केही वर्ष पहिले म कम्प्युटरको डिप्लोमा कोर्स सिक्न घोराही झरेको थिएँ। बिहानको कक्षा थियो। दिउँसोभरि खाली बस्थेँ। कोठाभाडा, बिजुलीको बिल, पानीको बिल तिर्न र खानाका लागि घरबाट पैसा माग्नुपर्दथ्यो।
मैले कम्प्युटरको बेसिक कोर्स पहिले नै सिकेको भएर सामान्य ज्ञान थियो। एक दिनको कुरा हो। म घोराहीको बैंक रोडमा कम्प्युटर सिकेर फर्किँदै थिएँ। एक जना बहिनीले नबोलीकन एउटा फोटोकपीको पाना दिइन्।
त्यो बहिनीको अनुहार पनि हेर्न पाइनँ। फर्केर त हेरेँ तर ऊ नहेरी गई। उसले दिएको फोटोकपी पानामा थियो। ठुलो अक्षरमा सबभन्दा माथि हाइलाइट बनाइएको थियो जब सेन्टरको नाम। मैले जब सेन्टरको नाम लेखिनँ किनकि त्यही जब सेन्टरबाट धेरैले काम पनि पाका छन् रे। त्यसपछि जबको नाम र तलब देखेँ। म बेरोजगारमा बसेको मान्छेलाई जीवनमा त्यत्रो अवसर पाउँदा खुसी भएँ। मनमनै त्यो बहिनीलाई धन्यवाद भनेँ।
कोठा आएर घरमा फोन गरेँ। काम र तलबअनुसार जब सेन्टरमा नाम दर्ता गर्नुपर्ने रहेछ। घरमा त्यही सुनाएँ। जे त्यो फोटोकपीमा लेखिएको थियो, मैले गर्न सक्ने एउटा काम देखेँ। लिस्ट त धेरै थियो तर तलब ३० देखि ३२ हजार। अझ घरमा बसेर पनि गर्न सकिने। ल्यापटप भएकालाई विशेष प्राथमिकता थियो।
उसै दिन जब सेन्टरलाई फोन गरेँ। आफ्नो नाम टिपाएँ। एक वा दुई दिनमा आउने जानकारी पनि दिएँ। नाम दर्ताको लागि २५ सय तिर्नुपर्ने थ्यो। घरबाट पैसाको जोहो गर्न लगाएँ। बहिनीसँग जब सेन्टर गएँ। म बस्थे डुम्मरगाउँ, जब सेन्टर भरतपुर रहेछ। अटोमा गइयो। जब दिने मान्छेको दिएको लोकेसनअनुसार अटो दाइले त्यही ठाउँमा लगिदिए।
हामी जब सेन्टर पुग्दा झन्डै १२ बजेको थियो। त्यहाँ मान्छेको भिड देखेर अचम्म परेँ। सोचेँ, बेरोजगार म मात्र रहेनछु। म जस्तै धेरै रहेछन्। ती जब सेन्टरमा जाने भनेको पहाडबाट तराईमा पढ्न भनेर गएका विद्यार्थीहरू। मैले केहीसँग परिचय गरेर बुझेको थिएँ। उनीहरू पनि अनुभवी थिएनन्। काम अनुसारको नाम दर्ता शुल्क निर्धारण गरिएको थियो। जसमा न्यूनतम शुल्क ५ सयदेखि २५ सयसम्म थियो।
जब सेन्टरमा सुरुमा पैसा माग्यो नाम दर्ताका लागि, बिल पनि काटिदियो। उनीहरूले लेखेको जबको बारेमा त्यसपछि बताए। अरू अन्य कामका लागि गएका थिए भने मैले भनेको कामका लागि दुई जना बहिनीहरू पनि थिए।
जब सेन्टर वालाले नेट हुनुपर्छ, अनलाइनबाट हो काम भन्यो। काम क्याप्चा टाइप गर्ने। जब सेन्टरमा एउटा केटाले आइडी बनाइदियो। पाँच मिनेटमा क्याप्चाको आइडिया र प्रक्रियाको बारेमा पनि भनिदियो।
लाग्यो यति भएपछि अब बसी बसी पैसा कमाउने भइयो। हात र फोनको प्रयोग मात्र त हो अरू केही छैन दुःख। आफूलाई ट्रेनर भन्नेले ‘तपाईँहरू ल्यापटपबाट झन् छिटो गर्न सक्नुहुन्छ’ भनेपछि त झन् मन गद्गद नै भयो।
कोठा आइयो। नजिकका साथीभाइ अनि आफन्तलाई सबैलाई सुनाइयो। सुन्नेहरू पनि भन्थे- हामीलाई पनि भन, हामी पनि गर्दछौँ। तर म पहिले आफैबाट रिजल्ट खोजेको थिएँ। त्यसपछि साँच्चै भएमा अरूलाई पनि यो काम गर भनेर भन्ने सोचेँ।
रातदिन नभनी नभनी लागियो काममा। क्याप्चामा काम भनेको एउटा आइडी बनाउने। त्यो आइडी लगिन भएपछि काम भइहाल्ने रहेछ। क्याप्चामा काम भनेको बक्समा दिएको अक्षर चिन्ने लेख्ने वा बक्समा दिएको फोटोलाई सेलेक्ट गरेर सबमिट गर्नुपर्ने। दिनमा दश पन्ध्र हजारको क्याप्चा टाइप गरियो।
पैसा बढी आउने आसमा फोन र ल्यापटपबाट काम गर्ने प्रयास पनि गरियो। तर यसरी गर्दा आफैले घाटा हुने देखियो। किनकि समय पनि दिएको हुन्थ्यो। उसले दिएको समयभित्र क्याप्चा टाइप गरिसक्नुपर्ने थियो।
महिना पुग्यो। जब सेन्टरमा गइयो पैसाका लागि। जागिर सुरु गर्नुअघि उनीहरूले भने अनुसार त ४० हजार रुपैयाँभन्दा माथि आउनुपर्ने। तर त्यहाँको ट्रेनर भन्नेले ३ सय पो भयो भन्यो। उफ्! जिन्दगीमा नमज्जाले फसियो। जुनै चिजमा धेरै खुसी भयो भने लामो समय टिक्दैन भनेको यही रहेछ भन्ने भयो।
रिस पोखियो। तर उनीहरूको बारेमा केही गर्न सकिएन। आफ्नै देशमा सोझासाझा जनता सानो-सानो कुरामा ठगिन्छन्। आफ्नै देशका नागरिकले ठगी गर्दछन्। नेपालमा एउटा भनाइ खुब चलेको छ थियो। सोझासाझालाई गरिखान दिँदैनन्। आफ्नाले आफ्नैले लुट्छन्।
हाम्रो देशमा यही भइरहेको छ। हुँदै आएको छ। यस कारण दिनानुदिन युवाहरू देश छोड्न बाध्य छन्। यहाँ कि त नेताको झोला बोक्नुपर्छ कि त लुट्न जान्नपर्छ। कि त ठग्न जान्नुपर्छ कि भने हान्न जान्नुपर्छ। नत्र त सोझासाझाको जिन्दगी छैन।
विशेष गरी पहाडबाट तराईमा झरेका विद्यार्थीहरू। कहिले घर नछोडेकाहरू। कुनै अभावमा नबसेकाहरू। उनीहरूलाई नै फसाउने भनेको। गाउँबाट सहर पसेपछि सबैको अभावमा बाँच्नुपर्छ। आर्थिक, नैतिक, भौतिक।
यसले गर्दा विद्यार्थीहरू आफ्नो पढाइ सँगसँगै काम पनि गर्न चाहन्छन्। सबै ठगीमा नपर्लान् तर प्रायः तिनै विद्यार्थीहरू ठगीमा पर्दछन्। अनि त्यसै कारण डिप्रेसनको सिकार बन्दछन्। गाउँ र सहरमा लवाई खवाई धेरै फरक हुन्छ। यसले गर्दा कतिपय त कुलतमा पनि फसेको देखिन्छन् भेटिन्छन् पनि।
हरेक अभिभावकले आफ्नो छोराछोरी सहर पठाएपछि वास्ता गर्न छाड्ने, उनीहरूको इच्छाको बेवास्ता गर्ने गर्नु हुँदैन। आज केही नहोला तर पछि गएर पश्चात्ताप पक्कै हुनेछ। अभावले सिकाउँछ पनि बिलाउँछ पनि। जो सिक्यो ऊ अघि बढ्यो। जो बिक्यो ऊ ढल्यो।