नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाले आगामी दिनमा रोजगारी सिर्जना र लगानी विस्तारमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रदर्शनकारीको आन्दोलनको क्रममा उनको समेत घर जलेको थियो। निजी सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको कारण निजी क्षेत्रको मनोबल खस्कने अनुमान गरिएको छ।
यस्तो अवस्थामा नेपालको पुरानो औद्योगिक घरानाका प्रतिनिधि गोल्छाले घर जलेको फोटो राखेर फेरि पनि उच्च मनोबलका साथ काम गर्ने बताएका छन्।

'देशमा सकारात्मक परिवर्तन होस्, नयाँ पुस्ताको नयाँ नेपालको सपना पूरा होस्। आक्रमणले हाम्रो परिवारलाई पनि छोयो तर हामी अडिग छौं,' उनले सामाजिक सञ्जाल एक्समा एक फोटो पोस्ट्याउँदै लेखेका छन्, 'लोकतन्त्र सुदृढ होस् भन्ने कामनासहित रोजगारी सिर्जना र लगानीमा अझ प्रतिबद्ध छौं।'
गोल्छाले प्रदर्शनकारीको आन्दोलनका कारण आफ्नो घर जले पनि आफू नअत्तालिएको बताए।
'हाम्रो घर जल्यो तर हामी सबै परिवार सुरक्षित नै रह्यौं, हामी अत्तालिएका छैनौं, बाहिरी वातावरण शान्त होस् भन्ने चाहन्छौं,' गोल्छाले भने, 'अन्धकारपछि उज्यालोले सबैलाई एकता दिओस्।'