सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्समाथि लुम्बिनी लायन्सले महत्वपूर्ण जित हात पारेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको हो।
विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले ओपनर डार्शी सर्टको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १७.४ ओभरमा पूरा गर्यो।
जितसँगै लुम्बिनीको शीर्ष चारमा परेर प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। उसले ६ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेको छ भने चौथो स्थानमा उक्लिएको छ। यता अन्तिम खेलअघि ४ खेलमा जित र ३ खेलमा पराजय भोग्दै ८ अंक भएको विराटनगरले प्लेअफमा पुग्न अझै कुर्न पर्ने भएको छ।
अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्स र विराटनगरले सुदूरपश्चिम रोयल्ससँग खेल्दैछन्। अन्तिम खेलमा लुम्बिनीका लागि जित आवश्यक छ। तर विराटनगरले भने हार ब्याहोरे पनि रनरेटको आधारमा प्लेअफमा पुग्न सक्छ।
बुधबार महत्वपूर्ण जित निकालेको लुम्बिनीको जितमा ओनपर डार्शी सर्टले अर्धशतक प्रहार गरे। उनले ४४ बलमा ५७ रन बनाउने क्रममा ६ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर सुमित महर्जन भने ११ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल डक आउट भए। सुमित र रोहित पौडेल दुवैलाई विराटनगरका सुवास भण्डारीले एकै ओभरमा आउट गरेका थिए। उनले पाँचौ ओभरको पहिलो बलमा सुमितलाई विकेटकिपर साहिल पटेलबाट स्टमपिन गराउदा चौथो बलमा फाप डु प्लेसिसबाट क्याच क्याच गराए।
त्यसपछि तेस्रो विकेटका लागि सर्ट र सन्दीप जोराबीच ३६ रनको साझेदारी भयो। जोरालाई विराटनगरका कप्तान सन्दीप लामिछानेले दशौं ओभरको दोस्रो बलमा एलबिडब्लूको धरापमा पारे।
जोरा आउट भएपछि क्रिजमा आएका निशोसन डिक्वेलाले आक्रामक ब्याटिङ गरे। डिक्वेलाले चौथो विकेटका लागि सर्टसँग ४६ रनको साझेदारी गरेका थिए। सर्टलाई सन्दीपले १४औं ओभरको दोस्रो बलमा बाउन्ड्रीमा लोकेश बमबाट क्याच गराएका थिए। दिलिप नाथ १२ बलमा १६ रन बनाएर आउट भए भने डिक्वेलाले २२ बलमा नटआउट २९ रन बनाए।
बलिङमा विराटनगरका सुवास भण्डारी र सन्दीप लामिछानेले २-२ विकेट लिए। सन्दीपले २० र भण्डारीले ३० रन खर्चिए। बसिर अहमदले १ विकेट हात पारे।
टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो।
विराटनगरको ओपनिङ खराब रह्यो। ओपनर जर्ज मुन्सेलाई लुम्बिनीका शेर मल्लले दोस्रो बलमै एलबिडब्लू आउट गरे।
ओपनिङमा आएका डेब्यू खेलाडी फाप डु प्लेसिसले १२ रन मात्र बनाउन सके। उनी तेस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका स्पिनर अभिशेष गौतमको बलमा विकेटकिपर निशोसन डक्वेलाबाट स्टमपिन भए।
त्यसपछि साम हिजलेट र लोकेश बमले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे। जेजे स्मिटबाट कट एन्ड बउल्ड भएका बमले ४२ बल खेलेर ३५ रन जोड्न सके। उनले २ चौका र २ छक्का प्रहार गरे।
त्यसपछि नारायण जोशीलाई शेर मल्लले १४औं ओभरमा ५ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारे।
दुई ओभरपछि शेरले अर्को विकेट लिए। उनले हिजलेटलाई दिलिप नाथबाट क्याच गराए। हिजलेटले २० बलमा १ चौका र २ छक्काको मद्दतमा २७ रन बनाए। प्रतिश जिसी ११ रनमा रनआउट भए।
अन्तिम ओभरमा बसिर अहमद २८ रन जोडेर आउट भए। उनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। उनलाई ट्रम्पलम्यानले अन्तिम ओभरको दोस्रो बलमा तिलक भण्डारीबाट क्याच गराएका थिए। मर्स्याङ डि लाङले नटआउट १० रन जोड्दा अन्तिम एक बल खेलेका कप्तान सन्दीप लामिछानेले छक्का प्रहार गरे।
बलिङमा शेर मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २५ रन दिए। जेजे स्मित, अभिशेष गौतम र ट्रम्पलम्यानले १-१ विकेट लिए।
दुवै टोलीमा एक-एक खेलाडी परिवर्तन गरेका थिए। विराटनगरले शेहान जयसूर्याको स्थानमा फाप डु प्लेसिसलाई खेलाएका थियो। यस्तै युएईको आइएलटी२० खेल गएका गुल्बादिन नइबको स्थानमा लुम्बिनीमा जेजे स्मितलाई स्थान पाएका थिए।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, साहिल पटेल (विकेटकिपर), नारायण जोशी, फाप डु प्लेसिस, जर्ज मुन्से, साम हिजलेट, मर्स्याङ डि लाङ।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर) डार्शी सर्ट।