ग्लोबल नेपाली
बागलुङको गलकोटका लालसिंह खड्काले थाइल्यान्डमा काम गरेको ६ महिना भएको थियो। उनले भिसा एक्स्टेन्सन (बसाइ लम्ब्याउने प्रक्रिया) गर्नु थियो। त्यसनिम्ति केही दिन थाइल्यान्ड छोड्नै पर्ने बाध्यता थियो।
यो थियो सन् १९९९ को कुरा।
थोरै दिन थाइल्यान्ड छोड्न नजिकको देश क्याम्बोडिया जाने निधो गरे। नेपालीका लागि क्याम्बोडिया जानु सजिलो थियो। नेपालीले अन–अराइभल (पुगेपछि दिने) भिसा पाउँथे।
पेसाले सेफ रहेका लालसिंहलाई क्याम्बोडियामा रहेका नेपालीहरूले त्यहीँ बस्न सुझाब दिए।
'मेरो मन पनि लोभियो। नेपालीहरूकै सुझाव अनुसार मैले त्यहीँ बस्ने निर्णय गरेँ,' उनले भने।
क्याम्बोडियामा काम सुरू भयो। करिब एक वर्ष अर्कैको काम गरे। सन् २००१ मा राजधानी नोम फेनमा आफै एउटा रेस्टुरेन्ट खोले। त्यसयताको २४ वर्ष उनले रेस्टुरेन्टमै लगानी गरे।
हाल उनी सात वटा रेस्टुरेन्ट चलाउँछन्। नोम फेनमा एउटा होटल पनि छ।
यी होटल र रेस्टुरेन्टमा कम्तीमा सय जनाले रोजगारी पाएको उनले बताए। तीमध्ये ३२ जना नेपाली छन्।
'क्याम्बोडियामा देशबाहिरबाट लगानी ल्याउन सहज छ। व्यापार गर्न पनि सजिलो छ। नेपालमा जस्तो पहिले कम्पनी खडा गरेर व्यवसाय सुरू गर्नुपर्ने बाध्यता छैन,' लालसिंहले भने।
आवश्यक कागजपत्र पूरा गरेर बिस्तारै कम्पनी दर्ता गर्न पाउने सुविधा छ। उनी व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन्। हाल एनआरएनए (गैरआवसीय नेपाली संघ), क्याम्बोडियाका अध्यक्ष उनै हुन्।
क्याम्बोडियामा नेपालीको संख्या थोरै भए पनि पछिल्लो समय समस्यामा पर्ने गरेको उनले बताए। राम्रो तलब पाउने लोभमा नेपाली युवाहरू 'चाइनिज कल सेन्टर' को सिकार हुने गरेको उनको भनाइ छ।
'महिनाको १५ सय डलर तलब पाइन्छ भनेर नेपाली युवायुवती सात लाख रूपैयाँ तिरेर आउने गरेका छन्। क्याम्बोडिया पुगेपछि चाइनिज कल सेन्टरले पासपोर्ट थुतेर बन्धक बनाई स्क्याममा लगाउने गरेको पाइएको छ,' लालसिंहले भने, 'अहिले हामी दूतावाससँग मिलेर महिना दिनमै २० देखि ३० जनासम्मको उद्धार गरिरहेका छौं।'
राम्रो तयारी नगरी, सबै कुरा राम्ररी नबुझी त्यस्तो लोभमा परेर क्याम्बोडिया नआउन उनको सुझाब छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com