पहिलो दिन: मे ५, २०२५
धेरै समयदेखि प्रतीक्षामा रहेको त्यो विशेष दिन अन्ततः आकाशबाट झरेको कुनै सौभाग्यझैं भासियो। हप्तौँ अघिदेखि गरिएको तयारी, मनमा पलाएको अपार उत्साह, र आत्माभित्र सुम्सुम्याएको तीर्थको गहिरो आह्वान आज मूर्त रूपमा हाम्रो जीवनमा अवतरित भयो। उत्तर भारततर्फको ११ दिने पारिवारिक धार्मिक यात्राको पहिलो पाना खुल्दै थियो।
हामीले हाम्रो गृहनगर परासीबाट झण्डै १०० किलोमिटर टाढा रहेको गोरखपुरतर्फको यात्रा आरम्भ गर्यौं—साथमा थियो समर्पण, श्रद्धा, र सारा परिवारको सामूहिक सपना। दिउँसोको सुनौलो घामको उज्यालोमा, झण्डै ४ बजे हामी गोरखपुर प्रस्थान गर्यौं, जहाँबाट हाम्रो यात्रा बद्रीनाथ, हरिद्वार, ऋषिकेश, देहरादून र मसूरीतर्फ विस्तार हुने थियो।
झण्डै ७ बजे, हामी गोरखपुर रेल स्टेसनमा निर्धारित समयभन्दा धेरै अघि नै पुगेका थियौं। सबैतिर उत्सुकता थियो, अनुहारहरूमा चमक थियो। तर केही समयमै त्यही उज्यालोलाई ओझेल पार्ने खबर आयो—हाम्रो देहरादूनतर्फ जाने रेल रद्द भएको रहेछ। त्यो क्षणले हामीलाई स्तब्ध बनायो। सपना एकछिनका लागि टुटेजस्तो लाग्यो। केहीबेर मौन छायो, तर परिवारको अटुट विश्वास र लचिलोपनले त्यो निराशालाई धेरै बेर बस्न दिएन।
तुरून्तै हामीले ‘प्लान बी’ कार्यान्वयन गर्यौं—लखनऊसम्मको बस समात्ने निर्णय गर्यौं, ताकि त्यहाँबाट अर्को सम्भावनाको ढोका खोल्न सकियोस्। रातको ११:३० बजे, हामी फेरि यात्रामा निस्कियौं—अझै श्रद्धा, हिम्मत र आशाको उज्यालो बोकेर, ताराहरूको छाया र आकाशको मौन साक्षी बनाउँदै।
त्यो रात केबल गन्तव्यतर्फको यात्रा थिएन—त्यो आस्था, धैर्य र पारिवारिक एकताको पहिलो परीक्षा पनि थियो।
***
दोस्रो दिन:
अनिश्चितताबीचको धैर्यको विजय
– लखनऊदेखि देहरादूनसम्मको चुनौतीपूर्ण यात्रा –
बिहानको ४:३० बजे हामी लखनऊमा ओर्लियौं—जहाँ शान्त वातावरण थियो, तर दिशाहीनता पनि। सोचेका थियौं, देहरादूनतर्फको कुनै सिधा बस भेटिएला, तर त्यो सम्भावना चाँडै समाप्त भयो।
निराश नहुञ्जेल, हामी बरेली जाने अर्को बसमा चढ्यौं। दिनभरको लामो यात्रा शारीरिक र मानसिक दुवै दृष्टिले थकाइदायक थियो, तर सौभाग्यवश बाटो राम्रो थियो र बसको सिट पनि केही सहज। धेरै सवारी परिवर्तनहरू पार गर्दै, हामी झण्डै बिहान ९ बजे हरिद्वार र त्यसपछि १०:३० बजे देहरादून पुग्यौं—हाम्रो यात्राको आधारविन्दु।
रेल रद्द हुनु र अनिश्चितताको क्षणहरू अझै मनमा बल्झिरहेका थिए, तर त्यहाँ पुग्दाको राहतले केही घाउहरू मलहम पाएजस्तै लाग्यो। सरकारी रेल सेवाप्रतिको अविश्वास अझ गहिरिएको थियो।
***
तेस्रो दिन:
बद्रीनाथको ढोका खुल्दै
–संघर्षपछि प्राप्त यात्रा अनुमति र आध्यात्मिक प्रतिबद्धता –
थोरै विश्रामपछि हाम्रो अगाडिको मुख्य कार्य थियो—बद्रीनाथ जाने अनुमति पास प्राप्त गर्नु। अघिल्लो दिन अनलाइन रजिस्ट्रेसन गर्न खोज्दा वेबसाइटले काम नगरेको समस्याले मनमा चिन्ता थपेको थियो।
मेरो तनाव बुझेर दीपु दाइले मलाई गाडीको साँचो थमाउँदै हरिद्वार पुगेर म्यानुअल पास बनाउन सुझाउनुभयो। साथै, लामो लाइन टार्न सक्ने एक व्यक्तिसँग सम्पर्क पनि मिलाइदिनुभयो। उनको यो सहयोग र हौसलाले म ५२ किलोमिटरको यात्रा तय गर्दै फेरि देहरादून फर्किएँ।
सौभाग्यवश, प्रयास सफल भयो—अन्ततः त्यो बहुप्रतिक्षित यात्रा पास हात पर्यो। अब बद्रीनाथको मार्ग खुलिसकेको थियो, र मेरो काँधमा रहेको चिन्ताको भारी हल्का भयो।
⸻
चौथो दिन:
'हिमालयतर्फको आत्मिक आरोहण- बद्रीनाथको दिव्यतामा पहिलो दर्शन'
त्यो बिहान कुनै साधारण बिहान थिएन—हाम्रो सम्पूर्ण यात्राको आध्यात्मिक हृदय, बद्रीनाथ यात्रा, आज सुरू हुँदै थियो। ट्याक्सी केही ढिलो आए पनि हाम्रो मन पूर्ण शान्त र समर्पित थियो।
हामीसँग पण्डित अविनाश पनि थिए, जसले मार्गदर्शन र संरक्षण दुवै गर्दै साथ दिनुभयो। नास्तापछि झण्डै ९ बजे हामी बद्रीनाथ तर्फको यात्रा सुरू गर्यौं।
१० बजे हरिद्वारबाट प्रस्थान गर्यौं, गङ्गाको पवित्र धारा हाम्रो यात्रासँगै बगिरहेकी थिई। १०:४५ बजे ऋषिकेश पुग्यौं, जहाँ हरियाली र नदीको सौन्दर्यले हामीलाई स्वागत गर्यो। १२:१० बजे देवप्रयागमा अलकनन्दा र भागीरथीको संगम देख्दा शब्द नै गुम भयो—त्यो एक आध्यात्मिक विस्फोटजस्तो अनुभव थियो।
पछि श्रीनगर, रूद्रप्रयाग, कर्णप्रयाग, नन्दप्रयाग, चमोली हुँदै हामी निरन्तर हिमाली उकालो चढ्यौं। हावा चिसिँदै गइरहेको थियो, बादलहरू अझ नजिक हुँदै गएका थिए—यो आत्माको आरोहणजस्तै लाग्थ्यो।
७:०० बजे जोशीमठ, ८:०० बजे गोविन्दघाट हुँदै रातको ९:०० बजे हामी बद्रीनाथ आइपुग्यौं। हिउँले ढाकिएको पर्वतहरू बीचको यो पवित्र नगरले हामीलाई आत्मिक अंगालोमा बाँध्यो।
पण्डित अविनाशले मन्दिर अगाडि नै बस्ने कोठाको व्यवस्था गर्नुभएको थियो। कोठाको झ्यालबाट हेर्दा बद्रीनाथ मन्दिर फूल र बत्तीसँग झिलिमिली देखिन्थ्यो। थकाइ शरीरमा थियो, तर मन मन्दिरमा पुग्न आतुर। हामी सिधा मन्दिर पुग्यौं, मन्दिर बन्द भइसकेको थियो, केही फोटोहरू खिच्यौं, र दिव्यता महसुस गर्यौं।
त्यही बेला बाल्यकालको सम्झना आयो—हजुरआमाले सुनाएका ती कथाहरू, ती कठिन यात्राका प्रसंगहरू। आज ती सब यथार्थ भएर मेरो आँखाअगाडि थिए। मलाई अब लाग्यो—बद्रीनाथ गन्तव्य होइन, त्यो त आत्माको आह्वान हो, एक दिव्य ऊर्जा, जुन युग युग पार गर्दै आत्मासँग बोल्न आउँछ।
⸻
पाँचौं दिन:
'श्राद्ध, स्त्री, र मौन पीडा'
बिहानको पहिलो किरणसँगै मन्दिरको घण्टीको मधुर ध्वनिले हाम्रो निद्रा टुटायो। त्यो आवाज केवल कानका लागि थिएन, त्यो आत्माको जागरण थियो—हृदयको गहिराइबाट आस्था बगेको क्षण।
झ्यालबाट हेर्दा बद्रीनाथ मन्दिर उज्यालोमा नुहाएको देखिन्थ्यो, गंगाको कलकल स्वरले त्यो क्षणलाई अझ दिव्य बनाएको थियो। यस्तो अनुभूति जीवनमा कमै आउँछ—जहाँ शान्ति, सौन्दर्य, आस्था र अश्रु सबै एकै ठाउँमा मिसिन्छन्।
आजको दिन विशेष थियो—बुवाले ब्रह्मकपालमा पित्तृहरूको शान्तिका लागि श्राद्ध गर्ने निधो गर्नुभएको थियो। बिहान ७ बजे हामी ब्रह्मकपाल पुग्यौं। त्यहाँको भिड र श्रद्धा अद्भुत थियो, र नेपाली पुजारीहरूको उपस्थिति हाम्रा संस्कारप्रति गहिरो अपनत्व जगाउने खालको।
श्राद्ध विधिपूर्वक सम्पन्न हुँदा १० बजिसकेको थियो। मन एकातर्फ हलुका, तर अर्कातर्फ गहिरो प्रश्नमा तड्पिरहेको—हाम्रो धर्मशास्त्र किन यति कठोर? किन एउटी छोरीलाई आफ्नै आमाको आत्माको शान्तिका लागि कर्म गर्न निषेध गरिन्छ?
मेरो पत्नि शिप्राको आमाको छोरा छैन। उनका बाबुले, दोस्रो विवाह गरे पश्चात पहिलो श्रीमतीप्रति श्राद्ध उत्तरदायित्व पूरा गरिएको कुनै जानकारी शिप्रालाई रहेनछ।
शिप्राको मनमा एक गहिरो, अब्यक्त चाहना थियो—बद्रीनाथको पवित्र भूमिमा, भगीरथी गङ्गाको ध्वनिबीच, आफ्नी आमाको आत्मालाई शान्तिको कामनासहित श्राद्ध गर्न। त्यो केवल कर्म मात्र होइन, एक छोरीको प्रेम, वियोग, र आध्यात्मिक समर्पणको पराकाष्ठा थियो।
तर जब उनले त्यो भावना अभिव्यक्त गरिन्, उनलाई भनियो—'शास्त्रले यो अनुमति दिँदैन।' त्यो वाक्य उनका भावनामाथि वज्रपातजस्तै पर्यो। उनी स्तब्ध भइन्, मौन भइन्। बोलेर केही पनि परिवर्तन नहुने थाहा थियो।
त्यसपछि हामी गङ्गा किनार आइपुग्यौं। उनले एक शब्द पनि नबोली, आँसुका थोपा गङ्गाजलमा मिसाइन्, आमाको सम्झनामा जल अर्पण गरिन्। त्यो मौन अर्पणमा म देख्थेँ—त्यो पीडा, त्यो श्रद्धा, त्यो असहायता—सबै एउटा अश्रु बनेर गङ्गासँग बगिरहेको थियो।
-copy-1747481107.jpg)
यसैबीच, भारत–पाकिस्तानबीचको तनावबारे साथीहरूबाट आएका सन्देशहरूले केही चिन्ता थप्यो। तथापि, भगवानको कृपाले हामी लाइनमा बस्न नपर्ने विशेष व्यवस्था पायौं—पण्डित अविनाशजीको सहयोग त्यस क्षणमा स्वर्गदूतसरह लाग्यो।
अन्ततः, केवल केही मिनेटमै हामी भगवान बद्रीनाथको चरणमा पुग्यौं। आँखा अगाडि तेजोमय रूप, कानमा मन्त्रको गुञ्जन, र मुटुमा अगाध शान्ति—यो जीवनको ती दुर्लभ क्षणहरूमध्ये एक थियो।
मेरो आमाको अनुहारमा देखिएको सन्तोष, श्रद्धाले भरिएको मौन हाँसो र आन्तरिक खुसी—त्यो नै हाम्रो सम्पूर्ण यात्राको सार र फल थियो।
***
यात्राभित्रको यात्रा
बाहिरबाट हेर्दा यो एउटा धार्मिक यात्रा थियो—तीर्थस्थलहरूको दर्शन, नियम र कर्मकाण्डहरू। तर भित्री यात्रा त केही अर्कै थियो—मौन आत्मासँगको संवाद, नदेखिने पीडासँगको साक्षात्कार, र श्रद्धाभित्र लुकेको प्रेमको अनुभूति।
आमाका आँखामा देखिएको गहिरो तृप्ति, र श्रीमतीको मौन समर्पण—यी सबैले आत्मा र सम्बन्धहरूको अनौठो संगीत सुनाए। बद्रीनाथ पुग्नु केवल हिमालको फेदीमा पुग्नु थिएन, त्यो त आत्माको शिखर छुने क्षण थियो।