एउटा चिटिक्क परेको गाउँ, जहाँ समय आफैमा सुन्दर चित्र बनेर झुण्डिएको छ। ठीक अगाडि, चाँदीझैँ टल्किरहेको ७,१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल, जसको गौरवमय उपस्थिति हरेक आगन्तुकको आँखामा जादू छर्छ। चारैतिर फैलिएको घना हरियाली वन, मानौँ प्रकृतिले आफ्नै हातले सिँगारेको सुरेल बस्तीलाई। भूगोलले पनि कस्तो अनुपम वरदान दिएको होला, यो शान्त र सुन्दर भूभागलाई! यहाँ पाइला टेक्नेबित्तिकै जो कोहीको मन पनि लोभिन्छ, एक अनौठो आकर्षणले बाँधिन्छ।
सुरेल, नेपालको लोपोन्मुख जातिमध्ये एक हो। दोलखाको गौरीशंकर गाउँपालिका–५, सुरी, यो त्यही पवित्र भूमि हो जहाँ उनीहरूको पुर्ख्यौली जराहरू गाडिएका छन्। मेरो बाल्यकालदेखि नै सुरेलहरूसँग एक अटुट नाता जोडिएको छ। हलेश्वर माध्यमिक विद्यालय, सुरी कक्षा ६ मा पढ्दा, विनोद सुरेल र कल्याण सुरेल मेरा अभिन्न मित्र थिए। म तामाङको छोरो, उनीहरू सुरेलका। सुरूमा त 'सुरेल' शब्द नै कस्तो अनौठो लाग्थ्यो! तर जब उनीहरूसँग घुलमिल हुन थाल्यो, हाम्रो मित्रता झन् गाढा भयो।
सुरेल जाति, कस्तो सोझो र इमानदार। सायद कक्षा ६ देखि केही वर्षसम्म हामी सँगसँगै थियौँ। अहिले पनि बेलाबेलामा विनोद र कल्याणसँग भेट हुन्छ, ती स्कुले दिनहरूको याद ताजा हुन्छ। उनीहरूको घर पुग्न स्कुलबाट करिब ४०–४५ मिनेट लाग्थ्यो होला। तर अचम्मको कुरा, त्यतिबेला कहिल्यै उनीहरूको घर जाने अवसर जुरेन। खाली समयमा प्रधानाध्यापक अर्जुन बस्नेतले पनि सुरेलको बारेमा हामीलाई बेला बेलामा जानकारी दिनुहुन्थ्यो। जसले गर्दा सुरेलको बारेमा थप परिचित हुने अवसर मिल्थ्यो।
राष्ट्रिय जनगणना २०७८ अनुसार, सुरेलको जनसंख्या मात्र ३१८ छ। तर जब मैले पत्रकारितामा पाइला राखेँ, सुरेलको बारेमा थप अध्ययन र रिपोर्टिङ गर्ने मौका मिल्यो। त्यसैले बेलाबेलामा म सुरेल बस्ती पुगिरहन्छु। अहिले त त्यहाँसम्म यातायातको सुविधा पनि पुगेको छ। विभिन्न सामाजिक संघसंस्थाहरू पनि सुरेलको बारेमा रिपोर्टिङ गर्न हामीलाई लैजान्छन्। यो ठाउँ पत्रकारहरूको लागि पनि एउटा रोचक गन्तव्य बनेको छ।
मधुसुदन आचार्यले सुरेलको बारेमा धेरै अध्ययन अनुसन्धान गरेर डकुमेन्ट्री र पुस्तकहरू प्रकाशन गर्नुभएको छ। दोलखाका पूर्वप्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले त सुरेलको बारेमा शोधपत्र नै तयार पार्नुभएको छ।
दोलखाका पत्रकार चिरञ्जीवी मास्के र राजेन्द्र मानन्धरले धेरै समाचार र लेखहरू प्रकाशित गर्नुभएको छ। तैपनि, अझै धेरै कुराहरू खोतल्न बाँकी छन्। सुरेलको भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नु आज एक ठूलो चुनौती बनेको छ। तर खुसीको कुरा, पछिल्लो समय गौरीशंकर गाउँपालिका, भाषा आयोग, सुरेल जाति उत्थान समाज लगायतले भाषा र संस्कृतिको संरक्षण तथा जीविकोपार्जनका लागि धेरै पहल गरिरहेका छन्। प्रल्हाद, सुवास, कल्याण, विनोद, विकास सुरेल जस्ता युवाहरू आफ्नो समुदायको भाषा र संस्कृति जोगाउन कटिबद्ध भएर लागेका छन्।
म सायद आफ्नो घर झ्याँकुमा त्यति धेरै पुग्दिनँ होला, तर सुरेल बस्तीमा वर्षमा दुई–तीन पटक अवश्य पुग्छु। सुरेलका युवाहरू पनि आफ्ना संस्कृति संरक्षणमा सक्रिय छन्। उँभौली, उधौली, चनपूजा जस्ता चाडपर्वहरूलाई निरन्तरता दिन थालेका छन्। संघसंस्था लगायत सामाजिक अभियानहरूमा युवाहरूको नै अग्रसरता देखिन्छ। सरकारी क्षेत्रमा अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीमा दुई जना मात्र जागिरे छन्। एक जना महिला वडा सदस्य हुनुहुन्छ। यिनीहरूको मुख्य पेसा भनेको कृषि र चोयाका सामग्री बुन्ने काम हो। सुरेलको बारेमा अध्ययन अनुसन्धान गर्न धेरै मानिसहरू आइरहन्छन्। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले होमस्टेको व्यवस्था गरेको छ। वडा कार्यालयले पहिचानका लागि प्रत्येक घरमा जातीय लोगो तयार पारिदिएको छ।
बस्ती नजिकै सुरेल जाति संग्रहालय पनि निर्माण गरिएको छ। जसले गर्दा सुरेलको बारेमा अध्ययन, अनुसन्धान र सुरीको भ्रमणमा पुुगेका जोकोहीलाई उपयुक्त गन्तव्य बनेको छ । सुरेल, एउटा सानो तर जीवन्त समुदाय, जसको आफ्नै गौरवमय इतिहास र परम्परा छ। उनीहरूको सुस्केरामा एउटा गहिरो कथा लुकेको छ, जुन हामी सबैले सुन्न र बुझ्न आवश्यक छ। प्रकृति र संस्कृतिले सिंगारिएको यो सुन्दर बस्ती, लोपोन्मुख भए पनि आफ्नो पहिचान जोगाउन संघर्ष गरिरहेको छ। यहाँका मान्छेहरूको सादगी र इमानदारीले मेरो मन सधैँ छुन्छ । सायद, मेरो जीवनको कुनै न कुनै तार सुरेलको सुस्केरासँग जोडिएको छ, जुन बेलाबेलामा बजिरहन्छ।
-1747464194.jpg)
-1747464194.jpg)
-1747464193.jpg)
-1747464193.jpg)
-1747464191.jpg)
-1747464193.jpg)
-1747464191.jpg)
-1747464192.jpg)
-1747464192.jpg)
-1747464190.jpg)
-1747464190.jpg)