संवेदनाले जन्मेको सपना हो, जसले हाम्रो सामूहिक पहिचानको संरक्षण गर्छ।
हिजोका दिनका साधारण देखिने सामानहरू आज इतिहास भएका छन्। कालुराम जिम्बा तामाङको यो पहल केवल संग्रह मात्र होइन, यो त संस्कृति, पराम्परा र इतिहास जोगाउने संघर्ष हो। एक व्यक्तिको सपनाबाट सुरु भएको, तर हामी सबैको साझा सम्पदा बन्ने दिशामा लम्किएको एक प्रेरणादायी विशाल अभियान। उनी कलकार पनि भएकाले कला, संस्कृतिको सम्मान गरेको मैले ठाने। उनको यस अभियानले आन्तरिक पर्यटकको गतिलो गन्तव्य बनेको छ।
-ink-1746272639.jpeg)
-ink-1746272639.jpeg)
-ink-1746272637.jpeg)
-ink-1746272637.jpeg)
-ink-1746272637.jpeg)
-ink-1746272638.jpeg)
-ink-1746272639.jpeg)
-ink-1746272639.jpeg)
-ink-1746272637.jpeg)
-ink-1746272636.jpeg)
-ink-1746272636.jpeg)
-ink-1746272636.jpeg)