अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाही घटाउने संकेत गरेका छन्।
इरानसँग युद्धको तीन साता बित्नै लाग्दा ट्रम्पले हमलाको सम्पूर्ण उद्धेश्य लगभग पूरा भइसकेको दाबी गर्दै आक्रमण कम गर्ने बताएका हुन्।
उनले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट लेखेर इरानमाथि जारी आक्रमण क्रमशः घटाउने विषयमा विचार गरिरहेको बताएका हुन्।
उनले इरानमाथि हमला गर्नुका पाँचवटा उद्धेश्य उल्लेख गर्दै ती लगभग पूरा भएको दाबी गरेका हुन्।
'इरानविरूद्ध हामी उद्धेश्य प्राप्तिको नजिक छौं। हाम्रा महान् सैन्यहरूले गर्दै आएको कारबाही कम गर्न विचार गरिरहेका छौं,' ट्रम्पले लेखेका छन्।
ट्रम्पले इरानको मिसाइल क्षमता, प्रक्षेपण प्रणली र त्यससँग सम्बन्धित संरचनालाई निष्क्रिय पारिएको दाबी गरेका छन्।
ट्रम्पले इरानी प्रतिरक्षा प्रणाली ध्वस्त पार्ने, इरानी नौसेना र वायुसेना र एन्टी एयरक्राफ्ट हतियार प्रणालीलाई समाप्त गर्नु आफ्नो उद्धेश्य रहेको र ती उद्धेश्य पूरा भएको दाबी गरेका हुन्।
इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिनू पनि अमेरिकाको अर्को उद्धेश्य रहेको उनले बताए। त्यो उद्धेश्य पनि लगभग पूरा भएको उनले दाबी गरेका छन्।
उनले इसराइल, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेत लगायतका देशहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको पनि उनले बताएका छन्।
ट्रम्पले साँघुरो समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको सुरक्षाको जिम्मा सो जलमार्ग प्रयोग गर्ने अरू देशहरूले लिनुपर्ने पनि बताएका छन्।
'अन्य देशहरूले अनुरोध गरेको खण्डमा यसलाई सुरक्षित राख्न अमेरिकाले सघाउँछ। तर इरानबाट हुने सबै खतरा उन्मूलन भएपछि त्यो पनि आवश्यक पर्दैन,' उनले भनेका छन्।