ग्लोबल नेपाली
जापानमा बस्ने नेपालीका लागि नेपाल हाउस धार्मिक, सामाजिक र सांस्कृतिक आवश्यकता हो। हिजोका दिनमा जापानमा सानो संख्यामा नेपाली रहँदा यसको जरूरी थिएन। अहिले नेपालीको संख्या बढेर साढे २ लाख पुगिसकेको छ। अहिले जापानमै नयाँ पुस्ता हुर्किँदै गर्दा उनीहरूलाई नेपाल चिनाउनका लागि पनि नेपाल हाउसको आवश्यकता छ।
दोस्रो पुस्तालाई हाम्रो कला, वेशभूषा चिनाउन पनि यसको आवश्यकता छ। हाम्रो विवाह, ब्रतबन्धनदेखि लिएर हरेक कार्यक्रममा उपस्थिति ठूलो हुने हुनाले पनि ठाउँ चाहिएको छ। हाम्रा विभिन्न ठाउँ र संस्कृतिलाई जापानमा रहेका नेपाली, दोस्रो पुस्ताका नेपाली, जापानवासी तथा अन्य देशका नागरिकलाई समेत चिनाउने हाम्रो प्रयास हो।
नेपाल हाउसमा हामीले पशुपति नाथको मन्दिर, बौद्धको गुम्बा बनाउँछौं। त्यसपछि हामीसँग ठूलो हल हुन्छ। हामीले त्यहाँ विवाह, ब्रतबन्ध गर्दा हवन गर्नेदेखि अन्य धार्मिक कार्यक्रम अण्डरग्राउण्डमा गर्न मिल्ने गरी बनाउँदैछौं। त्यसको कारण भनेको त्यसले जापानिजहरूलाई असर नगरोस् भन्ने हो।
एउटा हलमा हलो, जुवा, स्याखु लगायत राखिन्छ। भगवानका मूर्ति, नेपाललाई चिनाउने विभिन्न सामग्री राखेर हामीले संग्रहालय जस्तो बनाउँछौं।हरेक जातजातिको परम्परा र संस्कृति झल्काउने गरी समेत हामीले सम्झाउँछौं। नेपाल हाउसमा छिरेपछि नेपाल गएको भान होस् भन्ने हाम्रो चाहना हो।
अहिले हामी यो कार्यकालको प्रारम्भिक चरणमै छौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षको उम्मेदवार बन्ने क्रममा यो मुद्दालाई मैले जोडतोडका साथ उठाएको हो। मेरै कार्यकालमा यसलाई पूरा गर्ने मेरो लक्ष्य छ। हामी त्यसकै लागि खटिएका छौं। नोभेम्बर ८ तारिकदेखि हामीले नेपाल हाउस निर्माणार्थ सहयोगको लागि सप्ताह लगाउँदैछौं। त्यसको लागि नेपालबाट हिन्दू र बौद्ध धर्म गुरू जाँदै हुनुहुन्छ।यसरी विभिन्न कार्यक्रम गरेर नेपाल हाउसको निर्माणमा हामी द्रूत गतिमा लाग्नेछौं।
अहिले हामीले डिजाइनको काम गरिरहेका छौं। जापानको नियम कानुनले पनि समय लाग्ने भएकाले हामीले सोचेकै गतिमा जान सकेको छैन।सप्ताहपछि भने हामीले यसको निर्माण प्रक्रिया सुरू गर्छौं। जग्गा एनआरएनए जापानको नाममा आइसकेको छ। अब भवन निर्माणको लागि अर्थ संकलन जरूरी भएकाले हामीले यसका लागि समेत काम गरिरहेका छौं।
अहिलेसम्म जग्गाको लागि ३ देखि ४ करोड रुपैयाँ खर्च भएको छ। अब हामीले हाम्रो परिकल्पना अनुसारको बनाउन कम्तीमा ५ करोड रुपैयाँ चाहिन्छ। एकैचोटि सबै काम गर्न नसके पनि हामी विस्तारै क्रमबद्ध रूपमा काम गर्छौं।
हामीले जापानमा अलपत्र परेकालाई बस्न मिल्ने अनि टोकियो बाहिरबाट आएकालाई बस्न मिल्ने गरी कोठा र शाकाहारी रेस्टुरेन्ट बनाउँछौं।टोकियोभन्दा बाहिरबाट आएका नेपालीहरूलाई न्यूनतम शुल्क लिएर त्यहाँ राखिन्छ। जसले गर्दा होटलको भन्दा सस्तो खर्चमा बस्न सकिन्छ। यसले गर्दा नेपाल हाउस सञ्चालनको खर्च समेत उठ्छ।
निर्वाचनमा मेरो प्रतिबद्धता अनुसार कार्यालय सचिव राखिएको छ। एनआरएनए जापानको आफ्नै हटलाइन नम्बर छ। त्यो हटलाइन नम्बरमा आइतबार बाहेक ६ दिन बिहान १० बजेदेखि ५ बजेसम्म फोन उठ्छ। जापानमा रहेका नेपालीको समस्या सुनेर त्यसलाई कसले समाधान गर्न सक्छ भनेर हामीले सम्बन्धित निकायमा पठाउँछौं। अथवा हामीले गर्न सक्ने रहेछ भने हामी आफै सक्रिय हुन्छौं।
पासपोर्टको शुल्क बाहेक यसको प्रक्रियामा लाग्ने खर्चलाई कम गराउने र सकेसम्म निःशुल्क बनाउन हामी प्रयासरत छौं।
एनआरएनए संस्था आफैमा नराम्रो होइन। यसमा लागेकाहरूले विगतमा केही नराम्रो गरेका हुन सक्छन्। अर्को कुरा हाम्रो स्वभाव पनि यस्तो छ कि सकारात्मक कुरा फैलिन समय लाग्छ अनि नकारात्मक चाँडै र धेरैतिर फैलिन्छ। सानो गल्तीमा पनि धेरै गाली खाइन्छ। धेरै राम्रा कामको पनि प्रचार हुँदैन। तर पछिल्ला दिनमा विस्तारै कम हुँदै गएको छ।
मैले निर्वाचनमा उठाएका एजेण्डाहरू कार्यान्वयन गर्नकै लागि म नेपाल आएको हो। तर यो परिवर्तित परिस्थितिमा कुराकानी हुन सकेन। हुन त मेरो पनि यो पूर्वनिर्धारित कार्यक्रम थियो। मेरो यस पटकको एजेण्डा भनेको जापान जाने विद्यार्थीका लागि बीमाको व्यवस्था गर्नु थियो। जापान जाने विद्यार्थीको बीमा हुँदैन। तर जापानमा धेरै अप्रिय घटना घटेको हुनाले विद्यार्थीको कुनै कारणले मृत्यु भएमा नेपाल ल्याउन महँगो पर्छ। यदि बीमा भएमा ती समस्या समाधान हुन्छन्। अहिले त त्यहाँ सामाजिक संस्था अनि व्यक्तिहरूसँग चन्दा माग्ने गरिएको छ। बीमाको लागि एनआरएनए जापानले मिलेर काम गर्न तयार छ भनेर भन्न पनि आएको हो।
सरकार परिवर्तन भएकाले कोसँग गएर यो माग राख्ने त भन्ने अन्यौलता भयो। अब हाम्रो टोली छिट्टै आएर यसबारे कुरा गर्छ।
त्यस्तै नेपाल एयरलाइन्समा गएर यसको भाडा घटाउनु पर्छ भन्ने पनि थियो। जापानको भाडा धेरै महंगो छ, यसलाई कम गर्नुपर्छ भन्ने हो। जहाज भाडाको कुरामा पनि केही अन्यौलता छ। सरकारले पूर्णता नपाएको कारणले केही समस्या भएको हो। यी एजेण्डामा जापानमा रहेको नेपाली दूतावास र हामी एकै ठाउँमा छौं। अब अर्को पटक आउँदा यी सबै एजेण्डामा मसिनो गरेर छलफल हुन्छ।
(जापानमा बन्दै गरेको नेपाल हाउस, जापानमा रहेका नेपालीले भोगेका समस्या लगायतका विषयमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुभास लामिछानेसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)