नेपाल अहिले चुनौतीपूर्ण मोडमा छ। भर्खरै भएका आन्दोलन र बेथिति हेर्दा स्पष्ट हुन्छ — राष्ट्रको नेतृत्वले गम्भीर असफलता बेहोरेको छ।
त्यो असफलता राजनैतिक दलहरूको मुख्य नेतृत्वमा लामो समयसम्म रहेका र सत्ताको केन्द्रमा आलोपालो नेतृत्व गरिरहेका शीर्ष नेतृत्वको त हो नै, तर त्यो त्यतिमा मात्रै सीमित छैन। भ्रष्टाचार, अनियमितता, कानुनी राज्यका आधारभूत मान्यताको उल्लंघन र जनआवश्यकतालाई बेवास्ता गर्दा राज्य संरचनाको ढाँचाभित्रै खोक्रो बनेको देखिन्छ।
यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो ऐतिहासिक दलले आत्मसमीक्षा मात्र गर्ने होइन, गहिरो रूपान्तरणको मार्ग खोज्नैपर्छ। यो लेखमा नेपाली कांग्रेसका वर्तमान चुनौतीहरूको विश्लेषण गरी तलबाट उठेर कसरी पार्टीको पुनर्निर्माण गर्ने भन्ने विषयमा व्यावहारिक मार्गचित्र प्रस्तुत गर्ने प्रयास गरेको छु।
जेन–जी युवाहरूले उठाएका मुख्य मागहरू भ्रष्टाचार अन्त्य, पारदर्शिता सुनिश्चित गर्ने व्यवस्था र नेतृत्वमा जबाफदेहिताको संस्कृतिको विकास केवल मन्त्रीहरूको राजीनामा वा मन्त्रिपरिषद फेरबदलले मात्र पूरा हुन सक्दैन। किनकि समस्या केही दर्जन नेताहरूको मात्रै भन्दा पनि संरचनागत हो।
सुरक्षाका निकाय, प्रशासकीय कर्मचारी, सञ्चारका अगुवा र नागरिक समाजजस्ता महत्त्वपूर्ण स्तम्भहरूले आफ्नो जिम्मेवारी समयमा पूरा गर्न असफल हुँदा राज्य कमजोर देखिएको छ र जनविश्वासमा गम्भीर रूपमा ह्रास आएको छ। त्यसैले दोषारोपणलाई व्यक्तिमा मात्र सीमित नगरी दल र संस्थागत संरचनामा खोज्नु जरूरी छ। दीर्घकालीन समाधानका लागि पारदर्शिता, जबाफदेहिता र प्रभावकारी नियन्त्रण संयन्त्रलाई संस्थागत रूप दिनु अपरिहार्य भइसकेको छ।
यस पटकको आन्दोलन कुनै साधारण असन्तुष्टिको स्वर थिएन यो नयाँ पुस्ताका युवाहरूको भविष्य निर्माण गर्ने दृढ आकांक्षा थियो। विद्यार्थीहरू, सचेत नागरिकहरू र समाजका सक्रिय सदस्यहरूले बहुमूल्य बलिदान र जोखिम मोल्दै सडकमा ओर्लेर देखाएको ऊर्जाले हामी सबैलाई झकझक्याइदिएको छ।
उनीहरूको आवाज केवल विरोध होइन, परिवर्तनको संकल्प हो। यही संकल्प पुराना दलहरू, विशेषतः कांग्रेसका लागि गम्भीर चेतावनी हो।
किनकि यो आन्दोलनले प्रस्ट पारेको छ — सार्वभौम ढाँचामा बनेका संरचनाहरू आन्तरिक रूपमा कमजोर छन् र सानो झोँकाले पनि ठप्प पार्न सक्छन्, गर्ल्यामगुर्लुम ढल्न सक्छन्।
२००७ सालदेखि नै मुलुकको हरेक राजनैतिक परिवर्तनमा प्रमुख भूमिका निर्वाह गर्दै आएको कांग्रेसलाई पछिल्लो आन्दोलनले रक्षात्मक स्थितिमा पुर्याइदिएको छ।
अब कांग्रेससँग दुई वटा मात्रै बाटा छन्। कि त सडकमार्फत पोखिएका भावना बेवास्ता गरेर अझै जनविश्वास गुमाउने, कि तिनलाई स्वीकार गरेर नयाँ सम्भावना, नयाँ आशा र नयाँ विश्वासको निर्माण गर्ने। समयले माग गरेको यही परिवर्तन हो र यो परिवर्तन आत्मसात् गर्ने जिम्मेवारी हामी सबैमाथि आएको छ।
भ्रष्टाचार र अनियमितताको आरोपले प्रमुख दलका केही नेताहरूबारे गम्भीर प्रश्न उठाएका छन्। प्रविधिको सुलभताले गर्दा नेतृत्व तहमा रहेका व्यक्तिहरूको गतिविधि तुरून्त सामाजिक सञ्जालमा फैलिने हुने हुँदा पहिलेको जस्तो मैले गल्ती गरेको छैन भनेको भरमा मात्र छुटकारा पाउन सकिने अवस्था छैन।
यस्तो अवस्थामा पार्टीभित्रै सुधार प्रक्रिया आरम्भ हुनुपर्छ। तर त्यो ‘टप-डाउन’ (माथि–देखि तल) दृष्टिकोणबाट सम्भव छैन।
वर्षौंसम्म नेतृत्वमा बस्ने, डेलिभरी गर्न असफल नेताहरूले सहजै नेतृत्व हस्तान्तरण गर्ने, आमूल सुधारका लागि मार्ग प्रशस्त गर्ने कुरा अवास्तविक छ। त्यसैले अब वैकल्पिक र व्यावहारिक पद्धति अपनाउन जरूरी छ — त्यो हो ‘बटम-अप’ (तलदेखि माथि)।
नेपाली कांग्रेसको आधारभूत तहमा कार्यकर्ताका रूपमा कार्यरत पंक्तिको बहुमत हिस्सा हालसम्म पनि निस्कलंक र इमानदार छ।
'बटम-अप' सुधार कसरी गर्ने?
नेपालको सामाजिक र राजनीतिक संरचना र अनुभव हेर्दा, परिवर्तन माथिबाट थोपर्ने मोडलले काम गरेका छैनन्।
इतिहासले देखाएको छ — वास्तविक र दिगो परिवर्तन तब मात्र सम्भव हुन्छ जब आधारभूत तहबाट सबल नेतृत्व जन्मिन्छ। अहिलेको जस्तो माथिबाट थोपर्ने प्रक्रिया समाप्त गरी कुनै पनि बेला नेतृत्व तहमा रहने व्यक्ति तल्लो तहप्रति उत्तरदायी हुने प्रणाली बनाउनुपर्छ।
पार्टीको पहुँच, जनसमर्थन र निष्ठा अधिकांशतः गाउँ/वडा/नगर स्तरका कार्यकर्तामा हुन्छ। तसर्थ, पार्टी सुधारको मूल बाटोका लागि निमे्त काम गरिनुपर्छ।
क) वडास्तरबाट सुरू गरी गाउँ/नगर समिति पुनर्निर्माण।
ख) स्थानीय स्तरका सक्रिय, इमानदार र सक्षम कार्यकर्तालाई नेतृत्वमा ल्याउनुपर्छ।
ग) टिकट दिने प्रक्रिया स्थानीय स्तरमै खुला र पारदर्शी बनाउनुपर्छ (सदस्यबीचमा मतदान गरी छनोट गर्ने प्रक्रियाको विकास गर्ने)।
घ) केन्द्रीय तहले सचेत मार्गदर्शन गरे पनि निर्णायक अधिकार स्थानीय तहको हुनुपर्छ।
ङ) भ्रष्टाचार शून्यमा झार्ने, मेरो वा तेरो नभनीकन प्रमाणको आधारमा तुरून्त निर्णय गर्ने परिपाटीको विकास हुनुपर्छ। ढिलो गर्नु भनेको भ्रष्टाचारलाई प्रश्रय दिनु र आम जनताको विश्वास गुमाउँदै जानु हो।
यसरी मात्र पार्टीले आफ्नो मूल आदर्श— प्रजातन्त्र, मानव अधिकार, सामाजिक समानता र राष्ट्रियता लागू गर्न सक्छ। कार्यकर्ताको हातमा अधिकार नदिई केन्द्रबाट मात्र आदेश दिँदा परम्परागत सिन्डिकेट प्रणाली कायम हुन्छ र सुधार असफल हुन्छ।
व्यावहारिक कदमहरू – नीति र संरचना
अब नेपाली कांग्रेसले के गर्ने भन्नेबारे थप बहस र छलफलका लागि निम्न सुझावहरू प्रस्तुत गर्न चाहन्छु।
क) कमिटीहरूको पुनर्गठन:
- प्रत्येक वडा, जिल्ला, क्षेत्रमा खुला भेला बोलाउने, स्थानीय कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने र नयाँ नेतृत्व छान्ने। यसमा औपचारिक सदस्यता कटौती वा जाँच होइन; प्रतिबद्धता र क्षमतालाई प्राथमिकता दिने।
- पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरू, विदेशस्थित जनसम्पर्क समितिहरूलाई सांगठनिक स्वायत्तताको घोषणा गर्ने। सम्पूर्ण भ्रातृ संस्थाहरूको अधिवेशन समयमा नै सम्पन्न गर्ने। अधिवेशन गर्ने अन्तिम जिम्मेवारी सोही संस्थाको केन्द्रीय समितिलाई दिने।
- केन्द्रमा तत्काल २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमार्फत विशेष अधिवेशनको माग गरी दुई महिनाभित्र विशेष अधिवेशन बोलाएर नयाँ नेतृत्वको चयन गर्ने।
ख) टिकट वितरण प्रक्रिया:
स्थानीय तहदेखि संघीय तहसम्म उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका सदस्यहरू प्रत्यक्ष मत (खुला प्राइमरी इलेक्सन) को आधारमा चयन गर्ने। केन्द्रीय समिति मार्गदर्शक भई स्थानीय निर्णयलाई मान्यता दिने, साथै माथिबाट एकल व्यक्तिले टिकट बाँड्ने अभ्यास अन्त्य गर्ने।
ग) पारदर्शिता र जबाफदेहिता:
वित्तीय लेखा परीक्षण, शक्तिशाली तथा स्वतन्त्र अनुशासन आयोग र भ्रष्टाचारको आरोप लागेका नेताहरूमाथि छानबिन गर्न पार्टीभित्र स्वतन्त्र छानबिन संयन्त्र स्थापना गर्ने। दोष प्रमाणित भएमा पार्टीले नै कारबाही गर्ने प्रतिबद्धता जनाउने।
घ) नेतृत्व प्रशिक्षण र क्षमता निर्माण:
भुइँ तहका कार्यकर्ताहरूका लागि नेतृत्व विकास तालिम, सार्वजनिक नीति र व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने। यसले नयाँ नेतृत्वलाई गुणस्तरीय बनाउन मद्दत गर्नेछ।
ङ) युवासँग संवाद र समावेशी रणनीति:
जेन–जी र युवा कार्यकर्तासँग संवाद मञ्च कायम गर्ने; उनीहरूका माग, योजनाहरू सुन्ने र पार्टीको नीतिमा समावेश गर्ने। युवालाई प्रतीकात्मक स्थानमा मात्रै नराखी वास्तविक निर्णय प्रक्रियामा समावेश गर्ने।
च) नीति अन्तरक्रियात्मक मञ्च:
पार्टीले खुला नीति परामर्श मञ्च निर्माण गर्ने जहाँ विषयविज्ञ, नागरिक समाज, मिडिया र स्थानीय नेताहरू सहभागी भएर नीति र अभियान निर्माणमा सल्लाह दिने।
छ) नैतिक मानक र प्रतिबद्धता घोषणापत्र:
पार्टीले सार्वजनिक रूपमा नैतिकता, पारदर्शिता र जनमुखी शासन सञ्चालनको घोषणा गर्ने र त्यसको कार्यान्वयन गर्ने मापदण्ड तोक्ने।
ज) प्रविधिको उच्चतम प्रयोग:
नयाँ पुस्तालाई मूलधारमा समावेश गराउन प्रविधिको प्रयोग गर्न अनिवार्य भइसकेको छ। प्रविधि प्रयोग गर्दै आफ्नो प्रचार, गरिएका कार्यको सर्वेक्षण र प्राप्त सुझावहरूमाथि गहन छलफल गरी तुरून्त सुधार गर्न जरुरी छ।
अस्थायी सरकार र निर्वाचन
अन्तरिम सरकारले चुनाव घोषणा गरिसकेको सन्दर्भमा कांग्रेसजस्तो एउटा प्रमुख राजनीतिक दलको निर्णय स्पष्ट हुनु आवश्यक छ। विभिन्न संवैधानिक प्रश्नहरूमा रूमलिनुभन्दा पार्टीले तलबाट पुनर्निर्माण गरी नयाँ नेतृत्व र उम्मेदवारलाई तयार पार्नुपर्छ र निर्वाचनमा जानुपर्छ।
चुनाव नै लोकतन्त्र फिर्ता ल्याउने सबैभन्दा सटिक बाटो हो। तर चुनावसम्म पुग्दा पार्टीले सुनिश्चित गर्नुपर्ने कुरा निम्नानुसार छन्।
क) दागरहित उम्मेदवारको चयन – अपराध, भ्रष्टाचार वा अनियमिततामा आबद्ध नभएका मानिसलाई प्राथमिकता दिने।
ख) स्थानीय नेतृत्वको सिफारिसमा आधारित टिकट वितरण – टिकट माथिबाट थोपरेर बाँड्नु गलत हुनेछ।
ग) युवा सहभागिता र समावेशी तालिका – नयाँ पुस्तालाई प्रतिनिधित्व र अवसर दिने नीतिहरू लागू गर्ने।
यदि पार्टी चुनावमा सक्रिय र पारदर्शी भएर भाग लियो भने मात्र जनतासँग पुनः सम्बन्ध स्थापित हुनेछ र पार्टीको सान्दर्भिकता पुनर्स्थापित हुनेछ।
नयाँ पुस्ताका जेन–जी आन्दोलनकारीहरूलाई कांग्रेसले विरोधी मात्र होइन, सम्भावित साझेदार सम्झिनुपर्छ। उनीहरूको ऊर्जा, निष्ठा र देशप्रेमले आन्दोलनलाई जीवन्त बनायो। कांग्रेसले उनीहरूलाई सजातीय बनाएर, मात्र राजनीतिमा नतानेर, तर नीति संरचनामा सहभागी गराएर दीर्घकालीन रूपमा देश बदल्न सकिन्छ।
युवा नेताहरूलाई सन्देश हो — निरन्तरता, संयम र दीर्घकालीन प्रतिबद्धता नै परिवर्तनको मुख्य आधार हो। एक, दुई दिनको आन्दोलनले धेरै कुरा फेरबदल गर्न सकिँदैन; निरन्तर दबाब र सशक्त सहभागिताले मात्र संस्थागत सुधार सम्भव हुन्छ।
नेपालको वर्तमान राजनीतिक संकटले स्पष्ट पारेको छ — परम्परागत शक्ति कब्जा गर्ने शैली, पारदर्शिताको अभाव र नेतृत्व जबाफदेही नहुनु दीर्घकालीन रूपमा देशका लागि आत्मघाती छ। समयको पदचाप र जनताको भावना बुझ्न नसक्ने दल लामो समयसम्म जीवित रहन सक्दैनन्।
बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले नेतृत्व गरेको दललाई कसरी सान्दर्भिक र जनमुखी बनाउने, आजको मुख्य मुद्दा यही हो।
त्यसैले नेपाली कांग्रेसजस्तो ऐतिहासिक दलको दायित्व भनेको आफूभित्रै आत्मपरिवर्तन गरी, जनतासँग पुनः सम्बन्ध कायम गर्दै देशलाई वास्तविक अर्थमा प्रजातान्त्रिक मार्गमा अघि बढाउने हो। ती परिवर्तन तलबाट उठ्ने नेतृत्व, युवा सहभागिता र कडाइका साथ लागू गरिने नीतिहरूबिना सम्भव छैन।
कांग्रेसले यस्ता नीतिगत व्यावहारिक कदमहरू अपनायो भने मात्र यो पार्टी फेरि राष्ट्रिय राजनीतिक जीवनमा सान्दर्भिक र जनतामुखी शक्ति बन्न सक्नेछ।
(नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री डा. यादव पण्डित जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनका अध्यक्ष हुन्। उनी अमेरिकास्थित एक विश्वविद्यालयमा प्राध्यापन गर्छन्। )