नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले अहिलेको अवस्थामा आइपुग्नुका कमजोरीलाई सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने हुन सक्ने टिप्पणी गरेका छन्।
चिन्तन अभियान नेपालले शनिबार बुटवलमा गरेको कार्यक्रममा उनले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमाले मात्र नभई पुराना राजनीतिक दलहरुको अवस्था दयनीय बनेको र अझै पनि कार्यशैली परिवर्तन नगर्ने हो भने सामूहिक 'मलामी' जाने अवस्थामा पुग्ने बताएका हुन्।
´एमालेकै कुरा गर्ने हो भने २०७४ सालमा हामीले १७४ सिट जितेर दिग्विजय गर्यौं भन्ने थियो तर, जोगाउन सकेनौं। कम्युनिस्टहरू पहिला ३/४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौं। यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आउँछ,' पाण्डेले भने।
नेता पाण्डेले कमजोरी सुधार्न निर्मम नबन्ने हो भने पार्टीहरुले अबका निर्वाचनमा टिकट लिने व्यक्ति समेत नपाउने बताए।
´नेतृत्वले कमजोरी स्वीकार गर्ने र त्यसलाई सच्चाउन नखोज्ने हो भने हार्ने निर्वाचन लड्न कोही कार्यकर्ता किन जान्छ,' उनले भने।
पाण्डेले विगतमा ठिक बाटो नलिएको कारण पार्टी अहिलेको अवस्थामा आएकाले विगतका गलत बाटोलाई सही दिशामा लैजानुपर्ने बताए।
´हामीले संविधानमै कुनै पनि दलको अध्यक्ष/सभापति वा प्रधानमन्त्री दुइपटक भन्दा बढि हुन नपाउने व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी भयो,' पाण्डेले भने।