बिहानै सबेरै अलार्म बज्छ अनि आँखा खुल्छ। पहिलो नजर घडीमा भन्दा पनि मोबाइल खोज्नमा लाग्छ। यताउता मोबाइल छाम्छु, मोबाइल भेटिन्छ अनि बल्ल आनन्द हुन्छ। कहिलेकाहीँ त लाग्छ सायद मोबाइल भएन भने श्वास फेर्नै गाह्रो हुन्छ होला।
यो सायद तपाईं अनि मेरो बानी हो। हामी आजभोलि उठेर पूजापाठ गर्न वा पढ्नतिर लाग्नुभन्दा पनि मुख पनि नधोईकनै टिकटक र फेसबुक स्क्रोल गर्नतर्फ लाग्छौँ।
सम्झन्छु म सानो छँदाको मेरो गाउँको बिहानीको रमाइलो। सबेरै घरका सबै उठ्थ्यौँ, आमा घर सफा गर्न र सिँगार्न लाग्नुहुन्थ्यो। बुवा घरका अन्य काम गर्न अनि हामी बालबच्चा आमालाई भान्सामा सघाउँदै पढ्दै गर्थ्यौँ। दिउँसो हामी स्कुल जान्थ्यौँ, आमाबुवा आ-आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो। हामी बेलुका स्कुलबाट आई खेल्न जान्थ्यौँ अनि बेलुका घरका सबै सदस्य जम्मा भई दिनभरिका कुरा सुनाउँथ्यौँ, सँगै खाना खान्थ्यौँ। त्यसैले त त्यसमा आत्मीयता, आपसी सद्भाव, सम्बन्ध, माया र आफ्नोपन थियो।
तर आजभोलि त्यही गाउँमा फर्किएर हेर्दा, आमा युट्युबमा, बुवा टिकटकमा, छोराछोरी फेसबुक र भिडियो गेममा व्यस्त हुन्छन्। हामी सबै स्क्रिनमा डुबिरहेका हुन्छौँ। हामी यसरी चलाइरहेका छौँ, मानौँ कि हामीले चलाएनौँ भने ब्रह्माण्ड चल्नै ठप्प हुन्छ।
यो त भयो गाउँको कुरा, सहरमा त झन् यो विकराल छ। पैदल यात्रा गर्दा होस् या बसमा, कानमा हेडफोन र हातमा मोबाइल नहुने बिरलै भेटिन्छन्। साथीभाइ बसेर प्रत्यक्ष चिया गफ गर्ने चलन त सायद हराई नै सकेको छ।
अहिले प्रायः घरमा भाइबर ग्रुप छ, भान्सामा रहेको आमाले अर्को कोठामा रहेको छोरालाई खाना खान समेत म्यासेज गर्छिन्। एउटै कोठामा बस्ने साथीहरू हप्तौँसम्म बोल्दैनन्, उही स्क्रिनमा झुन्डिरहेका हुन्छन्। हामी आजकल सम्बन्धहरू प्रायः लाइक, कमेन्ट र पोस्टले जोगाइरहेका छौँ। आत्मीयताभन्दा पनि बढी डरले बिरामी हुन नपाई फेसबुकमा 'गेट वेल सून' लेख्ने जमात भेट्दा नबोली हिँड्छ। 'विसेज'हरू मैले गरिनँ भने त्यसले पनि गर्दैन कि भन्ने डरले गरिन्छ।
शनिबार अर्थात् रमाइलो बार, फुर्सदको बार। हप्ताभरिको थकान मेट्न प्रियजनहरूसँग भेटघाट गर्ने, घुम्ने, केही मीठा परिकार बनाएर खाने। तर अहिलेको शनिबार भने मोबाइल बार बनेको छ। सबै आ-आफ्नो कोठामा बस्ने अनि दिनभरि मोबाइलमा हराउने।
एकपटक तपाईं आफ्नो स्क्रिन टाइम हेर्नुहोस् त। सायद ८ घण्टा माथि नै छ होला। त्यसमा के-के छ? फेसबुक, इन्स्टाग्राम, टिकटक...। बिना कारण हामी २४ घण्टामा ८ घण्टा स्क्रिनलाई दिन्छौँ भने हाम्रो दिन स्वतः घटेर १६ घण्टा भइसक्यो। यसरी हेर्दा हाम्रो प्रोडक्टिभिटी र वास्तविक जीवन खुम्चिँदै गइरहेको छ। आँखा कमजोर हुनु, राति बिना कुनै कारण बरबराउनु, निद्रामा समस्या आउनु, मानसिक तनाव आउनु, अनावश्यक सोच पलाउनु यी कुनै नौलो होइनन्, सामान्य नै हुन्।
सामाजिक सञ्जालको सधैँ नकारात्मक मात्र होइन, सकारात्मक पक्ष भने झन् राम्रा र गहिरा छन्। अब समाचार पढ्न टाढा धाइराख्नु पर्दैन। परदेशिएको छोराले दिनहुँ आमासँग फोन गर्छ। छोराले आमालाई सिकाएर गएको थियो, ‘हरियो थिचे छोरो देखिन्छ।’ त्यसैले त बुढी आमा आजकल निकै खुसी छिन्।
विद्यार्थीहरू आजकल महँगो शुल्क तिरेर कोचिङ सेन्टर धाउनु पर्दैन। घरमै बसीबसी एसइईदेखि लोक सेवाको तयारी गर्न सकिन्छ। कयौँको कला देखाउने क्षेत्र अनि करियर, युवाहरूको प्रश्न उठाउने ठाउँ बनेको छ सामाजिक सञ्जाल। हामी आजभोलि बजार धाइरहनु पर्दैन। मन परेको लुगा र खानेकुरा छिनभरमै हाम्रो हातसम्म आइपुग्छ। व्यवसायहरू आजकल सञ्जालकै प्रयोग गरेर उचाइ छुन थालिसकेका छन्। किसानले बजार पाउन थालिसकेका छन्।
यसरी हेर्दा प्रविधि आफैँमा वरदान हो। यसले हाम्रा काम सजिला बनाएको छ, अवसरहरू बढाएको छ। तर हाम्रो असन्तुलित प्रयोगले यसलाई अभिशापमा बदलिरहेको छ।
सायद अब हामीले फेरि सोच्नुपर्ने बेला आएको छ। मोबाइललाई नियन्त्रणमा राखौँ। उसलाई हाम्रो मालिक होइन, सहयोगी बनाऔँ। किनकि याद गरौँ, विगतमा रमाइलोका लागि बनाइएका सञ्जाल आज हाम्रो जीवनका अवरोध बन्न पुगे। यदि हामीले प्रविधिलाई सन्तुलन गर्न सक्यौँ भने हामीलाई उचाइ छुनबाट कसैले रोक्न सक्दैन।