नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन्।
शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताए।
'भूराजनीतिक द्धन्द्धको क्रिडास्थल बनाउने जुन प्रकारको सुनियोजित षडयन्त्र भईराखेको छ। त्यसलाई पराजित गरी हाम्रा पुर्खाहरुले कहिल्यै कसैसँग उपनिवेष नभएको मुलुकको रुपमा नेपाल स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितलाई जसरी उचो राखेका छन्। त्यसको रक्षा गर्ने एक मात्र पार्टीको रुपमा नेकपा एमाले छ। त्यसको विशेष नेतृत्वमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ। त्यस अर्थमा यो अधिवेशनले केपी शर्मा ओलीलाई स्थापित गर्ने होइन। उहाँ राष्ट्रिय राजनीतिमा त्यसै स्थापित नेता हो। आज राष्ट्रिय राजनीतिक एक प्रकारले भन्ने हो भने नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको वरिपरि नै घुमीराखेको छ। चाहे सत्तामा रहेको बखत हो, चासो प्रतिपक्षमा रहेको बखतमा होस। या सडकमा रहेको बखत होस। या सिंहदरवारमा रहेको बखत होस। त्यस अर्थमा हामीले के कुरा बुझ्नुपर्दछ भने हामीले उहाँलाई महाधिवेशनको माध्यमबाट स्थापित गर्न खोजेको होइन। हामीले उहाँलाई राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्न सक्ने योग्य नेताको रुपमा नेतृत्व प्रदान गर्न खोजेका हौं,' उनले भने।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको पनि बताए।
'त्यो आक्रमण र घेराबन्दी व्यक्ति केपी शर्मा ओलीमाथिको घेराबन्दी र आक्रमण होइन। एमाले पार्टी, त्यसले अवलम्बन गर्ने नीतिहरु र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो, आक्रमण हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ,' उनले भने।
यस्तो परिस्थितिमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरूले प्रतिस्पर्धा भन्दा एकीकृत हुनुपर्ने उनले बताए।
'सबैलाई एकतावद्ध भएर कमरेड केपी ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतिहरुलाई सामना गर्न पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्ने अभियानमा हामी सबै जुट्नेछौँ,' उनले भने।