नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा सहरी विकास मन्त्री मेटमणि चौधरीसहितको बैठकपछि उनले ट्विटमार्फत् फेरि अवरोध हुने संशय मनमा रहेको बताए। उनले काठमाडौंको फोहोर उठ्न थाल्नु खुसीको खबर भएको बताए।
‘काठमाडौंको फोहोर पुनः उठ्न थाल्यो, यो खुसीको खबर हो। तर फेरि अवरोध पो हुने हो कि भन्ने संशय भने मनमा छ,’ उनले भने, ‘यसपटक समस्या नबल्झिने गरी हल खोजौं भन्ने चाहना र प्रयत्न हो। यसैका लागि आज काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय, सहरी विकास मन्त्रीसँगै बैठक बस्यौं।’
उनले बिहीबार बसेको बैठकमा समस्या परेपछि मात्रै नभई नियमित रूपमै बैठक बस्न प्रस्ताव समेत राखे। हप्ताको एक पटक बस्न उनले प्रस्ताव राखेका हुन्।
‘कम्तीमा हप्तामा एक पटक सबै निकाय/अड्डालाई बोलाएर बसौं, समीक्षा गरौं, जहाँ जसले जे गर्नुपर्ने हो गरौं,’ उनले भने, ‘मन्त्रीज्यूले यसलाई पूर्ण सकारात्मक रूपमा लिएर आइतबार नै बैठक बसेर काम अगाडि बढाउने जिम्मा लिनुभएको छ।’
पछिल्लो समय काठमाडौंबाट लगेका फोहोरहरू फाल्न बञ्चरेडाँडाका स्थानीयले अवरोध पुर्याउँदै आएका थिए। त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गरिएको थियो।
बुधबार दिउँसो काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र धुनिवेशी नगरपालिका, ककनी गाउँपालिकाका जनप्रतिनिधि बैठकमा बसेका थिए। अबेरसम्म बसेको सो बैठकमा सहमति जुटेको थियो।