राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न संघीय संसदको निर्वाचनमा सक्रिय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग बुधवार शीतल निवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धिको लागि जोडिन आग्रह गरेका हुन्।
भेटमा गैरआवासीय नेपालीहरूले उठाउँदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसँग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे।
संघका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा भएको प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरूलाई पौडेल समक्ष ध्यानाकर्षण गराएको थियो।
भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताको बारेमा जानकारी दिँदै अध्यादेशमार्फत् नागरिकतामा आएका अल्झन फुकाउन आग्रह गरे।
संघका अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघको विवाद अन्त्य गरी अब नेपालको समृद्धिको लागि केन्द्रित हुने जानकारी दिए।
उनले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरूलाई मताधिकारको लागि सुनिश्चित गर्न आग्रह गरे।
भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशमा भएको राजनीतिक परितर्वतनमा खेल्नु भएको भूमिकाको प्रशंसा गरे।
उनले गैरआवासीय नेपाली संघभित्र हालै भएको एकताले देशमा समेत सकारात्मक सन्देश दिएको चर्चा गरे।
गैरआवासीय नेपाली संघको एकतापछि पहिलो पटक गएको सो प्रतिनिधि मण्डलमा संघका पूर्वअध्यक्षहरू, वर्तमान पूर्वपदाधिकारीहरू तथा संघका शुभेच्छुक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो।