२०४४ फागुन २९ गते शनिबार।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरू खचाखच भरिएका थिए। नेपालको जनकपुर चुरोट कारखाना लिमिटेड र बंगलादेशको मुक्तिजोद्धा समूहबीच प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेल भइरहेको थियो।
अपराह्न साढे ३ बजेतिर सुरू भएको खेलमा १७ मिनेट नबित्दै नेपालले गोल खायो।
त्यसको १० मिनेट नबित्दै आकाशमा कालोमैलो बादल मडारिन थाल्यो। पानी पर्छ कि भनेर अनुमान गर्न नपाउँदै आँधीबेहरी सहितको हुन्डरीले रंगशालालाई ढाक्यो।
दर्शकदीर्घामा भागदौड मच्चियो। खेल हेर्न आएका दर्शकहरूमा भागदौड हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी अभिलेखमा उल्लेख छ।
आज पनि यो घटना नेपालको खेल इतिहासमा अत्यन्त दुःखद दिनका रूपमा दर्ज छ।
त्यस दिन मौसम कस्तो हुन्छ भन्ने कसैलाई ख्याल थिएन। विभागले हावाहुरीको सम्भावनाबारे २४ घन्टे पूर्वानुमान गरेको भए पनि निख्रँदो फागुन र आउँदो चैत महिनामा एक्कासि हावाहुरी चल्ने र असिनापानी पर्ने जोखिम रहन्छ।
त्यति बेला अहिलेजस्तो मौसमको निरन्तर अनुगमन गर्ने उपकरण र उन्नत प्रविधि थिएन। मौसम पूर्वानुमानलाई त्यति गम्भीर रूपमा लिने चलन पनि थिएन। त्यस्तो मौसमी प्रणाली अवलोकन गर्ने पर्याप्त उपकरण र प्रविधि अभावका कारण त्यसको सूक्ष्म अध्ययन पनि हुन सकेन।
यो त २०४० दशकको कुरा भयो। अब हामी २०५० दशकतर्फ जाऔं।
मौसम पूर्वानुमान र हावापानीको अवस्था विश्लेषण गर्न नसक्दा २०५० सालमा ठूलो मानवीय क्षति हुन पुग्यो। २०५० साउन ४ र ५ गते मकवानपुरको कुलेखानी केन्द्रित भई र खासगरी मध्य नेपाल क्षेत्रमा मुसलधारे वर्षा भयो। उक्त वर्षातका कारण काठमाडौंको जीवनरेखा मानिएको पृथ्वी राजमार्गका तीनवटा पुल बगे। उत्तरी मकवानपुरको टिस्टुङ–पालुङ क्षेत्रमा पनि ठूलो मानवीय क्षति भयो। पहिरोले गाउँ नै सोहोरेर लग्यो।
त्यति बेला आएको भेलबाढीले कुलेखानीमा रहेको जलाशयमा पनि व्यापक क्षति पुर्यायो। यसले विद्युत उत्पादनमा समेत असर पुर्यायो।
त्यस वर्ष साउन ४ र ५ गते २४ घन्टा अवधिमा टिस्टुङ क्षेत्रमा मात्र करिब ५४० मिलिमिटर वर्षा भएको अभिलेख छ। बाढी–पहिरोमा परेर करिब १ हजार ३०० जनाको ज्यान गएको अनुमान गरिएको छ।
सबभन्दा दुखद् कुरा के भने, मकवानपुरमा परेको पानीले बागमती नदी उर्लिएर रौतहट र सर्लाहीमा ठूलो विपत्ति ल्याउन सक्छ भन्ने हेक्का समुदाय र राज्य दुवैलाई हुन सकेन।
यी त पूर्वानुमान गर्न नसकिएका र गम्भीर क्षति व्यहोर्नुपरेका विगतका घटना हुन्। तर अहिले मौसम पूर्वानुमानले दिएका धेरै सकारात्मक नतिजा पनि छन्।
२०८१ असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भयो। त्यति बेला त्यहाँ परेको पानी अत्यन्त घनघोर थियो। दोधारा केन्द्रमा २४ घन्टा अवधिमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो। यो नेपालमा वर्षा मापन गर्न थालेयताकै सबभन्दा ठूलो भएको अभिलेखले देखाउँछ।
कञ्चनपुरमा यस्तो हाँडीघोप्टे वर्षा हुनुअघि विभागले ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको थियो। त्यस आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायलाई सतर्क रहन सूचित गरिएको थियो। सूचना आधारभूत तहसम्म पुर्याइएकाले क्षति न्यूनीकरण गर्न सम्भव भयो।
त्यस्तै, विभागले २०८१ असोज १० देखि १२ गतेसम्म पनि ठूलो वर्षा हुने अनुमान गरेको थियो। महाशाखाले २७ जिल्लालाई रातो संकेतसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। उक्त अवधिमा वर्षा मापन गर्ने २५ वटा केन्द्रमा यसअघिका सबै रेकर्ड तोडिएका थिए। काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा भएको थियो।
महाशाखाले तीन दिनसम्म लगातार झरी पर्न सक्ने प्रणाली भित्रिँदै गरेको पूर्वसूचना दिँदादिँदै पूर्वतयारीको कमजोरीका कारण ठूलो मानवीय र भौतिक क्षति भयो।
यस वर्ष पनि दसैंको समय ठूलो वर्षा हुने पूर्वानुमान गरिएको थियो। असोज १७ देखि २० गतेसम्म ठूलो वर्षा हुने अनुमानका कारण सरकारी निकायहरू सतर्क थिए। राजमार्ग बन्द गर्ने लगायतका पूर्वतयारीलाई प्राथमिकतामा राखेर प्रभावकारी अनुगमन गर्दा क्षति न्यूनीकरण गर्न सकियो।
यस्तै अनुभव हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि देखियो। जल तथा मौसम विज्ञान विभागले गत फागुन २१ गतेको निर्वाचनका दिन पानी नपर्ने प्रक्षेपण गरेको थियो। यसले मतदातालाई निर्भयपूर्वक मतदानमा सहभागी हुन सहयोग पुर्यायो।
जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान प्रणालीमा हासिल गरेको यो उपलब्धि हठात् आएको होइन। यसका पछाडि विगत ६ दशकदेखि जल, मौसम र जलवायुको निरन्तर मापन, अभिलेखीकरण, अवलोकन, उपकरणको विकास तथा आधुनिक प्रविधिमा गरिएको लगानी प्रमुख कारणका रूपमा रहेका छन्।
उपकरणमा गरिएको लगानीलाई तथ्यगत विश्लेषण, अध्ययन, अनुसन्धान र मौसमी मोडल विकाससँग जोडेर बुझ्न आवश्यक हुन्छ। आगामी दिनमा सेवा विस्तार र सुधार गर्न तथा देशको जलवायु विविधतालाई ध्यानमा राख्दै जल–मौसम मापन, अवलोकन र उपकरण सञ्चालनमा थप लगानी गर्न जरूरी छ।
स्वचालित मौसम केन्द्र
स्थापना गरिएका उपकरण तथा केन्द्र
सन् १९५० मार्च २३ मा विश्व मौसम विज्ञान संगठन स्थापना भएको थियो। त्यसैको उपलक्ष्यमा हरेक वर्ष आजकै दिन विश्व मौसम दिवस मनाइन्छ। यस वर्षको नारा 'अब्जर्भिङ टुडे, प्रोटेक्टिङ टुमोरो' तय गरिएको छ। यसको नेपाली भावार्थ हो — आजको अवलोकन, भोलिको सुरक्षा।
यो नारा नेपालका लागि अत्यन्त सान्दर्भिक छ।
सन् १९९१ मा सुन्दरीजल विद्युत गृह बनेपछि नेपालमा जल तथा मौसम अवलोकन प्रारम्भ भएको थियो। २०१७ सालमा विद्युत विभागअन्तर्गत जलस्रोत सर्वेक्षण इकाईमार्फत संस्थागत रूपमा जल तथा मौसम मापन कार्य विस्तार भयो। २०२३ सालमा नेपाल विश्व मौसम संगठनको सदस्य बनेपछि यसले थप गति लियो।
तिनताका जलस्रोत सर्वेक्षण विभागका रूपमा रहेको यो निकाय २०४४ सालमा छुट्टै विभागका रूपमा स्थापना भयो। २०५० सालदेखि यो संस्था जल तथा मौसम विज्ञान विभागका रूपमा सञ्चालनमा छ। त्यसयता यसले संस्थागत रूपमा जल, मौसम तथा जलवायुको अवलोकन र मापन गर्दै आएको छ।
हाल विभागले आफ्नो क्षमता विस्तार गर्दै मौसम (१२ भन्दा बढी सतही वायुमण्डलीय अवयव), हिम, हिमताल तथा हिमनदी, नदीको सतह र प्रवाह, ताल, पानीको गुणस्तर, सौर्य ऊर्जा, विकिरण लगायत क्षेत्रमा अवलोकन र मापन विस्तार गरेको छ।
विशेषगरी विभागले जल, मौसम र जलवायु अवलोकनलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ। सन् १९४० दशकमा करिब ३५ वटा मानव सञ्चालित मौसम केन्द्र थिए भने अहिले ५०० भन्दा बढी मौसम मापन केन्द्र सञ्चालनमा छन्। त्यस्तै, करिब २०० जलमापन केन्द्र सञ्चालनमा छन्। तीमध्ये सन् १९९० दशकदेखि वर्षा केन्द्र र सन् २००० दशकदेखि मौसम मापन केन्द्रहरू स्वचालित रूपमा सञ्चालन गर्न थालिएको हो।
मानव सञ्चालित केन्द्रलाई स्वचालितमा रूपान्तरण गर्ने लक्ष्य विभागले १६औं आवधिक योजनामा राखेको थियो। त्यसै अनुसार अहिले विभागअन्तर्गत २५० भन्दा बढी स्वचालित मौसम मापन केन्द्र र करिब ४०० हाराहारी स्वचालित वर्षा मापन केन्द्र सञ्चालनमा छन्।
यहाँहरूलाई थाहै छ, मौसम पूर्वानुमान अत्यन्त जटिल काम हो। मौसम केन्द्रमार्फत् वर्षा, तापक्रम, हावामा रहेको पानीका कण (आर्द्रता), हावाको गति र दिशा, वायुचाप, वाष्पीकरण, सौर्य ऊर्जा, माटोको तापक्रम र चिस्यान, बादलको प्रकार, उचाइ र परिमाण, हावाको पारदर्शिता, वास्तविक मौसम अवस्था, उपल्लो वायुमण्डलको चाप, तापक्रम, हावाको गति र दिशा, आर्द्रता आदि अवलोकन गरेर पूर्वानुमान गर्नुपर्ने हुन्छ।
मौसम मोडल सञ्चालन गर्न र राम्रो नतिजा प्राप्त गर्न यी तथ्यांकको पर्याप्त उपलब्धता अनिवार्य हुन्छ। पर्याप्त अवलोकन र गुणस्तरीय तथ्यांक भए मात्र पूर्वानुमान विश्वसनीय र गुणस्तरीय हुन्छ।
त्यसैले भरपर्दो पूर्वानुमानका लागि गुणस्तरीय र पर्याप्त अवलोकनको ठूलो महत्त्व हुन्छ।
स्वचालित जल मापन केन्द्र।
यसरी नै आधा–आधा घन्टामा संकलित मौसमी तथ्यांक सुरक्षित उड्डयनका लागि पनि अत्यावश्यक हुन्छ। मौसमको सूचनाबिना उडान गर्न नहुने अन्तर्राष्ट्रिय मान्यता छ। सबै विमानस्थलका लागि आवश्यक मौसमी सूचना उपलब्ध गराइँदै आएको छ। तर आन्तरिक हवाई मार्गका लागि आवश्यक मौसम अवलोकन र पूर्वानुमान अझ विस्तार गर्न बाँकी छ।
त्यसैगरी, मौसमी जानकारी साप्ताहिक रूपमा कृषि मौसम सल्लाह बुलेटिनमार्फत पनि प्रसारण गरिँदै आएको छ।
उपल्लो जलाधार क्षेत्रमा रहेका स्वचालित केन्द्रबाट मापन गरिएको वर्षा र नदी सतहको तथ्यांक विश्लेषणका आधारमा तल्लो तहका नदी तटीय क्षेत्रमा बाढीको पूर्वसूचना दिइँदै आएको छ। यसबाट धेरै नागरिकको ज्यान जोगाउन सहयोग पुगेको छ।
गत वर्ष मात्रै करिब २ करोड २६ लाख एसएमएसमार्फत् बाढीको पूर्वसूचना पठाइएको थियो। हाल यस्तो प्रणाली २२ वटा जलाधार क्षेत्रमा २०० भन्दा बढी जलमापन केन्द्रमार्फत् सञ्चालनमा छ। तर पहाडी क्षेत्रमा बहने नदीनाला र खहरे खोलामा आउने आकस्मिक बाढीको पूर्वानुमान अझै चुनौतीपूर्ण छ।
त्यसैले यस्ता जोखिम कम गर्न पहाडी क्षेत्रका मौसमी प्रणालीहरूको सूक्ष्म अध्ययन गरी वर्षाको पूर्वानुमान अझ सुधार गर्न आवश्यक छ।
यसैगरी तापक्रम र आर्द्रताको स्वचालित अवलोकन तथा विश्लेषणका आधारमा तातो हावाको लहर (हिटवेभ) र शीतलहरको पूर्वसूचना दिँदै पूर्वतयारीमा सहयोग पुर्याइँदै आएको छ।
विश्वव्यापी बादलको अवस्था, आर्द्रता र मौसमी प्रणाली बुझ्न उपग्रहको सहारा लिनुपर्छ। नेपालसँग आफ्नै भूउपग्रह प्रणाली छैन, त्यसैले अन्य देशका प्रणालीमा निर्भर रहनुपरेको छ।
हाल जापान र चीनका मौसम उपग्रह प्रयोग गरी चक्रवात, मनसुनी तथा पश्चिमी वायु प्रणालीको अनुगमन गरिँदै आएको छ। यसले विपद् न्यूनीकरण र हिमाली पर्यटन क्षेत्रमा सेवा दिन सहयोग गरेको छ। यद्यपि, पर्यटक मार्गमा विस्तृत अवलोकन र दीर्घकालीन पूर्वानुमान गर्न अझै बाँकी छ।
उपल्लो वायुमण्डलको अवस्था बुझ्न डोप्लर राडार आवश्यक हुन्छ। यसबाट आँधीबेहरी, वर्षा, हिमपात, असिनापानी, खहरे बाढीजस्ता घटनाको पूर्वानुमान गर्न सहयोग मिल्छ। हाल नेपालमा तीनवटा डोप्लर राडार सञ्चालनमा छन्। यी अत्याधुनिक उपकरण भएकाले तिनको सञ्चालन र तथ्यांक विश्लेषणमा थप लगानी आवश्यक छ।
यसैगरी रेडियोसोन्ड प्रविधिबाट मौसम बलुनमार्फत् उपल्लो वायुमण्डलको तापक्रम, आर्द्रता, हावाको अवस्था र चाप मापन गरिन्छ। यो प्रविधि खर्चिलो भए पनि विषम मौसम प्रणालीको अध्ययनका लागि अत्यन्त महत्वपूर्ण छ।
उपल्लो वायुमण्डल मापन गर्ने उपकरण
विगत ६ दशकमा उपकरण र प्रविधिमा भएको विकास तथा नेपालले गरेको लगानीका कारण मौसम पूर्वानुमान प्रणालीमा उल्लेखनीय सुधार आएको छ। तर नेपालजस्तो भौगोलिक विविधता भएको देशमा अझै धेरै अवलोकन केन्द्र आवश्यक छन्। हाल अधिकांश केन्द्र तीन हजार मिटरभन्दा तल केन्द्रित छन्। हिमाली क्षेत्रमा पर्याप्त केन्द्र छैनन्।
विश्वव्यापी तापक्रम वृद्धिको असर हिमालय क्षेत्रमा प्रत्यक्ष देखिँदै छ। हिमताल विस्फोट, हिमबाढी र हिमपहिरोको जोखिम बढिरहेको छ। त्यसैले पर्वतीय क्षेत्रमा अवलोकन विस्तार गर्नु अत्यावश्यक छ।
आन्तरिक उड्डयनका लागि उडान मार्गमा उपल्लो वायुमण्डल अवलोकन केन्द्र विस्तार गर्न पनि आवश्यक छ। पर्वतीय भूभागका कारण बन्ने स्थानीय मौसमी प्रणालीको अध्ययनका लागि थप राडार आवश्यक छन्। जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा, खडेरी, अत्यधिक वर्षा, बाढी, टोर्नेडो, हिमताल फुट्ने जस्ता घटना बढ्दै गएका छन्। यसले मौसम पूर्वानुमानमा अनिश्चितता थपेको छ।
हामी विकास–निर्माणको चरणमा छौं। विकास निर्माणलाई द्रुततर गतिविधिमा अघि बढाएर अरू देशको दाँजोमा आफूलाई ठिकैको स्तरमा पुर्याउनुपर्ने चुनौती छँदैछ। तर हाम्रो विकास–पूर्वाधार निर्माणको तौरतरिका जमिनको अवस्थिति अनुकूल बन्न सकेका छैनन्। जलवायु जोखिमको ख्यालै नगरी अगाडि बढाइएका विकास परियोजनाले मानवीय संकट निम्त्याइरहेका छन्, विपत्तिको स्रोत समेत बनिरहेका छन्। मेलाम्ची खानेपानी आयोजानामा भएको क्षति एउटा उदाहरण हो।
मौसम पूर्वानुमान प्रणालीलाई अझ परिस्कृत र यथार्थपरक बनाउन कतिपय सन्दर्भमा विगतका तथ्यांक आवश्यक हुन्छ। त्यसैले हाम्रो डेटा सेन्टरलाई अझ प्रभावकारी र चुस्त बनाउनुपर्ने छ। योसँगै हाम्रो पूर्वानुमान प्रणालीमा विश्वविद्यालयको ज्ञान र शोधलाई जोड्दै जाँदा मात्र चालीसको दशकमा घाउतुल्य बनेको दशरथ रंगशालाको इतिहास र पचासको दशकको टिस्टुङ–पालुकको वियोग दोहोरिने अवस्था दूर गर्न सकिन्छ।
हालका प्रविधिहरूको समयानुकूल स्तरोन्नति र विस्तार गर्दै जानु पनि आजको आवश्यकता हो। जलवायु समुत्थान नेपाल र दिगो विकासका लागि आज जल, हिम, मौसम र जलवायुको अवलोकनमा निरन्तर लगानी अत्यन्त जरूरी छ।
यस कारण, आजको अवलोकन नै भविष्यको सुरक्षा हो।
आज विश्व मौसम दिवसको अवसरमा सबैलाई शुभकामना!
(लेखक जल तथा मौसम विज्ञान विभागका निमित्त महानिर्देशक हुन्।)