बिहान पाँच बजेको अर्लामले सुधांशुका आँखा खुल्छन्। बाहिर सडकमा गाडी गुडेको, हर्न बजेको र मानिसका गुनगुन आवाज सुनिन थालिसकेका हुन्छन्। उसलाई शौचालय जाने मन हुनाले बत्ती बाल्छ।
बत्ती बलेपछि उसको आँखा कोठाको भित्तामा झुण्डिएको दश वर्ष पुरानो क्यालेन्डरमा जान्छ। त्यो कहिल्यै फेरिँदैन — किनभने उसको दिन पनि त कहिल्यै फेरिएको छैन। पैसा कमाउने, अफिस जाने र हाकिमको चाकडी गर्ने नाममा अहिले पनि उसले धेरै कुरा गुमाएको छ। मस्त निन्द्रामा रहेकी श्रीमतीको अनुहार हेर्छ अनि ऊ शौचालय जान्छ।
शौचालयको ऐनामा सुधांशले आफैलाई नियाल्छ —थाकेको अनुहार, फुलेको कपाल र मुखभरि देखिन थालेको चाउरीले उसको मन भारी हुन्छ। उसले पटक–पटक अनुहार पखाल्छ। मानौं अनुहार पखाल्दा उसका पीडा, अभाव, दु:ख सबै जान्छन्।
तर, अनुहार पखालेर उसको थकान मेटिँदैन, बरू मन अझ भारी हुन्छ। दस वर्षअघि उसले यही अनुहारलाई 'उज्यालो भविष्यको प्रतीक' मानेको थियो। तर अहिले त्यो ऊर्जा केवल 'थकानको प्रतीक' बनेको छ। एकपटक खुइय गर्यो। अनि रूमालले मुख पुछ्यो।
भान्साबाट चियाको गन्ध आउँछ, श्रीमती उठिसकेकी हुन्छिन्। उनी भन्छिन्, 'चिया खाएर निस्कनुस्, ढिलो हुन्छ'। सुधांशले सहमतिको भावमा टाउको मात्रै हल्लाउँछ।
चिया पिउँदा पिउँदै ऊ सोच्न थाल्छ— के यस्तै दिनहरू बाँच्नकै लागि मैले पढेँ, सपना देखेँ, संघर्ष गरेँ? श्रीमती छेउमा आएर चियाको कप राखिदिएर भन्छिन्, 'आज बच्चाहरूको स्कुलको फि अनि किस्ता पनि बुझाउनुपर्छ'। उसले त्यसमा पनि मौन सहमति जनायो।
म पनि सहरका हजारौं मानिसझैं केवल तलब र बिल बीचको सम्झौता बनिसकेछु। दुई सुरूप चिया पिउँदै घडी हेर्छ, करिब ७ बज्न लागिसकेको हुन्छ। उसले बिहान घर नजिकै रहेको समभाव कलेजमा लेखाको काम गर्थ्यो। अब आफ्ना लागि सोचेर बस्ने समय पनि कहाँ थियो र ऊ कपडा लगाउन कोठातिर पस्छ।
श्रीमतीले दिएको चियाको अन्तिम घुट्की हतारमा लगाएर सुधांशु कलेज पुग्छ। उसलाई बाटोमा देखिएका सबै बटुवाहरूको जीवन उसको जस्तै लाग्छन्। सबै जना केवल कसरी कमाउने भन्ने दौडधुपमै आफ्नो ऊर्जावान् जीवन व्यतीत गरिरहेका छन्।
सुधांशुको दैनिकी फेरि उही ढंगले सुरू भयो। कलेज पुगेर हाजिर गर्यो। अनि कम्युटर खोलेर त्यही मेचमा बस्यो, जहाँ बसेर केही वर्षदेखि उसले उही दैनिकी गुजारिरहेको छ। कम्प्युटरको पर्दामा उसको अनुहार परावर्तित हुन्छ — एउटा मेसिनले अर्को मेसिनलाई नियालिरहेको जस्तो। टाइप गर्ने हात, बुझाउने रिपोर्ट, सधैं एउटै अनुशासन। त्यो अनुशासनले उसलाई बाँच्न मात्रै सिकायो, तर वास्तविक जिन्दगी बाँच्न सधैँ रोक्यो।
सुधांशले कहिले गीत लेख्ने सपना देख्थ्यो। उसको नोटबुकमा अधुरा गीतहरू थिए— प्रेम, स्वतन्त्रता र अस्तित्वका। कहिलेकाहीँ ऊ स्वतन्त्र पंक्षी जसरी हिँड्ने सपना पनि देख्थ्यो। तर, हरेक महिनाको अन्त्यमा आउने 'भाडा', 'स्कुल शुल्क' 'कर्जा' लगायतका व्यावहारिक पक्षले सपनाहरू बाँच्ने होइनन्, सधैँ स्थगित गर्ने वस्तु बने।
सुधांशु भन्ने नाम त बाँकी थियो, तर त्यो मान्छे अब पनि त्यही हो कि होइन भन्ने प्रश्न मनभित्र उब्जन्थ्यो। सबै कुरा मेसिनजस्तो बनिसकेको थियो — उठ्ने, जाने, काम गर्ने, फर्कने, र फेरि अर्को बिहान त्यही चक्र दोहोर्याउने।
'सुधांश दाइ, कफी पिउन जाऔं?' सहकर्मी सविनाको आवाजले ऊ झसंग हुन्छ।
टेबुलभरि छरपष्ट भएका फाइलहरू छोडेर ऊ कफीका लागि निस्किन्छ। सविनासँग भने उसले रमाइला कुरा गर्छ। कतिपय विगतका अनुभव सेयर गर्छ भने कतिपय पूरा नभएका सपनाबारे पनि चर्चा हुन्छ। सविनाका पनि त जीवनका कथा र दु:ख उही दफ्तरको ढोकादेखि घरको ढोकासम्मकै त थिए। जिन्दगी होइन, एक किसिमको 'ड्युटी' बाँचिरहेको जस्तो।
दफ्तरमा कम्प्युटर र कागजको संसार थियो। टेबलमा फाइलहरू थुप्रिएका थिए भने किबोर्डको टकटक र प्रिन्टरको आवाज आइरहेको थियो। त्यहाँ हजारौँ हिसाबकिताब र हजारौँ नामहरू समेटिएका थिए। कफी ब्रेकबाट फर्किँदा दृष्य उस्तै थियो—टेबलभरि फिजारिएका कागजपत्र, आधा लेखिएका नोट र कम्प्युटरको पर्दामा दर्जनौँ एक्सल फाइलहरू छोडिएका थिए। ती अलपत्र पारिएका नोट र फाइलहरू हेर्दा उसलाई लाग्थ्यो—उसको जीवन पनि यस्तै पर्खाइमा अड्किएको छ, जहाँ न सुरूआत छ न अन्त्य।
त्यसैबीच फोन बज्छ। हाकिमको गम्भीर आवाज सुनिन्छ— 'सुधांशु, त्यो रिपोर्ट आजै पठाइदेऊ' छोटकरीमा उसले 'हुन्छ सर अब दश मिनेट' भन्छ र फेरि स्क्रिनतिर फर्किन्छ। फटाफट कामतिर लाग्छ। काम गर्दागर्दै उसले १० बजिसकेको पत्तो पाउँदैन। अहो! आज बर्बाद भयो भनेर ऊ हतारहतार कलेजबाट निस्किन्छ। किनभने ऊ सहरी विकास आयोजना अन्तर्गतको एउटा प्रोजेक्टमा करारको जागिरे थियो।
करारमा जागिर खाएरै उसको कपाल फुल्न थालिसकेको थियो। १०ः१५ सम्म हाजिर गरिसक्नुपर्ने नभए हाजिरीमा गयल लाग्ने डरले ऊ स्पिडमा बाइक दौडाएर अर्को अफिसमा पुग्यो। उसले आज खाना पनि खान भ्याएन। कामको प्रेसरले ऊ धेरै थाकेको हुन्छ।
सुधांश अचेल श्रीमतीसँग पनि कडा स्वरमा बोल्छ। ऊ थकानले मात्रै होइन, कुनै अदृश्य बोझले गलिरहेको जस्तो देखिन्छ। दफ्तरबाट फर्किँदा उसले घरलाई घर होइन, अर्को जिम्मेवारीको कोठा सम्झिन थालेको छ। अचेल घर पुगेपछि ऊ प्रायः मौन बस्छ। सोफामा बस्दा उसको आँखाले कुनै अदृश्य वस्तुको खोजी गरिरहेको जस्तो देखिन्छ। बाबालाई देखेर उसका छोराछोरी हाँस्दै दौडिएर आउँछन्, तर ऊ मुस्कुराउन सक्दैन। बरू उसलाई झर्को लाग्छ।
श्रीमतीले चुपचाप उसको अनुहार हेर्छे— रिसले होइन, चिन्ताले। त्यसैले उसले सानो स्वरमा भन्छे, 'बाबा रिसाउनुभएको छ, तिमीहरू अर्को कोठामा जाऊ।'
छोराछोरी ओझेल पर्छन्, फेरि कोठामा सन्नाटा छाउँछ।
सुधांशुको आजको बिहान पनि अर्लामको घण्टीबाटै सुरू भयो। बाहिर आकाश धुम्मिएको थियो। सडकमा भीडभाड र गाडीको चर्को हर्न सुरू भइसकेको थियो। सुधांशले पर्दा स्वार्र तानेर झ्यालबाट बाहिर हेर्छ। बिहानको चिसो हावा उसको मुटुसम्म पुग्छ। सडकमा मान्छेहरू हतारिएका छन् —कसैको हातमा झोला, कसैको आँखामा चिन्ता र सबैको अनुहारमा एकै खालको दौडको थकान झल्किएको छ। हरेक मानिस पैसा कमाउन दौडिरहेका छन्। तर ती सबैको गन्तव्य उस्तै छ—थकान र पुनः अर्को बिहानको उही सुरूआत।
पर्दा तानेको आवाजले श्रीमती पनि बिउँझिन्छे। निद्राकै स्वरमा ओछ्यानमा उठ्दै सोध्छे, 'कति बज्यो?'
सुधांश घडी पनि हेर्दैन, जबाफ पनि दिँदैन।
केवल झ्यालबाट बाहिरको भीड नियाल्छ—सबै मानिसहरू आफ्नै लागि होइन, अरूका लागि बाँचिरहेका छन्। घर, परिवार, समाज, जिम्मेवारी—यी सबै अदृश्य डोरीहरू हुन्, जसले मान्छेलाई बाँधिदिएको छ। ती डोरीभित्र उसका रहरहरू, स्वतन्त्रता र सपना क्रमशः मरेका छन्।
श्रीमतीले सानो स्वरमा सोध्छे, 'आज पनि ढिलो हुने हो?'
सुधांश हल्का हाँस्ने प्रयास गर्दै भन्छ, 'ढिलो त हरेक दिन हुन्छ' यति भनेर ऊ शौचालयतिर जान्छ। उसकी श्रीमती पनि किचनतिर लाग्छे। आज पनि हतार–हतार चियाको अन्तिम चुस्की लगाएर ऊ कलेजतिर पुग्छ।
काम सुरू गरेको केहीबेरपछि सहकर्मी सबिना आएर कफी खान जाने अनुरोध गर्छे। खान मन खासै नभए पनि मनको बोझ कम हुने आशा सहित सुधांशु सविनासित निस्किन्छ। उनीहरूले कफी अर्डर गर्छन् अनि कुनाको टेबुलमा गएर बस्छन्।
सविनाले मलिनो स्वरमा भनी,'कति राम्रो हुन्थ्यो होला जीवन, पैसा कमाउन नपर्ने भए'।
सधैं हँसिलो देखिने सविनालाई यति उदास देख्दा सुधांशु अलमलमा पर्यो।
उसले सोध्यो, किन? के भयो र? 'हामीले परिवारसहित नेपाल छोड्ने निर्णय गर्यो अबको एक महिनाभित्र फिनल्याण्ड जान्छौँ।' सविनाको कुराले सुधांशु छाँगाबाट खसेजस्तै भयो।
सविना उसको एक दशकदेखिको सहकर्मी मात्रै थिइन, सुखदु:ख र जीवनमा धेरै अप्ठ्यारा अवस्थामा पनि साथमै रहने पात्र थिई। तर ३५ वर्षको उमेरमा जागिर र पैसाकै लागि देश छोड्दैछे भन्ने थाहा पाएपछि ऊ थप प्रताडित भयो।
एक असल साथी गुमाउनुको पीडा उसले महशुस गर्न थाल्यो। दैनिकीको थकान, वितृष्णा र पीडासँग जुध्दै आइरहेको सुधांशु आफ्नो नजिकको सहकर्मी समेत पैसाको खोजीमै पलायन हुन लागेको देख्दा थप भावविह्वल भयो।
सुधांशु सविनाको कुराले केही क्षण मौन रह्यो। कफीको बाफले उसको अनुहार ढपक्क ढाक्यो, जस्तो कि समयले पनि उनीहरूको मित्रतालाई त्यस्तै धुमिल बनाउँदै थियो।
सविनाको अनुहारमा न त हर्ष थियो, न दुःख — केवल एउटा थकित स्वीकारोक्ति।
'हरेक बिहान त्यही अर्लाम, त्यही कागज, त्यही तलब र अन्त्यमा थकान। उसले बिस्तारै भनी, 'जीवन यत्ति सीमिततामै अड्किएको छ सुधांश दाइ,' अब केही फरक खोज्न मन छ।'
सुधांशुले कफीको कप उचाल्दै सोध्यो, 'तर देश?' उसको स्वरमा हल्का कम्पन थियो।
सविनाले अर्धमुस्कानका साथ भनिन्, 'देश पनि आखिर मान्छेको सपना पूरा गर्नका लागि हो नि। जब देशले नै सपना मार्छ, तब पलायन पनि बाँच्ने एउटा उपाय बन्छ।'
यी शब्दहरू सुन्दा सुधांशुको हृदयमा हलचल मच्चियो। उसले सम्झियो —आफ्नै बाल्यकालका सपना, गीत लेख्ने आकांक्षा, स्वतन्त्र हावामा हिँड्ने चाहना। सबै नोकरी र जिम्मेवारीको नाममा स्वाहा भयो। सविनाले कफीको अन्तिम घुट्की लिएर भनी 'तपाईं पनि कहिलेकाही आफ्नै लागि बाँच्ने प्रयास गर्नुहोस् दाइ'।
सुधांशु केही क्षण त्यही बसिरह्यो।
उसका आँखा कपमा बाँकी रहेको थोपा–थोपा कफीमा अडिएका थिए — मानौँ त्यसैमा उसले जीवनको बाँकी मिठास खोजिरहेको छ।
मिल्ने साथी सविना पनि विदेश गएपछि ऊ झन् एक्लो भयो। अचेल उसको ढोकासम्म आएर कफी खान जाऔँ भन्ने साथी कोही छैन। अफिसका सहकर्मीहरू पनि सबै आफ्नै दुनियाँमा व्यस्त छन्—कसैलाई पदको हतार छ, कसैलाई पैसाको। सुधांशु ब्रेकमा पनि एक्लै बस्छ। सविना भए यति मौन दिनमा कम्तीमा कफीको एक चुस्की हाँसो बाँडिन्थ्यो भन्ने उसलाई लाग्छ। तर अब ऊ न त बोल्छ, न कफी खान निस्कन्छ।
गत महिनाको अन्त्यतिर ऊ पोखराकोे यात्रा गर्ने तयारीमा थियो। तर, यात्रामा जान बिदा लिने कुरा गरेपछि अफिसबाट फोन आयो— 'आजै फाइल क्लोज गर्नुपर्छ, छुट्टीको कुरा नगर्नू सुधांशजी' हाकिमको कठोर स्वरमा कुनै मानवीयता थिएन।
सुधांशले 'ठिक छ सर' भने पनि उसलाई त्यही जागिरका कारण हरेक कुराको बलिदान दिनुपरेकोमा ग्लानी महसुस हुन्थ्यो। उसले टिकट रद्द गर्यो र दफ्तरको ढोकाबाट छिरेर फेरि फर्कियो, उही काम, उही फायल र उही जीवनशैलीमा।
सामाजिक सञ्जाल हेर्दा सबैको जीवन उज्यालो र रंगीन देखिन्थ्यो। कसैले नयाँ जागिर पाएको फोटो पोस्ट गर्थे त कसैले विदेश र समुद्र किनारको यात्रा देखाउँथे। कसैले परिवार सहित 'ह्याप्पी लाइफ' लेख्थे त कसैले मीठा खानेकुरा खाएको फोटो भिडिओ हालेर रमाइरहेको देखिन्थ्यो। सुधांश कहिलेकाहीँ त्यही स्क्रिन हेरिरहन्थ्यो र सोच्थ्यो— 'यी सबै मानिस साँच्चै यति खुसी होलान् त?'
कहिलेकाहीँ ऊ पनि एक कप कफीको फोटो वा झ्यालबाट देखिएको सहरको सुन्दर दृश्य पोस्ट गर्थ्यो। तर भित्रभित्रै उसले महसुस गथ्र्यो— 'यी त केवल प्रमाण हुन् कि म पनि बाँचेको जस्तो देखिन चाहन्छु।'
उसको जीवन अब देखावटी मुस्कान र मौन पीडा बीचको अदृश्य युद्धजस्तै बनिसकेको थियो।
सानैदेखि घडीको सौखिन थियो सुधांशु। घडी हेर्न, त्यसको चाल र स्वरलाई मन पराउने एउटा विशेष रूचि थियो उसको। एकदिन अफिसको काम सकेर बजार जाँदा उसको नजर एउटा घडीमा पर्यो। सानो, तर सुन्दर। मानौं उसको बाल्यकालका कुनै याद बाँचिरहेको थियो। ऊ केहीबेर त्यहाँ रोकियो, घडीलाई हातले छाम्यो, डिजाइनको नियाल्यो, अनि मनमनै मुस्कुरायो। अनि फेरि सम्झियो खाली गोजीको कथा।
'यो महिनाको तलब पनि बाँकी छैन, अब खर्च घटाउनु पर्छ। यो घडी आवश्यकता होइन, केवल इच्छा मात्र हो।' अनि ऊ घडी नकिनी घर फर्कियो। जसले उसलाई आत्मग्लानि गरायो। आफ्नो बाल्यकालका याद, आफ्ना साना खुसी र रहरहरू पनि बिदा भएको अनुभूति गर्यो। मध्यम वर्गीय जीवन जिम्मेवारी र दैनिकीको चक्र मात्रै होइन; यो धेरै सपनाहरूको चिहान पनि हो। जहाँ सुधांशुले जस्तै हरेक मानिसले आफ्ना रहरहर मारेर कतर्व्य निर्वाह गरिरहेका हुन्छन्।
अफिसको वातावरण पनि उसलाई असह्य लाग्न थालेको थियो। हाकिमहरूको काम अह्राइमा आदेशको घमण्ड झल्किन्थ्यो, अधिनस्थ कर्मचारीहरू चुपचाप आदेश पालना गर्न बाध्य हुन्थे। श्रमले होइन, चाकडीले मूल्यांकन गर्ने परिपाटी उसलाई पटक्कै मन पर्दैनथ्यो। एकदिन लञ्च ब्रेकमा कसैले भन्यो, 'त्यो प्रमोसन उसलाई मिल्यो रे, किनभने ऊ हाकिमको नजिक छ।'
त्यो सुनेर कोही हाँसे, कोही भने मौन नै रहे। सुधांशुले केही बोलेन। तर, सोच्यो— 'कामले भन्दा पनि सम्बन्ध वा पावरले मूल्य तोकिने ठाउँमा मेहनत सधैं फिका बन्छ चाकडी सधैं प्राथमिकतामा पर्छ।'
मनमा चलेका विभिन्न आँधीबेहेरीले सुधांशु अस्थिर भएको थियो। त्यस दिन ऊ एक्लै क्याफेतिर हिँड्यो। क्याफेभित्र हल्का संगीत बजिरहेको थियो—मन्द, शान्त, तर उसलाई त्यो धुनले एक्लोपनको अनुभूति गराइरहेको थियो। क्याफेको एउटा कुनामा गएर बस्यो। वेटर आएको देखेपछि उसले भन्यो 'एक कप स्ट्रङ ब्ल्याक कफी।'
वेटर 'हस् सर' भन्दै गयो।
कफीको प्रतीक्षा सहित ऊ वरिपरि नियाल्न थाल्यो। सामुन्ने टेबुलमा दुई प्रेमिल जोडी बसेका थिए—उनीहरूको हाँसो भविष्यप्रतिको भरोसाले भरिएको देखिन्थ्यो। त्यो देख्दा उसलाई पनि आफ्नो असफल प्रेमको याद आयो। अर्को कुनामा एउटी युवती ल्यापटपमा टाइप गर्दै थिई, केही मान्छेहरू मोबाइलमै घोप्टिएका थिए, मानौं सारा संसार त्यही स्क्रिनभित्र सीमित छ। सबै मानिस आफ्नै दुनियाँमा व्यस्त देखिन्थे। तर सुधांशुलाई त्यो भीड पनि शून्य लागिरहेको थियो।
'हजुरको कफी आयो सर' भन्ने आवाजले ऊ झसंग भयो।
कफीको पहिलो चुस्की लिँदै उसले महसुस गर्यो—कफीभन्दा कडा त उसका अनुभवहरू थिए।
क्याफको झ्यालबाट बाहिर देखिएको दृश्य पनि रमाइलो थियो। हरेकको गन्तव्य छुट्टै, तर सबैको हतार उस्तै। त्यसपछि उसले वेटरलाई बोलाएर कफी सहितको एउटा फोटो खिच्न लगायो। अनि फेसबुकमा कफी सहितको फोटो राख्दै लेख्योः ' पिसफूल इभिनिङ' केही मिनेटमै थुप्रै लाइक र कमेन्ट आए।' 'योर लाइभ लुक्स एमेजिङ', 'लक्की यू'।
तर, त्यो तस्बिरभित्र उसका आँसु र थकान मिसिएका थिए।
आज पनि घर फर्किँदै गर्दा सडकको भीड उस्तै थियो — मान्छेहरू हतारिएका, बसका हर्न, मोटरसाइकलको धुवाँ र पिरो सपनाहरूको गन्ध मिसिएको हावा चलिरहेकै थियो।
सुधांशुले बाइकमा चढ्दै सोच्यो — हरेक मानिस दौडिरहेका छन्, तर कसैलाई पनि गन्तव्य थाहा छैन। घर पुग्दा श्रीमती झ्यालबाट उसको बाटो हेर्दै थिई।
छोराछोरी टिभी हेर्दै थिए, उनीहरूको हाँसो र हल्लाले घर गुञ्जिरहेको थियो।
ऊ सरासर आफ्नो कोठामा प्रवेश गरेर ढोका बन्द गर्यो, ऐनामा आफैलाई नियाल्यो— उही थकित अनुहार, उही चाउरी, उही शून्यता। अनि एउटा पुरानो डायरी पल्टाएर लेख्न थाल्यो– 'म अब थकानको अर्थ खोज्दैछु।'
'पैसा मात्रै होइन, वास्तविक जीवनको उज्यालो खोज्दैछु।'
कलम चलाउँदै जाँदा उसको आँखा रसाए, तर अनुहारमा हल्का मुस्कान फर्कियो। सुधांशुले पहिलो पटक महसुस गर्यो — जीवन केवल तलब र बिलबीचको सम्झौता मात्रै होइन, 'स्वीकारोक्ति' र 'सपना' बीचको संवाद पनि हो।
अर्को बिहान पनि सुधांशु अफिस पुग्यो। बाटो उस्तै थियो। सडकमा मान्छेहरू हतारिँदै थिए—कसैको हातमा फाइल, कसैको काँधमा सपना र सबैका आँखामा अदृश्य थकान। अफिस पुग्दा ठूला फलामका ढोकाहरू अगाडि देखिए। ती ढोकाहरू पहिलेदेखि नै त्यहीँ थिए—सफा अनि चम्किला। ढोकाको सिसामा उसले आफ्नो प्रतिबिम्ब देख्यो— अनुहार शान्त, तर दफ्तरकै जिन्दगीमा हराएको मान्छे।
अफिसको कुर्सीमा बसेपछि सुधांशुको मनमा काफ्काका पात्र, स्यामुएल बेकेटका मौन संवाद र हेमिङ्वेका हार्ने तर नझुक्ने मानिसका छायाँहरू दौडिए।
उसले सोच्यो— मानिस अब 'बाँच्नका लागि काम' गर्दैन, 'कामका लागि बाँच्छ।'
त्यो क्षणमा ऊ आफैलाई काफ्काको कुनै अफिसको पात्रजस्तो महसुस गर्छ, जहाँ प्रत्येक दिन उसले अनगिन्ती फाइलहरूमा आफ्नो अस्तित्वका चिह्नहरू खोज्छ। तर, उसको सोच बदलिन थाल्यो। ऊ बुझ्न थाल्यो—संसारले तिमीलाई बुझोस् या नबुझोस्, समयले तिमीलाई दबाओस् या बेवास्ता गरोस्, तिमीले आफ्नो अस्तित्वलाई स्वीकार गर्नै पर्छ। बेकेटका पात्रहरू जस्तै ऊ पनि अब मौन भएर बाँच्ने तयारीमा थियो—मौनता, हार होइन; आत्मस्वीकृतिको रूप हो भन्ने स्वीकार गरेर।
हेमिङ्वेका बूढा माछा मार्ने पात्र सान्टियागोजस्तो ऊ पनि भित्रैभित्र साहसिक भएर बाँच्न चाहन्थ्यो—'मानिस नाश हुन सक्छ, तर पराजित हुन सक्दैन' भन्ने भावनासहित ऊ अघि बढ्न चाहन्थ्यो। हेमिङ्वेका पात्रझैँ ऊ हार मान्न तयार थिएन, केवल स्वीकार गर्न तयार थियो।
अब ऊ आफूभित्रको थकानलाई शत्रु होइन, शिक्षकका रूपमा हेने निर्णय गर्छ। काम, समय, जिम्मेवारी र अनगिन्ती औपचारिकताबीच पनि उसले जीवनको मर्म बुझ्यो—भाग्नु समाधान होइन, स्वीकार नै अस्तित्वको पुनर्जन्म हो। त्यसपछि ऊ उठ्छ, टेबलको धुलो पुस्छ र फाइलहरू मिलाउँछ।
दिनभरि ऊ उत्साहित भएर आफैलाई उत्प्रेरित गरेर काम गर्ने प्रयास गर्छ। बाहिर साँझको उज्यालो ढल्दै थियो, तर उसले नयाँ बिहानको सुरूआत भएको अनुभव गरिरहेको थियो। आज ऊ दफ्तरको ढोकाबाट निस्कने क्रममा एकपटक मुस्कुरायो—न कृत्रिम खुसीले, न कुनै उपलब्धिले। तर उसलाई आत्मबोधको शान्ति मिलिरहेको थियो।
अब सुधांशुले स्वीकार्यो– 'जीवनले जस्तोसुकै रूप धारण गरे पनि, त्यसलाई स्वीकार गर्नु नै बाँच्ने सबभन्दा सुन्दर कला हो। अन्ततः हामी सबै हार र जितको बीचमा होइन, स्वीकृतिको अन्तिम विन्दुमा पुगेर मात्र स्वतन्त्र हुन्छौं। खुसी हुन्छौं।'
ऊ अब न त दबाबमा थियो, न त उदासीमा। ऊ परिवारसँग बसेर हाँस्यो, छोराछोरीका मीठो बोली सुनेर रमायो, श्रीमतीसँग पनि ठट्यौली भाषामा कुरा गर्यो। लामो समययको आत्मस्वीकृतिपछि सुधांशुको अनुहार साँच्चै उज्यालो देखियो। उसले अबको बाँकी जीवनमा दफ्तर र जिम्मेवारीलाई बोझका रूपमा होइन, अवसरका रूपमा लिने उसले प्रण गर्यो।