हामी सानो छँदा ‘कहिले दसैँ आउला र मावल अनि बुढोमावलमा गएर टीका थापी दक्षिणा थापौँला’ भन्ने चाहना हुन्थ्यो। विशेष गरी बालक वा किशोरहरूमा भन्दा पनि बालिका वा किशोरीहरूमा टीकाको महत्त्व ज्यादा हुन्थ्यो दक्षिणा प्राप्त गर्ने दृष्टिकोणले।
चाडबाड भनेको खास गरी अभिभावकहरूलाई भन्दा केटाकेटीहरूका लागि महत्त्वपूर्ण मानिन्छ। चाडबाडका लागि खर्च जुटाउने र व्यवस्थापन गर्ने चिन्ता भने अभिभावकहरूमा हुन्छ।
हाम्रा पिताजी २०२३ सालसम्म जिल्लामै शिक्षण पेसामा हुनुहुन्थ्यो। सायद उहाँले महिनाको ६० रुपियाँ तलब थाप्नुहुन्थ्यो। उहिलेदेखि नै रोल्पाको हाम्रो गाउँ खुंग्रीका धेरैजसो युवाहरू रोजगारीका लागि भारत जाने चलन थियो जुन अहिले त्यो अवस्थामा कमी आएको छ। भारत जानेलाई त्यति बेला ‘देश जाने’ भनिन्थ्यो। भारतीय नागरिकलाई ‘देशी’ भन्ने चलन अहिले पनि छ।
गाडी भाडा सापटी गरेर भारत जाने गरेका कुराहरू पनि त्यति बेला नै हामीहरूले सुनेका थियौँ। भारत गएकाहरू दसैँ-तिहार मान्न गाउँमा फर्किएपछि उनीहरूलाई गाउँलेहरूले सोध्ने गर्थे- ‘पगार कति छ?’ वा ‘तनखा कति छ?’ पगार वा तनखा भनेको तलब वा कमाइ हो भन्ने कुरा हामीलाई त्यति बेलै जानकारीमा थियो।
हाम्रा हजुरबाको घरमा २०३२ सालअघि ‘कलशे’ नाम गरेको एउटा भैँसी थियो, उसको सन्तान ‘रुपा’ नामको भैँसी हाम्रा पिताजीको अंशमा परेको थियो। रुपाको सन्तान ‘धना’ नामको भैँसी दुहुन साह्रै गाह्रो हुन्थ्यो। थुन मोटो र दूध झर्ने प्वाल सानो भएकोले बल गरेरै निचोरेर दूध झार्नुपर्दथ्यो। छिमेकीका घरमा मथुरा, भुन्टा, टीका लगायत अन्य नाम गरेका भैँसीहरू पनि थिए। त्यस्तै हाम्रो घरमा झपा, टिकु, जानकी नाम गरेका गाईहरू पनि थिए भने राहे, मृगे, कथुरे, मैला, सिन्दुरे, काले नामका गोरु पनि थिए विभिन्न समयमा।
मैला नामको हाम्रो गोरुले बाटो हिँड्दै गरेका बटुवाहरूलाई लखेट्ने र तर्साउन गर्दथ्यो। छिमेकतिरका घरमा भने मटिङ्ग्रे, धौले, तारे, माले, कल्वा, झुले, बुके नामका गोरुहरू थिए। त्यस्तै कसैका बाख्राका नाम ‘तुसारी’ राखिएको हुन्थ्यो। घरबाट फुकाएर वनमा लैजाने क्रममा बाटोको दायाँबायाँ गरेमा सांकेतिक रूपमा गाईलाई उध वा उभ र बाख्रालाई उधी वा उभी भनिन्थ्यो। बर्खामा हरिया घाँसपात बढी हुने भएकोले गाई-भैँसीले प्रशस्त मात्रामा दूध दिने हुँदा घरघरमा गोरसको छेलोखेलो हुन्थ्यो।
बर्खाको अन्तिम महिना भनेर चिनिने भदौ महिना सकिएर शरद ऋतुको आगमनले गाउँघरमा अर्कै आनन्दको महसुस हुन्थ्यो। आँगनको डिलमा वा करेसा बारीमा फुल्दै गरेका हजारी (सयपत्री) र गुर्धौली (मखमली) लगायत विभिन्न जातका फूलहरूले गर्दा आँखालाई मात्र नभएर मनलाई पनि आनन्द दिएको महसुस हुन्थ्यो भने जताततै हरियाली नै हरियालीको अवस्था हुन्थ्यो। कोही वनमा जाने, कोही खेतबारीमा जाने, कोही घर व्यवहारमा व्यस्त रहने हुँदा गाउँलेहरूका लागि त्यही नै निःशुल्क प्राकृतिक व्यायाम (नेचुरल थेरापी) ठानिन्थ्यो।
विभिन्न परिकार तयारीका लागि अनेक अनाज ढिकीमा कुट्नु र चाँखी (जाँतो) मा पिस्नु जस्ता कामहरू अरू समयभन्दा चाडबाडमा बढी नै हुन्थ्यो। अहिले गाउँघरमा मीलको प्रचलन हुन थालेपछि भने गाउँलेहरूमा व्यायाम कम हुन गई स्वास्थ्यमा अनेकन् समस्याहरू आइरहेको देखिन्छ र अन्दाजको भरमा मेडिकलबाट औषधि खाने गरेको पाइन्छ। दोपाया चौपायाहरू पाल्न समेत छोड्दै गरेको अवस्था पनि छ, त्यस्तै खेतबारीहरू बाँझै पल्टिएका देखिन्छन्।
हाम्रा लागि त्यो दसैँ पो दसैँ
हामी सानो छँदा दसैँ आउनुभन्दा एक हप्ताअघि नै नयाँ लुगा सिलाइए कि सिलाइएनन् भनेर दमाईटोलका एकजना सुचीकारको घरमा धाइरहन्थ्यौँ। कपडा उद्योगले प्रयोग गरेको रङ वा केमिकलको गन्धसहितको नयाँ लुगा घरमा ल्याएर खुसी हुँदै जतनसाथ राख्थ्यौँ। सिलाई मेशिनलाई तोरीको तेल र मट्टितेल मिसाएर सजिलोसँग चलाउने गरिन्थ्यो, अहिले मोबिलको प्रयोग गरेर मेशिनलाई सजिलै चल्ने गराए झैँ।
दसैँको दिन हामी ती नयाँ लुगा लगाएर मूल घर जान्थ्यौँ, जहाँ बाजे-बोई (हजुरबा-हजुरआमा) का साथमा कान्छाबाको परिवार रहन्थ्यो। हामी (जेठापट्टि) र माइलाबा पट्टिको पहिल्यै अंशबन्डा भइसकेको थियो। टीकाको साइतअनुसार सबै जम्मा भएपछि मर्यादाक्रम अनुसार टीका सुरु हुन्थ्यो। ठुलाले सानालाई आशीर्वाद दिँदै टीकाको काम सकिन्थ्यो। निधारको एक छेउदेखि अर्को छेउसम्म टीका टाँसिदिने र नझरोस् भन्नाका लागि चार औँलाका अग्रभागले निधारमा टीकालाई हल्का किसिमले दबाउने चलन पनि छ।
टीकाअघि नै हजुरआमा र कान्छीआमाले गोधुङ फाँटको खेतमा फलेको जडन चामलको भातसहित अन्य मीठा-मीठा परिकारहरू तयार पारिसक्नुभएको हुन्थ्यो। टीका लगाउने काम सकिएपछि पुगेसम्म काँसका थाल-कचौरा र स्टिलका थाल-कचौरामा खाने, अपुग भएमा भने हामी सालका हरिया पातका दुना-टपरीमा भोजन गर्थ्यौँ। सालका हरिया टपरीमा भोजन गर्दा सालको पातको मीठो बास्ना पनि आउँथ्यो तातो दाल-भातका कारण।
स्वादिला तरकारी, अचार अनि गोरसका साथमा हरिया टपरीमा मनभरि र पेटभरि खाइसकेपछि टपरी भैँसीको भकारोमा फालिदिन्थ्यौँ र भैँसीले टपरी खान्थ्यो। हात धोइसकेपछि आराम नगरी हत्तपत्त करेसानिर रहेको बेकमबेलीको लहरामा पिङ खेल्दै गोल्चेनी (पहेँलो फुल्ने खुकुरी जत्रा पात हुने वृक्ष) को रुखमा चढ्थ्यौँ। बाजेले ‘ए भिउसिन’ भनेर भाइ विमल (माहिलाबाको जेठा छोरा) लाई बोलाइरहनु हुन्थ्यो, बाजेले उसैलाई नै मन पराउनुहुन्थ्यो।
दसैँमा टीका लगाउँदा मान्यजनहरूबाट भनिने मन्त्र हामीहरूले बाल्यकालदेखि नै सुन्दै आएका हौँ। पुरुषलाई दिइने आशीर्वादको मन्त्र ‘आयुर्द्रोणसुते श्रीयं दशरथे…’ र महिलालाई दिइने आशीर्वादको मन्त्र ‘जयन्ती मङ्गला काली …’ धेरैजसो पुरुषहरूले कण्ठस्थ नै पारेका हुन्थे। महिलाहरूको हकमा आफूखुसी मिलाएर आशीर्वाद दिने चलन थियो।
भोलिपल्ट बिहान हजुरआमा कुम्लो बोकेर आफ्नो माइत नम्जातिर जानुहुन्थ्यो भने म उहाँको पछिपछि लाग्थेँ। साँझ नपर्दै म हजुरआमासँग बूढो मावल पुग्थेँ। ‘नम्जाली साहु’ को उपनामले चिनिनुहुने बूढोमावली बाजे हुमलाल पोखरेलले मलाई जिस्क्याउनु पनि हुन्थ्यो। टीका थापेर दक्षिणा गोजीमा राखेर खाना खाई आनन्दले निदाउँथे।
अर्को दिन बिहान उठेर आँपको रुखमा हालिएको पिङ खेल्थेँ नचिनेका अन्य बालबालिकाहरूसँग। मावलीघर सिर्प भने म कमै जाने गर्थेँ आमासँग दसैँमा। मावलकी हजुरआमाले पनि मलाई धेरै नै माया गर्नुहुन्थ्यो र सोध्नुहुन्थ्यो- ‘खिर खान्छस् कि कुराउनी?’ मामाघर भनेपछि जसलाई पनि प्यारो नै लाग्छ।
एक मोहर दक्षिणाको महत्त्व
२०३५/३६ सालसम्मको दसैँमा हामीले टीका लगाएपछि दक्षिणा थाप्ने भनेको एक मोहर वा आठ आना वा पचास पैसा थियो। एक मोहर दक्षिणा पाउँदा हामी औधी खुसी हुन्थ्यौँ किनकि त्यति बेला एक मोहर भनेको हाम्रा लागि ठुलै रकम मानिने अवस्था थियो। २०४० सालमा म काठमाडौँ आएपछि सोही सालमा ठुलाबडाको घरमा गएपछि दश रुपियाँ दक्षिणा पाउँदा ठुलै कुरा मानिन्थ्यो। काठमाडौँमा निधारको बिच भागमा मात्र टीका लगाएको चलन देख्दा सुरुमा मलाई अचम्म लागेको थियो। किनकि मैले निदारभरि अर्थात् निधारको एक छेउदेखि अर्को छेउसम्म टीका लगाउने गरिन्छ भन्ने मान्यता राख्दथेँ।
गाउँमा हामी हजुरबालाई बाजे र हजुरआमालाई ‘बोई’ भने झैँ आमालाई ‘जेई’ भनेर सम्बोधन गर्दथ्यौँ। साबिक राप्ती अञ्चलका रुकुमदेखि दाङसम्म कसै कसैले हजुरआमालाई ‘बोई’ र आमालाई ‘जेई’ भन्ने चलन छ, यद्यपि पछिल्लो समय यी शब्दको चलन बिस्तारै कम हुँदै गएको पाइन्छ। ‘रापतीका अलग शब्दहरू’ नामक कृति (भाषिका) यस लेखकको तेस्रो कृति हो। जसमा रापती भेगतिरका करिब दुई हजार शब्दहरू समावेश छन्। मेरो गाउँ, मावली गाउँ र बुढो मावली गाउँ अनि ससुराली गाउँ रोल्पाभित्रै पर्ने भए तापनि ती गाउँहरूमा बोलिने केही केही शब्दहरू फरक फरक छन्।
गाई तिहारका दिन खुला गरिने गौचरन ओगिल्जा
काग तिहारका दिनदेखि सन्ध्याकालमा ढोकाका संघारहरूमा अमिलोको एकलपातका साना आकारका दुना बनाएर त्यसमा घिउमा मोलिएको बाती बालेर राख्दथ्यौँ। हाम्रै आफ्नै पसल भएका कारण ढोकाहरूमा मैनबत्ती पनि बाल्दथ्यौँ। ढिकी जाँतोमा पनि त्यसरी दिपावली गर्दथ्यौँ। काग पूजा र कुकुर पूजापछि गाई तिहारे औँसीका दिन ओगिल्जा गौचरनमा गाईहरू लैजानका लागि बाटो खन्न जान्थ्यौँ।
हरेक वर्ष साउन १ गतेदेखि ओगिल्जा गौचरनमा गाईबस्तु चराउन नपाइने गरी कटुवालमार्फत सूचना जारी गरिन्छ। भद्र भलाद्मीको निर्देशन बमोजिम गाउँ बस्तीको सिरानतिरका ठाउँ-ठाउँबाट कटुवालले सबैले सुन्ने गरी ठुलो स्वरले ‘ओगिल्जामा चौपाया लैजान निषेध गरिएको छ’ भनेपछि गाउँलेहरूले ध्यान दिएर सुन्ने र गौरचनमा गाई तिहारको अघिल्लो दिनसम्म चराउन लैजान्न थिए। हालका दिनहरूमा गाउँमा चौपाया पालनमा कमी आएका कारण ओगिल्जा गौचरनमा खासै रमाइलो हुँदैन। ‘ओगिल्जा’ यस लेखकको दोस्रो कृति पनि हो जुन मेरो आत्मकथा सङ्ग्रह हो।
भाइटीका
हाम्रा चार भाइ र चार बहिनीहरू भएका र माहिलाबा तथा कान्छाबाका छोरी नभएका कारण उहाँका छोराहरू सबै हाम्रो घरमा आएर बहिनीहरूबाट टीका लगाउँदथे भने पछि माहिलाबाको एक छोरीको जन्म भएपछि भने कान्छाबाका छोराहरू मात्र हाम्रा बहिनीहरूसँग टीका लगाउन आउँथे। भाइटीकाका टीका लगाइदिएपछि दिदी बहिनीहरूले दाजुभाइहरूलाई फिनीरोटी र तिलौरा दिने चलन थियो अहिले काजु किसमिस लगायत अन्य मसलाहरू दिए झैँ।
टीका लगाएपछि खाना खाईवरी हामी देउसी भैलो खेल्न र हेर्न जाने गर्दथ्यौँ। देउसीलाई ‘ध्यौँसी’ र भैलोलाई ‘भाइले’ भन्ने गरिन्छ हाम्रो भेगतिर। महिलाहरूको देउसीलाई ‘ध्यौँसारै’ भनिन्छ। तिहारपछिको चौथीका दिन चौथी मेला पनि लाग्दथ्यो। त्यति बेला लेकहरूबाट हरिया सुन्तला बेच्न ल्याउँदथे। बोक्रा हरिया भए पनि खाँदा मीठा र रसिला हुन्थे ती सुन्तला।