सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
आफ्ना छोराछोरीले मोबाइल, कम्प्युटर, टिभी हेरेर वाक्क पारेको अभिभावकहरू गुनासो साटासाट गरिरहेका हुन्छन्। विद्यालयमा हुने विभिन्न कार्यक्रममा अभिभावकहरू एकआपसमा भेट्दा छोराछोरीको डिजिटल लतकै विषयमा वहाँहरूको गुनासो हुन्छ।
समय आधुनिक भएसँगै प्रविधि सबैको पहुँचमा छ। बालबालिका सानैबाट प्रविधिसँग परिचित भएका छन्। अहिले हरेक आमाबुवाको चिन्ताको विषय नै यही बनेको छ। बालबालिकाले प्रविधिको प्रयोग गर्दा आमाबुवाको चिन्ता बढ्नु कत्तिको जायज छ?
आधुनिक विज्ञान र प्रविधिको कारण सञ्चार निकै सहज भएको छ। यसकै प्रयोग गरेर कुनै पनि विषयमा सहजै ज्ञान प्राप्त गर्न सकिन्छ। तर प्राय: आमाबुवाले मनोरञ्जन र गलत कामका लागि मात्र बालबालिकाले प्रविधि प्रयोग गरिरहेका छन् भन्ने ठान्छन्।
हुन् त आमाबुवाको प्रविधिप्रतिको सतर्कता पनि जायज मान्न सकिन्छ। प्रविधिकै प्रयोगले बालबालिकाहरू साइबर हेपाई, डिजिटल कुलत, अश्लिल कार्य, यौन शोषण, मानसिक तनाब जस्ता गहन समस्यामा फसेका उदाहरणहरू बग्रेल्ती छन् । कतिपय बालबालिकामा प्रविधिले कुलतजसरी असर गरेकाले उनीहरूको सामाजिकीकरणमा पनि असर पारेको देखिन्छ।
प्रविधिको बढी प्रयोगले उनीहरूको मानसिक स्वास्थ्यमा पनि असर परेको छ। धेरै बालबालिकाले सानै उमेरदेखि चस्मा लगाउनुपरेको छ। साथै, बालबालिका घरबाहिर निस्केर शारीरिक खेलहरू खेल्नुभन्दा आफ्नो मोबाइल, कम्प्युटरमै खेल्न रूचाउँछन्। त्यसो त प्रविधिको अत्याधिक प्रयोगले बालबालिकाको सिर्जनशीलतामा पनि बाधा पुर्याउँछ भन्ने भनाई छ। प्रविधिको बढ्दो प्रयोगसँगै समयको बरबादी हुने पनि अभिभावकहरूले बताउँदै आएका छन्।
माथि उल्लिखित समस्याका कारण हरेक अभिभावकका लागि आफ्नो बच्चाले प्रविधिको प्रयोग गर्दा बिग्रिने डर हुन्छ, जुन अभिभावकका लागि चिन्ताको विषय हो। तर अभिभावकले पनि प्रविधिको महत्त्व बुझ्न अपरिहार्य छ।
हरेक क्षेत्रमा प्रविधिको प्रयोग हुन्छ। अहिलेको समयलाई डिजिटल युग भनिएसँगै प्राविधिक ज्ञानलाई सबैभन्दा ठूलो सिप मानिन्छ। नयाँ पुस्ताका लागि प्रविधि झनै महत्त्वपूर्ण छ। भविष्यमा प्रविधिले विश्वको धरातल निर्माण गर्नेछ। उद्योगहरू प्रविधिमा भर पर्नेछन् र विकासका पूर्वाधारहरू पनि प्रविधिमा आधारित हुनेछन्।
केही वर्षमा आर्टिफिसियल इन्टेलिजेन्सले ठूलो फड्को मारेको छ। हामीले सोचेको भविष्य प्रविधिकै उपज हुने स्पष्ट छ। तसर्थ, प्रविधिबारे ज्ञान र सिप हुनु संसारको माग हो। हामीजस्ता भविष्यका कर्णधारहरूले प्रविधिमा पारंगत भएरै विश्वसँग मुकाबला गर्नुपर्नेछ।
अन्य विकसित देशहरूले प्रविधि जान्न र यसैसँग भिज्न प्रेरित गरिरहेका छन्। अभिभावकहरूले पनि प्रविधिको दुरदर्शी सम्भावना देखेर सोही अनुसार आफ्ना बालबालिकालाई प्राविधिक सिप सिकाउन प्रेरित गर्नुपर्छ।
यति भन्दैमा बालबालिकाले अत्याधिक प्रविधि प्रयोग गर्नु भने हुँदैन। हामीले अभिभावकलाई चिन्ता नहुने गरी प्रविधिको प्रयोग गर्नुपर्छ। अभिभावकले तोकेको समयमा मिलाएर, आफ्नो पारिवारिक र सामाजिक जीवन सन्तुलनमा राखेर प्रविधिको प्रयोग गर्नुपर्छ।
उदाहरणका लागि, मलाई सानै उमेरदेखि आमाबुवाले प्रविधिमा धेरै छुट दिनुभयो। ट्याब, फोन, ल्याप्टप, कम्प्युटर आदि सबै सुविधा दिनुभयो। उहाँहरूले प्रविधि उपलब्ध गराउनुका साथसाथै यसका सकारात्मक र नकारात्मक प्रयोगबारे मलाई उचित रूपमा जानकार बनाउनुभयो। कति समयसम्म हेर्दा शारीरिक, मानसिक एवम् सामाजिक हिसाबले हानी पुग्दैन भन्ने प्रष्ट्याउनुभयो। जसले गर्दा मैले प्रविधिको सकारात्मक प्रयोग गर्ने मौका पाएँ।
प्रविधिको सकारात्मक प्रयोगलाई निखार्न अभिभावक र बालबालिका दुवैको ठूलो भूमिका हुन्छ। अभिभावकले मोबाइल नहेर भन्दा पनि मोबाइलमा सही चिज सही समयमा हेर् भनेर प्रोत्साहन गर्नुपर्छ। बच्चाले प्रविधिको प्रयोग गर्दा गाली गर्ने आमाबुवा आफैँ बच्चाको अगाडि डिजिटल संसारमा व्यस्त बस्नुहुन्छ। यस्ता अभिभावकलाई कसले गाली गर्ने?
सुरूमा त अभिभावकले नै प्रविधिको सही र समयानुकूल प्रयोग गर्नुपर्छ। बालबालिकाको पनि आफ्ना आमाबुवाले भनेको मानेर, सोही अनुसार प्रविधिको प्रयोग गर्ने दायित्त्व हुन्छ। हामीले प्रविधिबाट मनोरञ्जनसँगै ज्ञानगुन एवम् प्राविधिक सिप सिकेर आफ्नो समयको उच्चतम सदुपयोग गर्न सकिन्छ।
समग्रमा, प्रविधिको प्रयोग बालबालिकाको लागि एक अत्यावश्यक आवश्यकता हो। यसको सही सन्तुलन कायम राख्न अभिभावक र बालबालिका दुवैको महत्त्वपूर्ण भूमिका छ। प्रविधिले ज्ञानको ढोका खोलेको छ भने अत्याधिक प्रयोगले मानसिक, शारीरिक र सामाजिक हानी समेत पुर्याउन सक्छ।
अभिभावकले बालबालिकालाई प्रविधिको सही र सृजनात्मक प्रयोगमा प्रोत्साहित गर्दै उनीहरूलाई जोखिम र सम्भावनाबारे चेतना दिनुपर्छ। त्यस्तै, बालबालिकाले पनि आफूलाई जिम्मेवार र अनुशासित राखेर प्रविधिको सदुपयोग गर्नुपर्छ। यसरी प्रविधिको सन्तुलित र सकारात्मक प्रयोगले बालबालिकालाई भविष्यमा दक्ष र प्रतिस्पर्धी बनाउँछ। नयाँ समयसँग प्रतिस्पर्धी बन्न सक्षम पनि बनाउँछ।
(रोमहर्षण ढुंगेल एभरेष्ट इंगलस स्कुल, मिबाछेँ, भक्तपुरमा कक्षा १० मा अध्ययनरत छन्।)