इलाममा उत्पादन भएको चिया बिक्रीमा समस्या देखिएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्ने भएका छन्।
इलामका चिया व्यवसायीसहित खनालले प्रधानमन्त्री देउवालाई भेटेर चिया बिक्रीमा देखिएको समस्या समाधान गर्न आग्रह गर्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।
‘इलामका चिया व्यवसायी सहितको टोलीले प्रधानमन्त्रीलाई भेट्न लागेको हो। चिया बिक्रीमा समस्या आएको छ,’ उनले भने, ‘भारतले समेत ४० प्रतिशत कर लगाउन खोजेको छ। यसका लागि पनि कूटनीतिक पहल गर्न नेता खनालसहित प्रतिनिधिमण्डलले माग गर्ने तयारी गरेको छ।’
साथै प्रधानमन्त्री देउवासँग खनालले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने तयारी गरेका छन्। पूर्वप्रधानमन्त्री खनालसहित चिया व्यवसायीको टोली आज बिहान साढे ९ बजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भट्टराईले बताए।