ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स- बेस्ट बैंक नेपाल २०२२' बाट सम्मानित भएको छ।
बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन्।
सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो। बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ-नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।
युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ। युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन्।
अमेरिकाको बैंक अफ अमेरिकाले भने यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ।
हाल ग्लोबल बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानेडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।