यात्रामा हुनुहुन्छ
'शुभ यात्रा’ त भन्छु
तर धराप थापे जस्तै छन्- हाम्रा सडक
झर्नै लागेको पहिरो
खस्नै लागेको ढुङ्गा
भाँचिनै लागेको पुल
देशमा औद्योगिक स्तर अभिवृद्धिका लागि
क्रसर उद्योगको रुट पक्रिँदा
भित्रैसम्म कपेको कारणले
भत्किनै लागेको सडक
मेरो निम्छरो 'शुभकामना’को वशको कुरा होइन;
रोकिँदैन।
यात्रामा हुनुहुन्छ
'शुभ यात्रा’ त कसरी नभन्नु र!
तर हाम्रो सडक यातायात-
यति अनिश्चयको विषय भएको छ
काठमाडौँबाट नारायणघाट पुग्न तीन दिन लाग्न सक्छ
काठमाडौँबाट सिन्धुली झर्न दुई दिन लाग्न सक्छ
काठमाडौँबाट विदुर पुग्न बाटामा बास बस्नु पर्ने हुन सक्छ
त्यसैले बाटा खर्च राम्रै जोरजम्मा गरेर मात्र घरबाट निस्किनु होला
बाटामा–
बिस्कुट/चाउचाउ प्रतिप्याकेट रु. ५०/-
र, मिनिरल वाटर प्रतिबोतल रु. ६०/-
तिर्न सक्ने मन र गोजी लिएर निस्किनु होला।
यात्रामा हुनुहुन्छ 'शुभ यात्रा' त भन्छु भन्छु
मान्छेहरू गाई पाल्छन्, बाछो सडकमा छाडिदिन्छन्
मान्छेहरू कुखुरा पाल्छन् र चर्न सडकतिर धपाई दिन्छन्
त्यसैले हामीकहाँ अघिल्लो हप्ता गरेको पिच
पछिल्लो हप्ता हुँदैन;
केही पिच सडकमा निस्केर जुध्न बाछाले 'होक्राँ’ गर्दा
खुट्टाले उधिन्छ र खाल्डो बन्छ
केही पिच माउ कुखुराले चल्लाका लागि
चारो खोज्न खोस्रिदा क्षतविक्षत हुन्छ।
सजिलो भएको छ–
देशमा भ्रष्टाचार व्याप्त भएकाले
मनैदेखि स्यालुट गर्न सकिने मानिसहरूको संख्या
अत्यासलाग्दो स्तरमा खुम्चिँदै आएको छ
(त्यसमा पनि स्यालुट माग्नेको ठुलो संख्या
यतिखेर त घरभित्रै छ जस्तो छ।)
संयोगवश स्यालुट गर्नै पर्यो भने
बुट बजार्दा सडक संरचनाको ख्याल गरेर बजार्नु होला
भासिन सक्छ–
तपाईँको एउटै स्यालुटले सहरमा
मोटरको कोकोहोलो मच्चिन सक्छ।