आफूजस्तो हरिलन्ठु नबनाउने भन्ने सिद्धार्थकी आमाको आफ्नै अठोट छ। तर, सिद्धार्थको इच्छामा अङ्ग्रेजी हाउगुजी र नबुझेको लादिएको भाषा पनि हो। ऊ विवश छ। सिद्धार्थकी आमालाई छोरो अङ्ग्रेजी स्कुलमा हालेदेखि गाउँलेले नमस्कार गर्न थालेकोमा बेग्लै उत्साह छ। पर्तिर बर-पिपलको चौतारीमा बसेर छिमेकी साइला बाजेले प्रशंसा गरेको कुराले पनि उहाँको भुइँमा खुट्टै छैन।
सिद्धार्थका लागि त्यो विद्यालयको नियमले कसिएको जेल जस्तै भएको छ। अङ्ग्रेजी त झन्, कालो अक्षर भैँसी बराबर। उसै त कमजोर मान्छे। नेपाली विषयका सरले आज पनि हिजो जसरी नै पढाउनु भयो। अब भने उसलाई दुई चार गालीका वाणी वर्षाएर जानु भयो। सिद्धार्थ आफैँमा एउटा रिसको पोको पनि त हो। उसका लागि पढाइका कुरा, अर्ति उपदेशका नीतिपरक विचारदेखि गाली, हप्काई सबै क्रोधलाई बढाउने कच्चा पदार्थ नै हुन्।
प्रायः अबोध विद्यार्थी समाजको दबाबमा थिए। यसअघि तिनलाई कमसेकम अलिअलि घरायसी संस्कार थाहा हुन्थ्यो। अब त्यो रहेन। घरमा कि त गृहकार्यको तनाव कि त फेसबुक, युट्युबतिर झुम्मिने आदत सबैमा छ। चाडपर्व, संस्कृतिका कुरामा पश्चिमा शैलीले गाँजेकाले खर्चिलो शैलीसँग केक काट्ने सोच गाउँभरिमै व्यापक भएको छ।
विद्यालयले नेपाली विषयको घण्टी बाहेक बाँकी कक्षा र विद्यालय परिसरमा अङ्ग्रेजी नै बोल्नुपर्ने कठोर नीति बनायो। विस्तारै त्यो गाउँका युवाले अब आफ्नो मातृभाषालाई प्रयोग नै गर्न छाडे। नेपाली भाषालाई पनि आधा अङ्ग्रेजी मिसाएर बोल्न थालेका छन्। तिनले न मातृभाषा जान्दछन्, न नेपाली न त अङ्ग्रेजी भाषा नै जान्दछन्।
'यो... यो... यो... काम नलाग्ने केटी। तैँले आफ्नो साथीको पेन्सिल चोरेकी हो कि होइन? साँचो बोल्। नत्र...!' विद्यालयका अनुशासन व्यवस्थापक (स्कुल डिसिप्लेन इन्चार्ज) को क्रोध ज्वालालाई सिद्धार्थले परैबाट देखिरहेको थियो। कक्षासम्म पनि त्यो आवाज ठोक्किन्थ्यो। उहाँ एउटी ६ वर्षकी बच्ची उर्वशीलाई गाली गर्दै, पिट्दै हुनुहुन्थ्यो।
यो पिटाइ उर्वशीका लागि पहिलो पटक होइन। हप्तामा करिब हप्तै दिन। धेरै जसो बिनाकारण ऊ पिटाइकी शिकार बन्थी। ऊ भर्खर नर्सरीमा छे। उसको मानसिक अवस्था पनि उस्तो राम्रो र पूर्णतः सग्लो थिएन। उर्वशीका बाबा-आमा दुवै जना गाउँमा सरकारी विद्यालयका स्थायी शिक्षक-शिक्षिका हुन्। पढाइ राम्रो हुन्छ भनेर उनीहरुले उर्वशीलाई सानैदेखि त्यो निजी विद्यालयको छात्रवास (होस्टल) मा राखेका छन्।
उर्वशी एक त नाबालख। बल्तल्ल महिना-दुई महिनामा आमाबाबासँग एकैछिन भेट्न पाउने, उसले कसरी आमाका अघि रोओस्! मनको बहमा पिरोलिनु उसको आदत बनिसक्यो। ऊ अहिले ६ वर्षमा हिँड्दै छे तर उसको स्वभाव भने ह्वात्त बदलिएको छ।
साथीसँग समेत खासै बोल्दिन। ऊ आफूलाई पीर परेका अवस्थामा चिच्याएरभन्दा भित्र दबाएर रुने कुरामा अभ्यस्त बनेकी। उसको दशालाई कतिपय शिक्षकले बुझ्थे पनि। तर, विद्यालयका अनुशासन व्यवस्थापक (डीआई) सँग प्रतिवाद गर्ने आँट शिक्षकले बुझेर पनि गर्दैनथे। अबोध बालिकाले अरुका दोषमा समेत यातना भोगिरहँदा शिक्षकलाई जागिरको सवालले तगारो हालिदिन्थ्यो। थाहा पाएर पनि अनजान बनिदिन्थे।
उर्वशीलाई दिइरहेको यातना र क्रुर व्यवहारप्रति गोपी सरको मनमा गाँठो पर्थ्यो। विद्यालयका अनुशासन व्यवस्थापक नै त्यस बोर्डिङका लगानीकर्ता (फाउन्डर) हुनुले अरु शिक्षक मुकदर्शक बन्नुहुन्थ्यो। प्रधानाध्यापकले पनि धेरै हदमा उहाँकै कुरालाई समर्थन गर्नुहुन्थ्यो।
गोपी सर नयाँ नेपाली शिक्षक। केही बोलौँ भने आफूले बल्लबल्ल पाएको जागिर पनि जाला भन्ने डर। नबोलौँ भने नाबालखले बेकारण असामान्य यातना भोगेको घटनालाई दिनदिनैको कसरी हेरेर बस्ने? अनि प्रतिवाद गर्ने पनि कसरी?
'हो, मलाई गाँस टिप्ने आधार छैन। तर, कुनै उपायले ती बच्चीलाई सुधार्ने दायित्व मेरो पनि हो। त्यस्ती अबोध बालिकाले किन दिनदिनै विनाकारण पनि यातना भोग्दै छे? त्यस्तो अन्यायलाई कसरी सहेर बस्ने?' गोपी सरको मनमा खेद थियो।
गोपी सरलाई सिद्धार्थको स्वभावले अर्को चिन्ता बढायो। उहाँलाई त्यस विद्यालयको शिक्षण कार्यकलापको पुरानो शैली र दण्डनीतिले घर गर्थ्यो। बरु उहाँ त विद्यार्थीलाई वादविवाद, वक्तित्वकला, हाजिरीजवाफ, गजल-गीत जस्ता बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा जागरुक बनाउन चाहने मान्छे।
गोपी सरसँग नवजीवन मावि जस्ता भद्रगोल अवस्थाका सामुदायिक विद्यालयलाई निजीभन्दा राम्रो र गुणस्तरीय विकास गर्ने दृष्टिकोण पनि छ। तर, उहाँले शिक्षक सेवा आयोगको परीक्षामा कहिल्यै नाम निकाल्न सक्नु भएन। उहाँलाई दिनभर काम गरेर मामको जोहो गर्ने हैरानीले झापड हानेको छ। मन लगाएर पढ्ने अवस्था पनि कहिल्यै भएन। सधैँ अभावले किचिरह्यो।
जब पेटले बाध्यताको खाडलमा जाकिदिन्छ तब स्वतन्त्रता र बौद्धिकता केबल फुर्सदका गफ मात्र भइदिन्छन्। केही दिनको अन्तरालमा एक दिन ती विद्यालय अनुशासन व्यवस्थापक बिदामा हुनुहुँदो रहेछ। कतै कसैले थाहा नपाउने औषधी गरेर उर्वशीको पीडालाई हटाउने मौका गोपी सरलाई बल्ल मिल्यो।
उहाँले उर्वशीलाई बोलाउन पठाउनु भयो। ऊ डरले काम्दै गरेकी देखिन्छे। दुवै हात जोडेकी छ। अधोमुख गरेर सुस्तरी आएकी सानी बच्ची। भयभित छे। गोपी सरमा पीडाले भक्कानो उठ्यो।
'नानी मलाई सिधा हेर त।'
ऊ झनै डराई। गोपी सर हल्लिँदा पनि ऊ हातले आफ्नो गाला छोप्थी। कहिले उसका दुवै हातका पञ्जाले टाउको छेक्थी।
'नानी, उर्वशी... तिमीलाई के खान मन लागेको छ? नडराइ भन त।'
'म...लाई... लालीपप...!'
गोपी सरले उसको कपाल सुम्सुम्याउनु भयो। गोजीबाट निकालेर एउटा चक्लेट पनि दिनुभयो। तर, अझै ऊ भयमुक्त सोचमा थिइन। कपाल पनि जिङ्ग्रीङ्ङ छ। अनुहारमा सायद आँसुको धर्सोले कालो टाटो बसेको हुँदो हो।
तर, उसमा साथीको खाजा चोर्ने आदत थियो। आखिर बालकपना न हो।
'के तिमीलाई तिम्रा बाबामामुले माया गर्नुहुन्छ?'
'अहँ....! गर्नु हुन्न!'
'तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ?'
'गाउँमा हुनु...भएको हजुरबा-आमाको...!'
गोपी सरले प्रअसँग उसको बारेमा कुरा गर्नुभयो। उर्वशीका बाबाआमासँग अनुमति माग्नु भयो तर सहमतिमा भएन। यद्यपि प्रअको सुनुवाइ नै उहाँको ठूलो जित थियो।
'म त हजुरबा-आमासँग जाने हो...! त्यहाँ त कति धेरै मीठा-मीठा फलफूल खान पाइन्छ। गीता तिमी नुवाकोट आयौ भने मलाई भन है। म लिन आइहाल्छु नि!' उर्वशी फुर्किएर साथीसँग कुरा गर्न थालेकी छे।
'हेर भाइबहिनीहरु जे पढ्ने हो, कक्षाभित्रै पढ्ने। आजदेखि नोट बनाउन छोड। मेरो विषयमा नोट बनाउनु पर्दैन। अर्को कुरा, म तिमीहरुलाई किताबमा दिएका सबै अभ्यासलाई हुबहु पूरा गर्नुपर्छ पनि भन्दिनँ। चिन्ता नगर।'
यति सुनिसक्दा अल्छि विद्यार्थीहरुले खुसीले ताली बजाए। अलि मेधावीहरुले शंकाको नजरले हेरे। तर पनि तिनलाई गोपी सरको शैलीमा केही नयाँ कुरा त होला भन्ने आशा पनि पलायो।
सौरभले जुरुक्क उठेर भन्यो- 'सर, हामीले कविता घोक्नै पर्ने भनेर पहिलाकी मिसले हामीलाई घोकाउनु हुन्थ्यो। हजुरले के गर्नुहुन्छ सर? मलाई साह्रै गाह्रो लाग्छ सर। म कविता घोक्नै सक्दिनँ।'
'कवितालाई सकीनसकी किन घोक्नुपर्यो र! लय हालेर पढ्ने, समूह वाचन गर्ने, भाव बुझ्ने। कक्षामा हामी छलफल गरौँला। म कवितालाई सुँगा रटाइ घोकाउँदिनँ।'
मानौँ भगवान् आएका छन्। विद्यार्थीहरु अब त गोपी सरको घण्टी बितेको पत्तै पाउन छोडे। उहाँको पढाउने शैलीबाट सबै जसो प्रभावित छन्। सिद्धार्थले भने उसको हातमा पेन्सिल लिने, टोकिरहने या त डेक्समा कोरिरहने बानीलाई बदलेको छैन। उसले आफ्नो कलमको बिर्कोलाई टोकेर कुचुक्क पारेको हुन्छ।
उसले हालसालैको परिचय-पत्रलाई दुई महिना नपुग्दै आधा जति भाग टोकेर कुरूप बनाइसकेको छ। गोपी सरले नियाल्नु भयो तर प्रश्न गर्नु भएन। उसलाई टाउको मुसारेर प्रेमपूर्वक पढाइका कुराभन्दा घर-घरायसी र उसका रुचिका गफ गरिरहनु हुन्थ्यो।
विद्यालयमा गोपी सर विद्यार्थीको नजिक भएको आरोप गाइँगुइँ सुनिन थाल्यो। कसैले यसो गर्ने हो भने विद्यार्थीले टाउकामा टेक्ने रायसहित प्रिन्सिपल सरकहाँ कुरा लगाइसकेका रहेछन्। उहाँका कारणले उर्वशीलाई बाहिर पठाइएको र प्रअले उहाँको कुरा सुन्नु भएको विषयले विद्यालयको वातावरणमा निकै टिकाटिप्पणी सुनिन्थे। कतिपयले गोपी सरको यो शैलीलाई सुधार्ने सल्लाह पस्कन्थे भने कोही वास्तै नगर्ने पनि थिए।
गोपी सरमा आफ्नै दृष्टिकोणको योजना हुन्थ्यो। उहाँले आफ्नो चाहना प्रअसँग तर्कसहित राखिसक्नु भएको थियो। उहाँलाई प्रअले कुनै प्रश्न गर्नु भएन। उहाँलाई अवलोकन मात्र गर्नुभयो। बोल्नेले वास्तविकतामा काम गर्दैन तर गरेर देखाउनेले धेरै बोलिरहनु आवश्यक पनि ठान्दैन।
अझ, विद्यार्थीहरुका पृथक् व्यवहारलाई नियाल्दै उहाँले सिद्धार्थसँग गृहकार्य नबुझाउँदा पनि केही भन्नु भएन। गोपी सरले पढाउन थाल्नु भएको अब त चार महिना बित्यो। तब पनि उहाँले सिद्धार्थसँग गृहकार्य माग्नु भएन। तर, सिद्धार्थ अब नेपाली विषय भने पढ्न थालिसकेको थियो। गोपी सर उसको सम्मानित साथी। असल गुरु। उसलाई मन पर्ने मान्छे।
आज पनि गोपी सरले कक्षामा प्रवेश गर्नासाथ भन्नुभयो 'आज नयाँ कथा सुन्ने।' सबै विद्यार्थीहरु ताली बजाउँदै खुसी मान्न थाले। कथा सुरु गर्नुभयो-
'रत्नाकरले नारदलाई लुट्न भनेर छेउमा गयो। तर, नारद डराएनन्। उनले उल्टै ‘मसँग भएको अनि तिमीलाई चाहिने सबै लैजाऊ’ पो भनिदिए।'
आज कक्षामा सिद्धार्थ पनि मूर्ति जसरी बसेको छ। कथाले उसको चञ्चलपनलाई खिँचिरहेको छ। ऊ गोपी सरका एक-एक कुरामा ध्यान पनि दिइरहेको छ।
'नारदलाई रत्नाकरले रुखमा बाँधिदियो र आफ्नो कुकर्मको फल सबैले भोग्ने कि नभोग्ने भन्ने कुराका बारेमा परिवारसँग बुझ्न गयो तर परिवारका कसैले पनि उसको कुकर्ममा साथ नदिने बताएपछि घरबाट फर्केर नारदसँग पाउमा पस्रेर माफी माग्यो।'
सिद्धार्थ अझ बढी कथामा डुब्दै गएको भान गोपी सरमा हुन थाल्यो। उहाँ अझै हाउभाउसहित कथा भन्दै जानुभयो।
'रत्नाकर तपस्या गर्न भनेर गयो तर उसले ‘राम’ भन्ने शब्द पनि नजानेर ‘मरा मरा’ भन्दै उच्चारण गर्न थाल्यो। नारदले ठिकै छ, यसैलाई उच्चारण गरिरहू भनिदिए...। धेरै वर्षपछि नारद बाटामा हिँड्दै गर्दा ‘राम’ नामको मन्त्रोच्चारणलाई सुने। पर जङ्गलभित्रबाट एउटा माटाको धप्धपाउँदो ढिस्कोबाट त्यो आवाज आएको रहेछ।
अब नारदले ती रत्नाकरलाई बाल्मिकी बनाए। बाल्मिकीले संस्कृत भाषामा रामायण लेखे। रामायणमा राम र सीताको आदर्शको कथा छ। यसैलाई हाम्रा आदिकवि भानुभक्त आचार्यले नेपालीमा लेखे।'
आजको कक्षा सकियो। सबै विद्यार्थीहरु भन्न थाले- 'कति छिटो घण्टी बितेको। कति छिटो घण्टी लाग्या होला। सर भोलि पनि कथा सुनौँ है।'
अब सिद्धार्थमा रहेको धैर्यतासँग गोपी सर अझ राम्ररी परिचित हुनुभयो। उसलाई कथाका किस्सासँगै नेपाली वर्णमालादेखि सिकाइको जग बसाउने ध्येय गोपी सरमा जाग्यो। उहाँले सिद्धार्थलाई अफिसमा ल्याउनु भयो तर आज ऊ गाली या पिटाइ केही खानका लागि अफिसमा आएको छैन।
ऊ लगभग विश्वस्त छ, गोपी सरमा गाली र कडा आवाजभन्दा मीठो आवाज छ। गोपी सरले सोध्नुभयो- 'बाबु, तिम्रो बाबा के गर्नुहुन्छ?' सिद्धार्थले नङ मात्र कोट्याइरह्यो, उत्तर दिएन।
'ल ल भैगो। आमा के गर्नुहुन्छ?'
जवाफ दियो- ‘पसल।’
गोपी सरलाई थाहा भयो उसको बाबा बित्नुभा’छ। आमा पढालेखा पनि हुनुहुन्न। उसको पढाइको जग कमजोर छ। पढ्न नचाहने पनि होइन तर रुचिकर र स्तर अनुरुपको सिकाइ छैन।
शिक्षकहरु स्किनर, प्याब्लब, थनडाइकका सिद्धान्तमा पारखी नै देखिन्थे तर व्यवहारमा दमनात्मकताको भाव। वास्तवमा विद्यार्थीलाई पढाउने होइन, पढाइको भोक जगाउने हो। एउटा असल शिक्षकले विद्यार्थीलाई पढ्छ अनि बल्ल पढाउँछ। पढाउनेभन्दा राम्रो पढ्ने बनाउन भूमिका खेल्छ।
गोपी सरले सिद्धार्थलाई पढ्नु भयो। आफूले साथी सरहको व्यवहार दिनु भयो। सिद्धार्थका भावनामा आफू पनि पिरोलिनु भयो। उसलाई पहिला अक्षर चिनाउन थाल्नु भयो। कमजोर विद्यार्थीका लागि विशेष प्रकारको तरिका खोज्नु भयो। उहाँले पढाइ र विद्यार्थीको घरको अवस्था समेत कमजोर भएकालाई निःशुल्क अध्यापन गर्ने, पैसा हुनेले स्वेच्छिक पैसा दिनेगरी अतिरिक्त कक्षालाई आफैँले सञ्चालन गर्नु भयो।
उहाँले विद्यार्थीलाई नै कार्डमा ‘क, ख’ तथा ‘अ, आ’ हुँदै ‘क, का, कि, की’ देखि ए, बी, सी, डी लगायतका थुप्रै आधारभूत ज्ञानमूलक सामग्रीहरु बनाउन लगाउनु भयो। अब त कमजोर भनिएका विद्यार्थीहरु खेल खेल्दै सिक्न थाले। शब्द बनाउने, शब्दार्थको जोडा मिलाउने- शब्दार्थपत्तीबाटै हुन थाल्यो।
अझ गणितका लागि अंक खेल, हिसाब खेल जस्ता विधिको प्रयोग गर्नु हुन्थ्यो। साथमा गोपी सरले हरेक दिन प्रेरणादायी नयाँ-नयाँ कथा पनि भन्न छोड्नु हुन्नथ्यो। अक्षर सुधार्नका लागि प्रेरित गर्दै स्तरगत मूल्यांकनका साथमा सुझाव दिँदै जानु भयो। कतिपय शिक्षकले अक्षर सुध्रेपछि, विद्यार्थी पढ्ने भएपछि त्यसको श्रेय आफूले लिन पनि चाहे।
हरिभक्त सरले मासिक बैठकमा खुलेरै झुटो बोल्नु भयो- 'मैले सिद्धार्थलाई अफिसमा ल्याएर सम्झाएदेखि ऊ निकै लगनशील बनेको छ।' यसमा गोपी सरले कुनै प्रतिवाद गर्नु भएन। बरु उहाँबाट हामीले धेरै सिक्नुपर्छ भन्ने भाव व्यक्त गर्नुभयो। तर, हरिभक्त सरले त्यो झुटो श्रेय लिँदा पनि लाज मान्नु भएन।
गोपी सरलाई दुःख लागेन। महान् मान्छेले महानता देखाउने धृष्टता गर्नुभन्दा समाज र संसारको हितमा समर्पित हुने अपेक्षा राख्छ। आखिर सिद्धार्थ निजी विद्यालयमा आउँदैमा सुध्रेको पनि त होइनथ्यो। असल व्यक्तिको हातमा परेपछि न हिराले हिराको अस्तित्वलाई पाउँछ।
सिद्धार्थजस्ता कमजोर विद्यार्थीको मनोविज्ञान बारे उहाँ जानकार बन्दै हुनुहुन्थ्यो। उहाँ पनि केही सिक्दै हुनुहुन्थ्यो। सिद्धार्थको परिवर्तित आचरण र नम्रता अब त अकल्पनीय छ। ऊ स्वयम् गोपी सरको चरणमा लत्रन चाहन्छ। शिक्षकले नै निःस्वार्थ शिक्षक जन्माउँछ।
असल शिक्षकले सिकाइरहन्छ, दिइरहन्छ। यही नै फरक रहेछ- धन र विद्यामा। सिद्धार्थलाई अनुशासन सिकाइएको होइन तर ऊ आज गुरुको ज्ञानलाई शिरमा राखेर हिँड्न जान्दछ। मानौँ सिद्धार्थ- गौतम।
विगतका एक-एक घटनाले गोपी सरलाई आनन्द दिन्थ्यो। बिहान करिब सात बजेतिर चियाको कप टेबलमा राखेर गोरखापत्रका पाना पल्टाउनै लाग्दा मोबाइलको ‘ॐ जय जगदिश हरे...!’ को धुन बज्यो। पत्रिका टेबलमा फिँजाइरहँदै एक हातले चिया सुरुप्प पारेपछि उहाँले फोन उठाउनु भयो।
'सर नमस्कार!' कुनै युवतीको आवाज छ।
'सरले मलाई चिन्नु भएन होला। म हजुरकी विद्यार्थी- उर्वशी पनेरु।'
'ओहो! उर्वशी नानु, तिम्रो खबर के छ? के गर्दै छ्यौ? आज कसरी सम्झ्यौ हँ!'
'सर, आज गुरु पूर्णिमा। म हजुरलाई आजको दिनमा पनि नसम्झीकन कहाँ रहन सक्छु र! म अहिले वीर अस्पतालमा हाडजोर्नी सम्बन्धी डक्टर भएकी छु सर। दुई वर्ष भयो। अनि हजुरलाई थाहा भयो सर, हजुरले मसँग धेरै अघि कुरा हुँदा सिद्धार्थ दाइको कुरा गर्नुहुन्थ्यो नि? मैले भर्खरै फेसबुकमा देखेको। उहाँ त अहिले ताप्लेजुङमा विद्यालय निरीक्षक हुनुभा’ रहेछ नि!...' ऊ अझै केही भन्दै थिई।
गोपी सरका आँखाभरि आँसु भरिएको स्पष्टै देखिन्थ्यो। मैले उहाँका यी सबै घटनालाई बोध गरेपछि लाग्यो, आखिर यो संसारमा कोही खराब जन्मिदैनन् तर खराब बनाइन्छ। गरिब जन्मिदैनन् तर गरिबी बनाइन्छ, जन्माइन्छ किनकी पैसा मान्छेले नै छापेको हो।
अशक्त जन्मिएका होइनन्, दुनियाँले आफूलाई सग्लो ठान्दा अरुलाई अशक्त बनाएको हो। कुनै वस्तुलाई मानिसले सुन्दर या खराब जे देख्छ, त्यो वस्तुको प्रकृतिमा होइन, उसको हेराइ र बुझाइमा निर्भर हुन्छ। आखिर हरेक मानिसभित्र क्षमताको अथाह भण्डार छ। सम्भावना पनि त अनन्त छ तर त्यसलाई उजागर गर्ने विधि विरलैमा मात्र हुन्छ।
समाप्त
यो पनि:
सिद्धार्थ र गोपी सर भाग- १