ग्लोबल नेपाली
आन्तरिक र बाह्य दुवै पर्यटकका लागि चल्तीको ठाउँ हो सिन्धुपाल्चोकको सुकुटे। काठमाडौंबाट धेरै टाढा छैन, करिब ६२ किलोमिटरको यात्रामा पुगिन्छ।
त्यहीँ छ 'सुकुटे रिभर फन बिच रिसोर्ट'।
यो रिसोर्ट सात जना युवाले साझेदारीमा चलाएका छन्— टंकनाथ गुरागाईं, ललित गिरी, राजकुमार गिरी, विष्णुराज गिरी, विमल गिरी, विष्णुसिंह ठकुरी र विजुलराज गिरी।
उनीहरूमध्ये ६ जना वैदेशिक रोजगारीबाट फर्केका हुन्।
स्वदेशमै व्यवसाय गर्ने सोचले उनीहरू दस वर्षअघि साउदी अरब, दुबई र जापानबाट फर्केका थिए।
रिसोर्टका सञ्चालकमध्ये एक जना हुन् विमल गिरी। उनका अनुसार समूहका केही सदस्यको घरगाउँ एकैतिर हो। एकअर्का मार्फत अन्यसँग पनि चिनजान भयो।
पेसाले उनीहरू सबै जना होटलका सेफ थिए।
'आपसमा भेटघाट भयो। आफ्नै केही काम गर्ने सोच मिल्यो अनि व्यवसायमा जोडियौं,' उनले भने।
सन् २०१५ मा फर्किएका ६ जनाले सन् २०१६ मा काठमाडौं उपत्यकाको गठ्ठाघरमा चल्तीको एउटा सानो रेस्टुरेन्ट साझेदारीमा किने। होटलका सेफ भएकाले उनीहरूले नेपालमा रेस्टुरेन्ट व्यवसाय रोजेका थिए।
उनीहरूले त्यो पुरानो रेस्टुरेन्ट आफ्नो योजना अनुसार डिजाइन गरे। नाम फेरेर 'मझेरी क्याफे एन्ड लाइभ सेकुवा' बनाए। आफ्नै रेस्टुरेन्टमा काम गर्ने सेफलाई पनि साझेदारीमा लिएर सात जनाको समूह बनाए।

नयाँ रेस्टुरेन्टको मेनुमा उनीहरूले सेकुवा र अन्य विभिन्न परिकार राखे। तौल गरेर किलोका हिसाबमा सेकुवा किनेर खान पाउने सुविधा दिए। यो सुविधा ग्राहकले मन पराए, भिड बढ्यो।
'आज, भोलि भन्दाभन्दै एक वर्ष बित्यो। ग्राहकको भिडले ठाउँ साँघुरो भयो। नयाँ ठाउँ चाहिने भयो,' विमलले भने।
नजिकै २२ आना जग्गा भाडामा पाए। संरचना बनाउन एक वर्ष लाग्यो। सबै संरचना तयार भएपछि रेस्टुरेन्ट सारे।
जोस र जाँगरले भरिएका उनीहरू त्यतिमै अडिएनन्। व्यवसाय विस्तारमा जुटे।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३, सुकुटेमा जग्गा भाडामा लिए र रिसोर्टको संरचना बनाउन थाले। ग्राहकले रात बिताउने ११ वटा कोठा र ६ वटा टेन्टसहितको संरचना साढे दुई वर्षमा तयार भयो।
खाली जमिनमा तरकारी र आँप, लिची, कटहर, केरा लगायत फलफूल लगाए।
व्यवसाय सुरू भयो। अपेक्षा अनुसार नै ग्राहक आउन थाले।
'सेवा सुरू भएको एक महिना पूरा भएको थियो। परिस्थिति अनुकूल बन्दै थियो। त्यही बेला कोरोना भाइरस फैलियो,' उनले भने, 'हामी सेवा बन्द गर्न बाध्य भयौं।'
आतेसले केही हुनेवाला थिएन। साझेदारहरू परिस्थिति चाँडै सुधार हुने विश्वासका साथ बसे। आखिर ६ महिनापछि सेवा पुनः सुरू भयो।
त्यसपछिका सानातिना समस्या समाधान गर्दै उनीहरू अघि बढेका छन्। रिसोर्टमा सेवा विस्तार भएको छ। हाल ३३ वटा कोठा र २७ वटा टेन्ट छन्। एक सय जना अटाउने सभाहल पनि छ।
रिसोर्टको रेस्टुरेन्टमा ग्राहकले खसीको सेकुवा, माछाका परिकार, मःम, चाउमिन, पिज्जा, चिया, कफी र खाजाका विभिन्न परिकार पाउँछन्।


'ग्राहकले सुनकोशीको असला माछाको परिकार पनि खान पाउँछन्,' उनले भने, 'लोकल भालेको परिकारका साथ कोदो र फापरको ढिँडो पनि पाइन्छ। मौसम अनुसार अमला, लप्सी र कोइरालोको अचार हुन्छ।'
यहाँको रेस्टुरेन्टमा 'नाङ्लो सेट' निकै चल्तीमा छ। यो सेटमा मःम, चाउमिन, सेकुवा, ग्रीन सलाद, मुस्ताङ आलु, बिरयानी पाइन्छ। नाङ्लो सेट शाकाहारीका लागि पनि उपलब्ध छ।
रेस्टुरेन्टमा बिहे, ब्रतबन्ध, जन्मदिन, वर्षगाँठ लगायत उत्सवहरू गर्न पाउने सुविधा पनि छ। रिसोर्टले एक पटकमा २५० जनालाई सेवा दिन सक्छ।
'हामीसँग खानाको परिकार बनाउने खुबी छ। रेस्टुरेन्टमा ग्राहकलाई चाहिने विभिन्न स्वादका परिकार नै हो। हामी विदेशमा जस्तै स्वस्थकर परिकार दिन्छौं,' विमलले भने।
विमलका अनुसार आफ्नै फार्ममा उत्पादित कृषिवस्तु खुवाउनु रिसोर्टको मुख्य विशेषता हो। रिसोर्ट कुल ३५ रोपनी जमिनमा फैलिएको छ। त्यसमध्ये ११ रोपनीमा तरकारी र फलफूल खेती छ।
उनीहरूको रिसोर्टले सुनकोशीमा र्याफ्टिङ पनि गराउँछ।
साझेदारबाहेक रिसोर्टमा १८ जनाले रोजगारी पाएका छन्। साझेदार सात जनामध्ये चार जना रिसोर्टमा हुन्छन्, तीन जना गठ्ठाघरस्थित रेस्टुरेन्टमा।
आगामी दिनमा आफ्नै जग्गामा रिसोर्ट बनाउने उनीहरूको योजना छ।
'भाडाको जग्गामा धेरै संरचना थप गर्न गाह्रो हुन्छ। सम्झौता अवधि सकिएपछि छाड्नुपर्छ। आफ्नै जग्गा हुँदा व्यावसायिक योजना बनाएर अघि बढ्न सजिलो हुन्छ,' विमलले भने,' त्यसैले कम्पनीका नाममा केही जग्गा किनेका छौं।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com