आज मुलुकका पहाडी भूभागमा मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसमविद्का अनुसार पानी पार्ने न्यून चापीय रेखा सरदरस्थानभन्दा कहिले तल र कहिले माथि हुनाले मौसममा हेरफेर भइरहेको हो।
अहिले बिहान देशका अधिकांश भूभागमा आंशिक बदली रहको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहे पनि लामो समयसम्म नरहने महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसमविद बासीका अनुसार भोलि र पर्सी पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भोलि बुधबार राति गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै बिहीबार गण्डकी, लुम्विनी र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।