नेपाल एयरलाइन्सले भ्रमणवर्ष २०२० लाई लक्षित गर्दै गन्तव्य बिस्तार र नेपाली गन्तव्य बिस्तारमा ध्यान दिने बताएको छ। यद्यपी उसले नयाँ गन्तव्यमा सोचेजस्तो उडान गर्न भने पाएको छैन।
तत्काल जापानको नारिता र चीनको ग्वाङजाउमा उडान गर्ने तयारी गरेको एयरलाइन्स सफल भएको छैन।
केही समय अगाडिमात्र जापानको ओसाका उडान गरेको सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले जापानको नारिता उडान गर्नका लागि ग्राहउन्ड ह्यान्डिलिङ नै नपाएको गुनासो गरेको छ। त्यसका लागि कुटनीतिक प्रयास जारी राखिएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए।
'हामीले ओसाका छिटो उडान गर्नका लागिमात्र सुरु गरेका थियौ। हाम्रो बिशेष चासो भनेकै नारितामा थियो र छ। तर त्यहाँ अहिलेसम्म पनि हामीले ग्राउन्ड ह्यान्डलिङ पाएका छैनौ। पाउनेबित्तिकै हामी नारिता उडान सुरु गर्छौ। छिटो गर्नका लागि हामीले कुटनीतिक पहल पनि सुरु गरेका छौ'खरेलले भने।
वाइडबडी जहाज किनेको एक वर्ष बढी हुँदासम्म पनि ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले चीन उडानका लागि पनि ग्रिन सिग्नल पाएको छैन। चिनियाँ पक्षले एयरलाइन्सको सेफ्टी अडिट गर्न नआएपछि उडान अनुमति रोकिएको हो।
काठमाडौंबाट चीनको ग्वाङजाउ उडानका लागि तयारी गरेको एयरलाइन्सले लामो समयदेखि अनुमति पाएको छैन।
चिनियाँ पक्षले नेपाल एयरलाइन्सले अडिट नगरेसम्म स्लट नदिने प्रष्ट पारिसकेको छ। यही डसेम्बरमा अडिट टोली नेपाल आउने अपेक्षा आश्वाशन पाएको खरेलले जानकारी दिए। उनकाअनुसार टोली आउने निश्चित भने छैन।
यदि टोली आएपछि कम्तिमा पनि त्यसको रिपोर्ट आउन १ महिनाको समय लाग्छ। त्यसपछि एयरलाइन्सले स्लटका लागि आवेदन प्रक्रिया अघि बढाउछ। त्यसले गर्दा २/४ महिना समय थप लाग्छ। यसरी हेर्दा २०७६ सालभित्र नेपाल एयरलाइन्सको चीन उडान सम्भव देखिएको छैन।
यदि एयरलाइन्सले अनुमति पाइहाले पनि चीन उडानका लागि एयरलाइन्ससँग जहाज पनि पर्याप्त छैनन्।
अन्तर्राष्ट्रिय उडानका लागि ४ जहाज भएको एयरलाइन्सले अहिले ७ देशका ९ गन्तब्यमा उडान गरिरहेको छ। यसैमा थप जहाज नभएसम्म चीन उडान गर्नसक्ने अबस्थामा एयरलाइन्स छैन। अनुमति पाइहाले हप्तामा १ उडान गर्नसकिने एयरलाइन्सका अधिकारीहरुको बिश्वास छ।
चीनले बेइजिङ उडानका लागि भने नेपाल एयरलाइन्सको आवेदन अस्वीकृत गरिदिएको छ। एकातिर एयरलाइन्सकै अडिट नभएको र अर्कोतिर देशकै हवाई सेफ्टीको अबस्था पनि सन्तोषजनक नभएकाले बेइजिङमा तत्कालका लागि सम्भावना टरेको छ।