लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानका सन्दर्भमा अहिले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइरहेका छन्।
यी कार्यक्रमहरूमा प्राय: लिंगका आधारमा महिलामाथि हुने विभिन्न किसिमका दुर्व्यवहारका लागि अरूलाई नै दोषी ठहराइरहेका हुन्छौं अथवा अरूमाथि नै दोष थुपारिरहेका हुन्छौं।
के साँच्चि लैंगिक हिंसाका अन्त्यका लागि हाम्रो सोच र व्यवहारमा परिवर्तन हुन जरूरी छैन त?
हिंसाका घटनाहरूलाई बढावा दिनुमा हाम्रो भूमिका छैन त?
अब यसरी स्वमूल्यांकन गर्ने बेला भएको छ। जुन किसिमको परिवर्तनका लागि पहिला हामी स्वयम् नै परिवर्तन हुन जरूरी हुन्छ, अन्यथा स्वपरिवर्तन बिना गरिने जुन कुनै प्रयास पनि कर्मकाण्डी ठहर्छन्।
एउटा बच्चाको पहिलो पाठशाला नै घर अनि समाज हो र उसको पहिलो गुरू उसको आमा अनि परिवारका अन्य सदस्य र छरछिमेकी, त्यसैले उसले आफ्नो घरमा जे देख्छ, जे सुन्छ, जे भोग्छ, जे सिक्छ त्यही नै उसले ठूलो भएर आफ्नो व्यवहारमा देखाउँछ।
त्यसैले हामीले जे रोप्छौं फल्ने पनि त्यही नै हो, करेला रोपेर आँपको आशा गर्नु ठूलो मुर्खता हो। हिंसा हाम्रो घर, समाज, विद्यालय, कार्यस्थल सबै ठाउँमा हुन्छ तर हिंसा कहिल्यै पनि एकैपटक ठूलो घटनाबाट मात्र हुँदैन यसको सुरूआत जब हामीले आफूमाथि हुने कडा बोलीलाई सहर्ष स्वीकार्छौं, असमानतालाई परम्परा मान्छौं, अरूको पीडालाई हाम्रो कुरा होइन भन्छौं।
हो, यस्तै यस्तै नजानिँदो तरिकाले नै हामी हिंसा गरिरहेका र हिंसा सहिरहेका हुन्छौं। हिंसा अन्त्यका कुरा गर्दा हामी प्राय: सरकार, नीति, कानुन, प्रहरी वा संघ संस्थातर्फ हेर्छौं तर सत्य यही हो कि हिंसाको अन्त्य अरू कसैबाट होइन हामी आफै र हाम्रो सुधारिएको सोचबाट मात्र सम्भव छ।
हामीले गर्ने साना साना व्यवहारहरू जस्तै जेठो छोरा हुँदाहुँदै कान्छी छोरीलाई काम लगाउने, छोरी मान्छे भएर यस्तो काम गर्नुहुन्न, यस्तो चिज लगाउनुहुन्न, यस्तो चिज खानुहुन्न भनेर रोक छेक लगाउने, छोरी मान्छेले यस्तो यस्तो कुराहरू सिक्नुपर्छ भन्ने तर त्यही कुरा छोरालाई नसिकाउने, छोरा मान्छे लजाउँदा, कम बोल्दा, घरका काममा अलिक बढी ध्यान दिँदा कस्तो छोरी मान्छे जस्तो रैछ! त्यसैगरी अलि बढी बोल्ने, जुनकुनै काममा पनि अघि सर्ने, घरदेखि बाहिरको काममा बढी ध्यान दिने , जेहेन्दार भयो भने चाहिँ यो कस्तो छोरा मान्छे जस्तै रैछे भन्ने! गरेको हामीले देखेका, भोगेका र सुनेका छौं र जानेर होस् या नजानेर हामीमध्ये धेरैले पनि यस्तै व्यवहार देखाउने गरेका छौं।
के सिक्ने कुराहरू पनि छोरा या छोरीका आधारमा छुट्टाछुट्टै हुन्छन्?, लजाउनुपर्ने नै भए त छोरा या छोरी दुवै लजाउनुपर्ने होइन र? गर्न नमिल्ने काम त दुबैले त गर्न नहुने होइन र? यो काम छोरीले गर्ने र यो काम छोराले गर्ने भनेर छुट्याएको त पक्कै पनि हामी स्वयम नै हो त्यसैले हिंसा अन्त्यका लागि पहिलो प्रयास पनि स्वत: हामीबाट नै हुन जरूरी छ।
अनि त्यसैगरी हामीले हिंसा अन्त्यका लागि सञ्चालन गरिने प्राय: कार्यक्रमहरूमा पुरूषहरूलाई दोषीको रूपमा राखिरहेका हुन्छौं तर अब भने पुरूषहरूलाई पनि हिंसा विरूद्धको यात्रामा सहभागीको रूपमा देख्न र सँगसँगै हिँडाउन जरूरी छ।
महिलालाई सम्मान गर्न सक्ने, सहयोग गर्न सक्ने र समानता स्वीकार गर्न सक्ने पुरूष बिना हिंसा विरूद्धको अभियान पक्कै सफल हुन सक्दैन।छोरीलाई पनि छोरा सरह स्वतन्त्रता दिन सक्ने बुवा, घरको जिम्मेवारीमा साझेदारी गर्न सक्ने श्रीमान र महिला नेतृत्व स्वीकार गर्न सक्ने सहकर्मी पुरूष तब त यो समाज लैंगिक हिंसा रहित समाज बन्न सक्छ।
हिंसा रहित समाज बनाउँदा देशको विकासले समेत फड्को मारिरहेको हुन्छ किनकि समानतामूलक समाज निर्माण नै दिगो विकासको एउटा लक्ष्य हो।
असमानताको अवस्थामा द्वन्द्व , हिनताबोध, झै-झगडा र विद्रोहको स्थिति सृजना हुन्छ। जसले समग्र देश विकासमा बाधा पुग्दछ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले पनि विश्वमा हरेक ३ मा १ जना महिलाले आफ्नो जीवनमा कुनै न कुनै लैंगिक हिंसा भोगिरहेका छन्।
नेपालमा पनि प्रहरी प्रधान कार्यालय नेपालले प्रकाशन गरेको तथ्यांक अनुसार गत एक आर्थिक वर्षमा २० हजार बढी महिला हिंसा सम्बन्धी उजुरीहरू दर्ता हुने गरेका छन्। जसमा घरेलु हिंसाका घटनाहरू नै बढी छन्।
एकपटक प्रत्येक नागरिकले घरभित्रको काम महिलाको मात्र हो, घरबाहिरको काम गरे पनि घरभित्रको काम पनि महिलाको जिम्मेवारी हो, घरभित्रको काम पुरूषहरूले गर्नुहुँदैन भन्ने विभेदकारी सोचबाट टाढा राखेर र समाजको अस्तित्व कायम राख्न महिला र पुरूष दुबैको महत्व उत्तिकै हुन्छ भन्ने सोच र व्यवहार दुबै एक गराएर हेरौं त समानता कसो सम्भव नहोला र?
हिंसामुक्त समाज बनाउने जिम्मेवारी कसैलाई छुट्टै रूपमा दिइएको हुँदैन र एक्लो प्रयासले मात्र पनि यो सम्भव हुँदैन, यो एक सामूहिक दायित्वको विषय हो।
तर सामूहिकता प्रत्येक व्यक्ति व्यक्तिको परिवर्तनबाट सुरू हुन्छ। हामीले आफ्नो सोच, भाषा र व्यवहारको समीक्षा गर्न सक्यौं भने मात्र समाजले हिंसामुक्त भोलिको यात्रामा पहिलो कदम चाल्दछ। हामी हिजोभन्दा आज अलिकति राम्रो बन्ने प्रयास गर्यौं भने, त्यो प्रयास नै हिंसाविरूद्धको सबभन्दा बलियो हतियार बन्न सक्छ।